अख्तियार आयोगको कार्यालयमा आगजनी
काठमाडौं। जेनजी युवाहरूको समूहले टंगालस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालयमा आगजनी गरेका छन्। काठमाडौं उपत्यकासहित देशका विभिन्न ठाँउमा प्रदर्शनकारीबाट भएको आक्रमणको निशानामा देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारलगायत महत्त्वपूर्ण भवन र संरचना क्षति भएका छन्।
काठमाडौं बानेश्वरसहितका स्थानमा जेनजी समूहबाट आयोजित प्रदर्शनपछि भड्किएको घटना र आगजनीमा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाका मुख्य भवन जलेका हुन्।सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय भवन, रामशाहपथस्थित सर्वोच्च अदालत र नयाँ बानेश्वरस्थित संघीय संसद् आगलागीबाट ध्वस्त भएको छ।
प्रदर्शनकारीले रामशाहस्थित महान्यायाधीवक्ताको कार्यालय तथा ट्राफिक कार्यालयसमेत आगजनी गरेका छन्। प्रदर्शनीकारीबाट नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादीकेन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाललगायतका निवासमा तोडफोड र आगजनी गरिएको छ।
एमालेका नेता गोकुल बास्कोटा, महेश्व बस्नेत, महेश बर्तौलालगायतका निवासमा पनि आगजानी र तोडफोड भएको छ। आन्दोलनकारीले केही नेताहरूलाई पनि हातपात समेत गरेका छन्। देशका मुख्य शहरहरूका महत्त्वपूर्ण भौतिक संरचना र निवासमा पनि आन्दोलनकारीबाट क्षति पुर्याइएको छ।
जेन्जी पुस्ताको प्रदर्शनीमा प्रहरी कारबाहीमा होनाहार १९ युवा मारिएपछि प्रदर्शनीले उग्ररुप धारणा गरेको थियो।







डिसी नेपाल







Facebook Comment