माओवादी केन्द्रद्वारा जेनजी आन्दोलनमा विध्वंसात्मक गतिविधिको विरोध

डिसी नेपाल
२९ भदौ २०८२ १८:२१
72
Shares

काठमाडौं । जेनजी पुस्ताले उठाएका मागहरूप्रति नेकपा (माओवादी केन्द्र)ले आफ्नो आधिकारिक धारणा सार्वजनिक गर्दै आन्दोलनमा प्रतिगामी र गणतन्त्र विरोधी तत्वहरू घुसेको भन्दै कडा विरोध जनाएको छ।

माओवादी केन्द्रका उपाध्यक्ष तथा प्रवक्ता अग्नि सापकोटाले शनिबार एक प्रेस विज्ञप्ति जारी गर्दै आन्दोलनको मूल उद्देश्य र छविमा धक्का पु¥याउने गरी भएका तोडफोड र आगजनीजस्ता विध्वंसात्मक गतिविधिप्रति गम्भीर आपत्ति जनाएका छन्। विज्ञप्तिमा भनिएको छ, ‘आन्दोलनभित्र घुसेका प्रतिगामी र गणतन्त्र विरोधी तत्वहरूले जुन खालको विध्वंस र वितण्डा मच्चाएका छन्, त्यसको हाम्रो पार्टी कडा शब्दमा विरोध र भ्रत्सर्ना गर्दछ।’

उनले पार्टीका कार्यालयहरू, अध्यक्ष प्रचण्डसहित नेताहरूको निजी सम्पत्तिमा आक्रमण भएकोप्रति चिन्ता व्यक्त गर्दै दोषी पहिचान भए कडा कारबाही गर्न तयार रहेको स्पष्ट पारे। ‘यदि यस्ता गतिविधिमा हाम्रो पार्टीका कसैको संलग्नता देखिएमा कडा भन्दा कडा कारबाही गर्न हामी तयार छौं,’ विज्ञप्तिमा उल्लेख गरिएको छ।

साथै, सापकोटाले माओवादी कार्यकर्ताको नाम जोडेर गरिएको प्रचारप्रति आपत्ति जनाउँदै त्यसप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन्। ‘आधारहीन हल्ला फैलाएर हाम्रो पार्टी र आन्दोलनलाई कमजोर पार्ने प्रयासप्रति आम जनसमुदायलाई सचेत रहन हामी हार्दिक अपिल गर्दछौं,’ सापकोटाले भने।

विज्ञप्तिमा सरकारलाई पनि यस्ता घटनामा संलग्नमाथि प्रमाणका आधारमा कडा कारबाही गर्न आग्रह गरिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.