राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापा अवकाशमा

संक्रमणकालमा प्रवेश गरेका बेला विभाग प्रमुखविहीन

डिसी नेपाल
१ असोज २०८२ ८:४४
312
Shares

काठमाडौं। राष्ट्रिय अनुसन्धान विभागका प्रमुख (मुख्य अनुसन्धान निर्देशक) हुतराज थापा अवकाश पाएका छन्।

मुख्य अनुसन्धान निर्देशकको ३ वर्षे पदावधि पूरा गरेर उनी भदौ २८ बाट अनिवार्य अवकाशमा गएका हुन्। थापा २०७९ भदौ २८ मा गुप्तचर प्रमुखमा नियुक्त भएका थिए। उनी अवकाशमा गएसँगै अहिले विभाग प्रमुखविहीन बनेको छ।

मुलुक संक्रमणकालमा प्रवेश गरेका बेला सूचना संकलन गर्ने निकायको प्रमुख नै रिक्त भएको छ। २०५३ मा अनुसन्धान अधिकृतबाट सेवा प्रवेश गरेका थापाकै ब्याचमेटहरु नयाँ गुप्तचर प्रमुख हुने लाइनमा छन्।

आफ्ना ब्याचमेट टेकेन्द्र कार्की र ओमप्रकाश जोशीलाई पछाडि पारेर थापा विभागको प्रमुख बनेका थिए। तिनै कार्की र जोशी प्रमुख हुने प्रतिस्पर्धामा छन्। कार्की इन्टेलीजेन्स प्रमुख छन् भने जोशी अहिले प्रशासन विभागको प्रमुख छन्।

उनीहरु दुवै जना थापाको अवकाशपछि मुख्य अनुसन्धान निर्देशक हुने दौडमा लागेका छन्। प्रधानमन्त्री सुशीला कार्की मातहत रहेका कारण को प्रमुख हुन्छ भन्ने अझै निश्चित भैसकेको छैन। उनीहरू दुवै जना हुतराज थापासँगै राष्ट्रिय अनुसन्धान विभागमा प्रवेश गरेका थिए।

कार्कीले अहिले प्रदेश समन्वय विभाग र इन्टेलिजेन्सको नेतृत्व गरिरहेका छन्। कार्की जिम्मेवार भएका कारण पनि अहिले उनी प्रमुख बन्ने संभावना रहेको स्रोतको दावी छ।

मुलुकभर राष्ट्रिय अनुसन्धान विभागको संरचना छ। सिंहदरबार परिसरमा विभागको मुख्यालय छ। विभागका २ हजार २६५ जना कर्मचारी र एजेन्टहरूलाई सूचना संकलन गर्ने जिम्मेवारी दिइएको हुन्छ।

जिल्ला इन्चार्ज र केन्द्रमा विभागीय प्रमुखले तोकेको ‘एजेन्ट’हरुले पनि विभागलाई सूचना उपलब्ध गराउँछन्। अतिरिक्त मुख्य अनुसन्धान निर्देशकद्वय कार्की र जोशीसँगै विभागमा ९ जना अनुसन्धान निर्देशक छन्।

अनुसन्धान निर्देशकहरू ७ वटा प्रदेश, उपत्यकामा र प्रशासन विभागमा छन्। सह-अनुसन्धान निर्देशक ११ जना छन्। काठमाडौँ, ललितपुर, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र हेटौँडा स्थित इन्टेलिजेन्स शिक्षालयमा सह अनुसन्धान निर्देशकले कमान्ड गर्छन्।

उपअनुसन्धान निर्देशक ५३ जना र प्रमुख अनुसन्धान अधिकृत ९० जना छन्। अनुसन्धान अधिकृतहरू १६० जना छन्। विभागमा कार्यरत कर्मचारीहरूले ६ महिनाको तालिम लिएका हुन्छन्। हेटौँडा, नेपाल प्रहरी एकेडेमी र सशस्त्र प्रहरीको मातातीर्थस्थित एकेडेमीमा उनीहरूलाई तालिम गराइन्छ।

उनीहरूले साना हतियार र एसएलआर समेत चलाउने तालिम लिन्छन् ।देशभरबाट संकलन हुने सूचना र विश्लेषण सिलबन्दी गरेर विभागले राज्यका महत्त्वपूर्ण निकायहरूलाई दिँदै आएको छ। विभागले सिलबन्दी रिपोर्ट साप्ताहिक रूपमा बुझाउँछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.