प्रतिगामीहरू गणतन्त्र उल्टाउन खोज्दैछन् : मुख्यमन्त्री कँडेल

डिसी नेपाल
२ असोज २०८२ ७:३०
120
Shares

सुर्खेत। कर्णाली प्रदेशका मुख्यमन्त्री एवम् नेकपा एमाले स्थायी कमिटी सदस्य यामलाल कँडेलले ७० वर्ष लामो संघर्षपछि ल्याइएको गणतन्त्र र संविधान प्रतिगामीहरूले उल्टाउन लागिरहेको बताएका छन्।

गणतन्त्र जोगाउन नागरिकको सचेतनापूर्वक खवरदारी जरुरी भएको उनको भनाइ छ।

नेकपा एमाले वीरेन्द्रनगर नगर कमिटीले बुधबार आयोजना गरेको भेलालाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले राजनीतिक परिस्थिति खतरनाक मोडतर्फ गएको भन्दै नागरिक खवरदारी जरुरी भएको बताए। संविधान अहिले अर्धमृत जस्तै अवस्थामा पुगेको भन्दै संविधान जोगाउन नागरिकहरु सचेत रहनु पर्ने आवश्यकता ओैंल्याए। ’सात दशकको त्याग, बलिदान र संघर्षबाट प्राप्त संविधान धरापमा परेको छ’ उनले भने, ’संविधान जोगाउन सम्पूर्ण नागरिक सचेत हुन जरुरी छ।’

सरकारले बेलैमा कानुनी संरचना परिवर्तन नगरेको र संवैधानिक व्यवस्थाहरू कार्यान्वयनमा कमजोर देखिएको कारण आजको अवस्था आएको उनको टिप्पणी छ। ’चुच्चे नक्साको विषय उठाउँदा नेकपा एमालेको सरकार ढालिएको हो’ उनले भने, ’पार्टी कार्यकर्तालाई जनस्तरसँग अझ मजबुत सम्बन्ध बनाउन, आपसी विश्वास जगाउन र संगठनलाई बलियो बनाउन पार्टी एकताबद्व बनाउन व्यक्तिगत कुरा भन्दा पनि परिस्थिति बुझेर दायित्व पूरा गर्नुपर्छ।’

उनले संविधान दिवसलाई विशेष अर्थका साथ मनाउनुपर्ने भन्दै आवश्यक परे सडक आन्दोलनको तयारीका साथ अघि बढ्नुपर्नेमा जोड दिए। संगठन बलियो हुँदा मात्र संघर्ष जित्न सकिने र कमजोर हुँदा समाजमा विकृति र वेथिती मौलाउने अवस्था आउने उनको भनाइ छ।

युवालाई आन्दोलनमा अगाडि ल्याउन र महिलाको सहभागिता बढाउन सकेमात्र जनमत परिवर्तनमा निर्णायक सफलता हाँसिल गर्न सकिने उनको विश्वास छ। ’७० वर्षको संघर्षबाट ल्याइएको गणतन्त्र जोगाउन संगठनात्मक शक्ति, जनविश्वास र निरन्तर अभियान अपरिहार्य छ’ उनले भने।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.