कोइराला निवासको खरानीमाथि उभिएर युवाहरु भन्छन्-विचार कसैले मार्न सक्दैन’
विराटनगर। जेनजी आन्दोलनमा अराजक समूहले आगो लगाउँदा १२० वर्षको राजनीतिक इतिहास बोकेको विराटनगरस्थित कोइराला निवासका अधिकांश सामग्री र संरचना खरानीमा परिणत भए।
सोही निवासमा टेकेर राजनीतिको सुरुतात गर्नेदेखि लोकतन्त्रमा आस्था राख्नेहरु निवासको अवस्था हेर्न र बुझ्न दैनिकजसो भीड जम्मा भइरहेको छ।
नेपाल विद्यार्थी संघका मोरङ जिल्ला सभापति सरोज पोखरेल भन्छन्, ‘भौतिक संरचना मरेको हो। तर लोकतन्त्रप्रति विश्वास, संघर्षको विचार र जनताको अधिकारप्रतिको चेतना कहिल्यै मर्दैन।’
यो निवास नेपालका तीन प्रधानमन्त्री मातृकाप्रसाद, बीपी र गिरिजाप्रसाद कोइरालाको जन्मथलो मात्रै थिएन यो स्वतन्त्रता, लोकतन्त्र र समानताको आन्दोलनको जीवित प्रतिक थियो।
नेतृ विजयता अधिकारी भन्छिन्, ‘आँखा अगाडि हाम्रो धरोहर खरानी भयो। प्रहरी र दमकल ढिलो आए। तर यो विचारलाई कसैले पनि खरानी बनाउन सक्दैन। त्यस्तै, पूर्वउपमेयर इन्दिरा कार्कीको मन भारी छ, ‘मन्दिर सरहको स्थल गुम्यो। तर हामीसँग अझै इतिहासको आत्मा बाँकी छ।’
पूरानो संरचना पूर्ण रूपमा नष्ट भएपनि पछिल्लो भाग केही अंश बाँकी छ। यहाँ बस्दै आएका कांग्रेस नेता डा.शेखर कोइरालाले पुनर्निर्माण थालिसकेका छन्। तर, अझ ठूलो पुनर्निर्माण भने विश्वास र विचारलाई जोगाइराख्नुमा छ।







डिसी नेपाल







Facebook Comment