निबन्ध

सम्पत्ति सर्वोपरि

ज्ञानेन्द्र विवश
४ असोज २०८२ ७:४५
44
Shares

सम्पत्तिः सर्वोत्तम र सर्वोपरि हो। तर अन्त्यमा त्यसको पनि सर्वनाश हुँदोरहेछ। बाँकी रहने भनेको खोक्रोपन, अस्थिपञ्जर, खरानीको थुप्रो मात्रै !

हरेक परिवर्तन एउटा सपना लिएर आउँछ- समृद्धि, शान्ति र न्यायको सपना। नेपालको माटोमा पनि यस्ता सपनाहरूको खेती धेरै भयो। प्रत्येक पटक राजनीतिक परिवर्तनको ज्वाला बल्दा, ‘अब सब ठीक हुन्छ’ भन्ने एउटा अमूर्त आशाले धेरैका मनमा बास गर्थ्याे।

तर, समयले देखाउँदै गयो कि ती सपनाहरूको जगमाथि नै एकपछि अर्को गर्दै विडम्बनाको महल ठडिएको रहेछ। यो महल जहाँ सपनाहरू जल्थे, जहाँ हाम्रा साझा सम्पत्तिहरू खरानी हुन्थे र जहाँ ‘परिवर्तन’ को नाममा ‘विनाश’ ले विजयको हाँसो हाँस्थ्यो।

हाम्रो समाजमा सम्पत्तिको परिभाषा बैंकमा जम्मा भएको रकम, सुनको गहना वा भव्य घर मात्र होइन। सम्पत्ति हाम्रो साझा इतिहास हो, हाम्रा पुर्खाहरूको परिश्रमले बनेका सार्वजनिक भवनहरू हुन्, हाम्रा बच्चाहरूको भविष्य बोकेका विद्यालयहरू हुन् र हाम्रो स्वास्थ्यको आधार बनेका अस्पतालहरू हुन्। ती हरेक पुल, हरेक मन्दिर, हरेक सडक र हरेक ऐतिहासिक मूर्तिले हाम्रो सामूहिक पहिचानको कथा बोकेका हुन्छन्।

यी सम्पत्तिहरू सर्वोत्तम थिए। यी भौतिक संरचनाहरू इँटा र सिमेन्टका थुप्रा मात्र थिएनन्, बरु हाम्रा सामूहिक सपनाहरूको मूर्त रूप थिए। शान्ति, सहिष्णुता र सामाजिक सद्भावजस्ता मानवीय मूल्यहरू पनि हाम्रा अमूल्य सम्पत्ति थिए, जसले समाजलाई एक धागोमा बाँधेर राखेका थिए।

समय बदलियो र ‘राजनीतिक आन्दोलन’ को नाममा सर्वोपरि मानिएका यी सम्पत्तिहरूलाई निशाना बनाइयो। ‘परिवर्तन’ को नारालाई हिंसाको ज्वालाले लिपेर, सार्वजनिक सम्पत्तिमाथि निर्मम प्रहार गरियो। राज्यका सर्वोच्च निकायमा आगो लगाइयो र द्धिनभरमै दन्दनी बालेर खरानी पारियो।

पार्किङमा राखिएका सवारी साधनहरू जलिरहेको दृश्यले कुनै नयाँ युगको आगमनको सङ्केत गर्दैनथ्यो, बरु हाम्रो विवेकको अन्धकारलाई प्रकट गथ्र्यो। घरभवन तोडफोड गर्दा र ऐतिहासिक सम्पदाहरूमाथि ढुङ्गा बर्साउँदा हामीले भौतिक क्षति मात्र गरिरहेका थिएनौँ, बरु हामीले आफ्नो भविष्यलाई नै छिया–छिया पारिरहेका थियौं।

आफ्नै घर आफैंले जलाएको यो विडम्बनापूर्ण तमासाले एउटा गहिरो प्रश्न खडा गर्छः के यो साँच्चै परिवर्तन हो ? के राजनीतिक परिवर्तनको मूल्य यसरी साझा सम्पत्तिहरूको सर्वनाशले चुकाउनुपर्ने हो ? हामीले ‘परिवर्तन’ को नाममा जुन आगो बालेका थियौँ, त्यसले हाम्रो सामूहिक पहिचान, हाम्रो सभ्यता र हाम्रो आपसी विश्वासलाई पनि खरानी बनाइदियो।

यो क्षति आर्थिक मात्र थिएन, बरु भावनात्मक र नैतिक पनि थियो। तोडफोड गरिएका मूर्तिहरूले इतिहासको अपमानको कथा भन्थे, जलेका गाडीहरूले विकासको गतिमा लागेको ब्रेकको पीडा सुनाउँथे र भत्किएका भवनहरूले हाम्रो साझा सपनाहरूको चिहानको रूपरेखा कोर्दै थिए।

हामीले के पायौं ? एउटा नयाँ व्यवस्था, जसको जगमा जलेका टायरको दुर्गन्ध र छरिएको काँचका टुक्राहरू थिए। परिवर्तनको नारा लगाएर हामीले आफूलाई नै गरीब बनायौँ, आफ्ना भावी पुस्ताका लागि ऋणको भार थप्यौँ र विनाशको एउटा विरासत छोड्यौँ।

आज, जब हामीले पछाडि फर्केर हेर्छौँ, परिवर्तनको ज्वालाले हामीलाई के दियो भन्दा पनि के खोस्यो भन्ने प्रश्न बढी महत्वपूर्ण लाग्छ। सम्पत्ति सर्वोत्तम थियो, किनकि त्यसले हाम्रो अस्तित्वको परिचय दिन्थ्यो। त्यसैले त्यो सर्वोपरि थियो, किनकि त्यसले हाम्रो भविष्यको मार्ग प्रशस्त गथ्र्यो। तर, अन्त्यमा राजनीतिक आवेग र अज्ञानताले गर्दा त्यसको सर्वनाश भयो।

अब, हामीले सपनाको पुनर्निर्माण गर्नु छ, तर त्यसका लागि पहिले विवेकको दियो बाल्नुपर्छ। परिवर्तन हिंसा र विध्वंसले होइन, बरु शान्ति, संवाद र विवेकले मात्र सम्भव छ भन्ने कटू सत्यलाई स्वीकार गर्नु हाम्रो आजको आवश्यकता हो।

‘सम्पत्ति’ यो शब्दको उच्चारण गर्दा हाम्रो मनमा अक्सर महल, गाडी, बैंक ब्यालेन्स, सुनका गहना र जग्गाजमिनको चित्र आउँछ। तर के सम्पत्ति यतिमै सीमित छ र ? के भौतिक वस्तुको थुप्रो नै हाम्रो जीवनको सबभन्दा ठूलो उपलब्धि हो ?

मानव सभ्यताको हरेक कालखण्डमा, सम्पत्तिलाई सञ्चय र सुरक्षाको प्रतीकका रूपमा हेरियो। तर, यदि गहिरिएर हेर्ने हो भने, सम्पत्ति भौतिक वस्तु मात्र होइन, यो हाम्रो जीवन, हाम्रो अस्तित्व र हाम्रो पहिचानको अमूर्त स्वरूप पनि हो। यद्यपि सम्पत्ति कसैलाई नभएर दुःख छ। कसैलाई भएर दुःख !

हाम्रो समाजको सम्पत्ति हाम्रा मूल्य, मान्यता र विश्वास हुन्। हाम्रा पुर्खाहरूले हामीलाई हस्तान्तरण गरेको ज्ञान, कला, साहित्य र संस्कृति पनि सम्पत्ति हो। मठमन्दिर र कलात्मक मूर्ति, हस्तलिखित ग्रन्थ वा हजारौँ वर्ष पुरानो इतिहास बोकेको दरबार, यी सबै अमूल्य सम्पत्ति हुन्।

हामीले जसरी हाम्रो आर्थिक सम्पत्तिको रक्षा गर्छौं, त्यसरी नै हाम्रो सामाजिक र सांस्कृतिक सम्पत्तिको पनि रक्षा गर्नुपर्छ। यी सम्पत्तिहरूले हामीलाई हाम्रो विगतसँग जोड्छन् र भविष्यका लागि मार्गनिर्देशन गर्छन्। सामाजिक सद्भाव, सहिष्णुता, आपसी प्रेम र विश्वास पनि सम्पत्ति हुन्।

यी यस्ता सम्पत्ति हुन्, जुन कुनै बैंकमा जम्मा गर्न सकिँदैन, न त यिनलाई चोरी गर्न सकिन्छ। यी हाम्रा हृदयमा सञ्चित हुन्छन् र हाम्रो व्यवहारबाट प्रकट हुन्छन्।
यो साँचो हो कि भौतिक सम्पत्तिले जीवनलाई सहज बनाउँछ।

तर, जब भौतिक सम्पत्तिलाई नै सर्वोपरि मानेर हामीले हाम्रो सामाजिक, नैतिक र भावनात्मक सम्पत्तिलाई बेवास्ता गर्छौं, तब समस्या सुरु हुन्छ। यस्तो अवस्थामा हामी भौतिक रूपमा धनी भए पनि भावनात्मक र नैतिक रूपमा कंगाल बन्छौं।

भाद्र २३ र २४ गते भएको राजनीतिक परिवर्तन र त्यसका लागि भएको हिंसालाई हामीले कसरी बिर्सन सक्छौँ ? त्यो बेला ‘परिवर्तन’ को माग गर्ने अबोध विद्यार्थीमाथि दिदहाडै गोली हानियो। ‘परिवर्तन’ को नाममा हामीले आफ्नै सम्पत्तिमा आगो लगायौं।

सार्वजनिक बसहरू, सरकारी भवनहरू र हाम्रा साझा सम्पदाहरू ध्वस्त पारिए। ती दृश्यहरूले एउटा गहिरो प्रश्न उठाए- के हाम्रो भौतिक सम्पत्ति यति नै तुच्छ हो कि हामी त्यसलाई क्षणिक आवेगमा ध्वस्त पार्न सक्छौं?

त्यो आगोले जलेका भौतिक सम्पत्तिहरूलाई पुनर्निर्माण गर्न सकिन्छ, तर त्यसले हाम्रो मनमा छोडेको भावनात्मक घाउलाई भर्न निकै गाह्रो हुन्छ। त्यसैले, सम्पत्तिलाई भौतिक रूपमा नहेरी त्यसको बृहत्तर अर्थलाई बुझ्नुपर्छ। हाम्रो असल विचार, हाम्रो दया, हाम्रो इमान्दारी र हाम्रो विवेक पनि सम्पत्ति हो।

अन्ततः सम्पत्ति भौतिक होस् वा अभौतिक, त्यो सर्वोपरि हुनुपर्छ। तर, यसलाई सञ्चय गर्ने होडमा हामीले हाम्रो मानवता, नैतिकता र आपसी प्रेमलाई दाउमा लगाउनु हुँदैन।

यदि हामीले हाम्रो सामाजिक र सांस्कृतिक सम्पत्तिलाई प्राथमिकता दियौं भने, भौतिक सम्पत्ति त्यसै बन्ने निश्चित छ। र, त्यसको सुरक्षा गर्न हामी सबै लाग्ने छौँ। किनकि, सम्पत्ति सर्वोपरि हो, र यसको सुरक्षा गर्नु हाम्रो नैतिक कर्तव्य पनि हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.