जनप्रतिनिधिको ६ दिन र कर्मचारीको ३ दिनको तलब पुनःनिर्माण कोषमा

डिसी नेपाल
३ असोज २०८२ १३:४२
308
Shares

सुर्खेत। जुम्लाको हिमा गाउँपालिकाले जेन–जी पुस्ताको आन्दोलनबाट भएको क्षतिको पुननिर्माणका लागि साढे ११ लाख रुपैयाँ राष्ट्रिय पुनःनिर्माण कोषमा जम्मा गर्ने भएको छ।

गाउँ कार्यपालिकाको बैठकले मुलुकको पुनःनिर्माणमा पालिकाको योगदान गर्न उक्त रकम जम्मा गर्ने निर्णय गरेको हो।

बैठकले गाउँपालिकामा कार्यरत शिक्षक, कर्मचारी र जनप्रतिनिधिहरूको तलब भत्ताबाट योगदान संकलन गर्ने निर्णय लिएको हो।

गाउँपालिकाका सम्पूर्ण शिक्षक तथा कर्मचारीहरूको तीन (३) दिनको तलब बराबर र जनप्रतिनिधिहरूको छ (६) दिनको तलबभत्ता बराबरको रकम कट्टा गरी ११ लाख ४३ हजार २९७ रुपैयाँ जम्मा कोषमा जम्मा गरिनेछ।

जेन–जी आन्दोलनका क्रममा भएको क्षतिको पुनःनिर्माणमा सहयोग पुर्‍याउन गाउँपालिकाको तर्फबाट रकम जम्मा गर्ने निर्णय गरिएको गाउँपालिका अध्यक्ष लक्ष्मण शाहीले बताए।

‘सहानुभुति र सहयोगका भावनाबाट प्रेरित भई, गाउँपालिकाको परिवारले साझा जिम्मेवारी स्वरूप यो योगदान दिएको छ’ उनले भने।

जनताको मर्म बुझ्ने, जनताका सुख–दुखमा साथ दिने र समाधानमुखी प्रशासनिक व्यवस्था स्थापनाका लागि गरिएको प्रतिबद्धता अनुरुप पुर्ननिर्माणमा सहभागि हुने निर्णय गरिएको शाहीले बताए।

बैठकले मृतकलाई श्रद्धाञ्जली र परिवारमा समेवेदना तथा घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.