जेनजी आन्दोलन: विभिन्न क्षेत्रका छ सय २९ भवन पूर्ण क्षति

डिसी नेपाल
३ असोज २०८२ २३:२१
36
Shares

काठमाडौं। जेनजी पुस्ताका नाममा यही भदौ २४ गते भएको तोडफोड र आगजनीबाट देशभरका विभिन्न क्षेत्रका ६२९ भवन पूर्णरूपमा क्षति भएको छ। उक्त आन्दोलनमा एक हजार पाँच सय ६० भन्दा बढी भवनमा आंशिक क्षति पुगेको छ।

आन्दोलनका समयमा भएको तोडफोड र आगजनीका कारण ती भवनहरूमा क्षति भएको नेपाल प्रहरीले प्रारम्भिक विवरण संकलन गरेको प्रहरीका केन्द्रीय प्रवक्ता, प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले जानकारी दिए।

उनका अनुसार उक्त आन्दोलनमा नेपाल प्रहरीका मात्रै एक सय ७७ वटा भवन पूर्णरूपमा क्षति भएको छ। प्रहरीका दुई सय ५८ वटा भवनमा आंशिक क्षति भएको प्रवक्ता घिमिरेले बताए। उनका अनुसार तोडफोड र आगजनीबाट तीन सय १० वटा सरकारी कार्यालय पूर्णरूपमा ध्वस्त भएको छ। प्रारम्भिक विवरणमा कूल आठ सय ३६ वटा सरकारी भवनमा आंशिक क्षति पुगेको छ।

यस्तै ९७ वटा व्यापारिक तथा नीजि भवन पूर्णरूपमा क्षति भएको र दुई सय ९२ वटा व्यापारिक तथा निजी भवनमा आंशिक रुपमा क्षति पुगेको छ। यस्तै विभिन्न राजनीतिक दलका ४५ वटा पार्टी कार्यालय पूर्ण क्षति भएको छ भने एक सय ७४ वटा कार्यालयमा आंशिक क्षति भएको प्रहरीले संकलन गरेको विवरणमा उल्लेख रहेको प्रवक्ता घिमिरेले बताए।

मूल्यांकन भने अझै भइनसकेको र क्षतिको विवरण संकलनको क्रम भने जारी रहेको उनले बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.