पहिरो पन्छाउन समय लाग्दा यात्रीलाई सास्ती

डिसी नेपाल
५ असोज २०८२ १७:१३
24
Shares

चितवन । नेपाल प्रहरीले तत्काल हाजिर हुन भनेपछि कृष्ण महता बैतडीबाट काठमाडौं फर्कंदै थिए। आमाको काजकिरिया सकेर काममा फर्कंदा उनी गत शुक्रबार साँझदेखि झरेको पहिरोमा परेर बाटोमै थन्किएका छन्। महता हाल डिल्लीबजार कारागारमा कार्यरत छन्।

‘छिटो आउन भनिएको छ, यहाँ जाममा परियो’, श्रीमतीसमेत काठमाडौं फर्कंदै गर्नुभएका महताले भने, ‘सडक कहिले खुल्ला र कहिले गन्तव्यमा पुगिन्छ थाहै छैन।’

यस्तै गुनासो सुनाउँदै थिए जितपुरबाट आएका मुन्ना अन्सारी। बजार नजिक नहुँदा खानेपानीसमेत किनेर खान पाउने अवस्था भएको उनले बताए। शुक्रबार साँझदेखि सडकमा बसेको कहिले खुल्छ भन्ने नै टुङ्गो नहुँदा समस्या भएको अन्सारीले बताए। व्यवसायका लागि काठमाडौं जान आउँदै गर्दा नारायणगढ मुग्लिन सडक खण्डमा पहिरोमा परेपछि बास नै सडकमा भएको छ।

बझाङबाट काठमाडौं जाँदै गरेकी लिसाकुमारी सिंह पहिरोले जाममा परे। सादा खानाकोसमेत ४०० तिरेर खान बाध्य भएको उनले गुनासो गरे। उनी बझाङदेखि यही असोज २ गते काठामाडौंका लागि हिँडेका हुन्।

सिंह दाउन्नेमा ११ घण्टाको जाम छिचोलेर आउँदा यहाँ फेरि पहिरोमा परेका हुन्। आफूसँग भएको पैसा सकिएकाले के खाने भन्ने समस्या भएको उनले बताए।

चिउरा, बिस्कुट खाएर सडक पेटीमा दिन बिताउन बाध्य भएको सिंहले बताए। बझाङबाट काठमाडौंका लागि ३८ देखि ३० घण्टा लाग्ने भए पनि नारायणगढ मुग्लिन सडक खण्डको पहिरोमा नै ३६ घण्टाभन्दा बढी बिताउनु परेको उनले बताए।

सवारीसाधनको लामो लाइन भएपछि कतिपय यात्रुहरु बजार र बस्ती नभएको ठाउँमा परेका छन्। उनीहरुलाई किनेर खान समेत समस्या छ। पहिरोका कारण सवारीसाधन रोकिएपछि जिल्ला प्रशासन कार्यालय चितवनले अलपत्र परेका यात्रुलाई चाउचाउ, पानी, भुजालगायत खाद्यान्न सहयोग गरेको छ। प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको नेतृत्वमा खाद्यान्न सहयोग गरिएको हो।

यस्तै सडकमा बस्दा यात्रुहरु बिरामी पर्छन् भनेर स्वास्थ्य शिविरसमेत सञ्चालन गरिएको छ। शिविरमा प्राथमिक उपचारका सामानहरु, आवश्यकताअनुसारका औषधि सर्वसाधारणलाई दिइएको छ। नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत इच्छाकामना गाउँपालिका–६ तुइन खोलामा खसेको पहिरोमा परी हजारौं यात्रु अलपत्र परेका छन्।

सडक खुलाउनका लागि डिभिजन सडक कार्यालय र ट्राफिक प्रहरी लागिरहेको भए पनि पहिरो झर्नेक्रम नरोकिएकाले पन्छाउन समय लागेको हो। करिब ७० मिटर माथिबाट खसेको पहिरोका कारण १६० मिटर सडक ढाकेको छ भने १० मिटर चौडाइ र १६ मिटर उचाइ रहेको थियो। अहिले पनि पहिरो पन्छाउनेक्रम जारी छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.