रौतहटका शक्तिपीठमा दुर्गा पुजाको तयारी
रौतहट । रौतहट सहित मधेश प्रदेशका जिल्लामा रहेका शक्तिपीठमा दुर्गा पुजाको तयारी थालिएको छ। दुर्गा भगवती गाउँपालिकामा रहेको मत्सरीको भगवती मन्दिर र राजदेवी मन्दिरमा पनि दुर्गा पुजाको तयारी अन्तिम चरणमा पुगेको छ।
राजदेवी मन्दिर परिसरमा श्रद्धालु भक्तजनले चढाएका घन्टहरूमध्ये विसं १९०२ असोज २६ गते तत्कालीन लेफ्टिनेन्ट मानध्वज कार्कीले चढाउनुभएको घन्ट अझै पनि छ। गौरदेखि करिब तीन किलोमिटरपूर्व बागमती नदीको छेउमा रहेको राजदेवी मन्दिर मल्लकालीन राजा प्रताप मल्लले सन् १६४९ मा स्थापना गरेको अभिलेख पाइन्छ।
नवरात्रभर राजदेवी मन्दिर परिसरमा मेला नै लाग्ने गरेको स्थानीयहरुले बताएका छन्। मत्सरी भगवती मन्दिर एक सय वर्ष पुरानो मानिन्छ। ती दुवै मन्दिरमा नवरात्रिभर स्थानीय तथा भारतीय भक्तजनको भिड लाग्ने गर्छ।
यस मन्दिरमा नवरात्रभर भक्तजनहरुको घुइँचो लाग्ने भएकाले शान्ति–सुरक्षामा प्रहरीले ध्यान दिएको इलाका प्रहरी कार्यालय गंगा पिपराका सई गौरव दासले बताए। जनताको सुरक्षालाई उच्च प्राथमिकता दिइने उनको भनाइ छ। नवरात्रिको पहिलो दिन र सप्तमीको राति मन्दिरमा निशा पूजा गरिन्छ। त्यस दिन भक्तजनहरुको बढी घुइँचो हुने उनको अनुमान छ।
यस दिन धेरैले दिनभरि नै उपवास तथा निराहार बसेर नवरात्रभर पूजापाठ गर्छन्। कोही अरवा मात्र खाएर पूजापाठ गर्ने गर्दछन्।
जिल्लाका विभिन्न स्थानमा दुर्गा पुजा समितिले देवी दुर्गाको मुर्ति स्थापना गरी विधिवत रुपमा पुजापाठ गर्दै आएका छन्। माता दुर्गालगायत गणेश, काली, चण्ड, मुण्ड, शुम्भ, निशुम्भलगायतको प्रतिमा बनाउने परम्परा रहेको छ।
माता दुर्गाका तीन स्वरूप महाकाली, महालक्ष्मी एवं सरस्वती माताका विधिवत् रूपले आराधना गर्ने गरिन्छ । शक्तिको प्रतीक काली, धनकी देवी लक्ष्मी, विद्या एवं बुद्धिको प्रतीकको रूपमा सरस्वती माताको आराधना गर्ने परम्परा रहिआएको हो। जसका कारण नवरात्रभर शहरी तथा ग्रामिण भेगमा चहलपहल बढ्ने गर्दछ।







डिसी नेपाल







Facebook Comment