जेनजी आन्दोलनको उपलब्धीहरुलाई खेर जान दिनेछैन : मन्त्री सिन्हा
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री अनील कुमार सिन्हाले भावुक हुँदै जेनजी आन्दोलनका शहीदहरुको आहुति खेर नजाने बताएका छन्।
सोमबार शपथ ग्रहणसँगै पदभार ग्रहण गर्न सिंहदरबार पुगेका उनले सुशासन र रोजगारीको लागि भएको आन्दोलनमा धेरैले ज्यान पनि गुमाउनु परेको भन्दै उनीहरुको देन र ज्यानको आहुति आगामी दिनमा खेर नजाने बताए।
उनले भने, ‘हामीले राजनीतिक स्थायित्वको लागि र जुन प्रयोजनको लागि आन्दोलन भएको थियो, जुन कुरा उठाउनुभयो त्यसका लागि काम गर्नुपर्नेछ। जस्तो अहिले देशमा भइरहेको सुशासन र रोजगारीको अभावमा धेरैले ज्यान पनि गुमाउनु परेको छ। उहाँहरूले दिनु भएको देन र ज्यानको आहूति आगामी दिनमा खेर जादैन भन्ने विश्वास लिएको छु। मैले जुनसुकै काम गर्दा पनि उहाँहरुको अनुहार मेरो अगाडि आउँछ। घाइतेहरुको अनुहार पनि आउँछ। सायद त्यसले मलाई उर्जा पनि दिन्छ।’
यस्तै, उनले युवाहरुको सीप व्यवस्थापन र रोजगारीका कुराहरु आफ्नो प्राथमिकतामा रहने भन्दै घाइतेहरुलाई देशमा भएका उद्योगमा रोजगारी दिने बताए।
उनले भने, ‘उद्योग र देशको अर्थ व्यवस्था चलाएमान भएन भने युवा साथीहरुले देशभित्र बस्ने वातावरण बन्न सक्दैन। त्यो वातावरण बनाउनको लागि उहाँहरुको क्षमता विकास गर्नुपर्ने अवस्था पनि छ। सबैभन्दा पहिला युवाहरुको सीप व्यवस्थापन, रोजगारीका कुराहरु नै पहिलो प्राथमिकता हुनेछ। जसको मृत्यु भएको छ, जो घाइते हुनुहुन्छ उहाँहरुलाई देशमा भएका उद्योगमा रोजगारी दिने विषयमा छलफल गर्नेछु।’







डिसी नेपाल








Facebook Comment