अझै नियन्त्रणमा आएन हैजा
वीरगञ्ज । वीरगञ्ज महानगर वरपर हैजाका बिरामी भेट्टिएको एक महिनाभन्दा धेरै भइसक्यो। तर, अहिलेसम्म हैजा कसरी फैलियो भनेर स्रोत पत्ता लाग्न सकेको छैन भने नियन्त्रणमा पनि आउन सकेको छैन।
स्वास्थ्य कार्यालय पर्साका अनुसार आइतबार बेलुकी ५ देखि सोमबार बेलुकी ५ बजेसम्मको २४ घण्टामा २८ जना नयाँ हैजाका बिरामी फेला परेका छन्। जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरले यही असोज ६ गतेसम्म हैजाका बिरामीको आरडिटी जाँच गर्दा २४० जनामा संक्रमण भेटिएको जानकारी दिए।
जसमध्ये २३६ जना हैजाका बिरामी उपचार पश्चात डिस्चार्ज भइसकेका छन्। जसमध्ये अझै चार जना उपचारत छन्। महानगर आसपासमा हैजा देखिएपछि यहाँका २१ वटा अस्पतालमा सुरुवाती दिनदेखि असोज ६ गतेसम्म एक हजार ५१२ जना बिरामी हैजा तथा झाडापखलाका लक्षण देखा परेर अस्पताल भर्ना भएका छन्।
भर्ना भएकामध्ये एक हजार ४७९ जना उपचारपश्चात घर फर्किसकेका छन् । हैजाका चार बिरामी ‘आइसियू’मा उपचाररत छन् भने एक जना ‘एचडियू’मा उपचारत छन्। त्यसैगरी २८ बिरामीको जनरल वार्डमा उपचार भइरहेको छ। जनस्वास्थ्य अधिकृत ठाकुरले सर्वसाधारण जनता आफैँ सचेत र सजग नहुँदासम्म हैजा नियन्त्रण गर्न गाह्रो हुने बताए।
‘हामीले पर्याप्त मात्रामा जनचेतनाका अभियान सञ्चालन गरिरहेका छौं। तर सर्वसाधारणहरु अटेरी हुँदा पनि हैजा नियन्त्रण गर्न गाह्रो भइरहेको छ,’ उनले भने, ‘पानी उमालेर वा क्लोरिन राखेर खानका लागि अनुरोध गरेका छौं। सर्वसाधारणले मानेका छैनन्।’
उनले मङ्गलबारदेखि स्वास्थ्यकर्मी तथा स्वास्थ्य स्वयसेवीहरुको समूह हैजा प्रभावित वडामा घरघरमा पुगेर क्लोरिनयुक्त पानी खुवाउन सिकाउने कार्यक्रम राखिएको जानकारी दिए।







डिसी नेपाल








Facebook Comment