झापामा अन्तरराष्ट्रिय महिला फुटबल प्रतियोगिता हुने
झापा। शिवसताक्षी नगरपालिकामा महिला गोल्डकप अन्तरराष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिता हुने भएको छ।
आगामी कात्तिक १५ देखि २२ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा बिजेता टोलीलाई रु १० लाख नगद पुरस्कार प्रदान गरिने गोल्डकप आयोजक समितिका अध्यक्ष सन्तोष थोप्राले बताए। उनले महिला फुटबल प्रतियोगिताको इतिहासमा यो पुरस्कार नेपालमै सर्वाधिक राशिको भएको दाबी गरे। प्रतियोगिताको उपविजेतालाई नगद रु पाँच लाख, सर्वोत्कृष्ट खेलाडीलाई नगद रु एक लाख ५० हजार प्रदान गरिने उनले जानकारी दिए।
प्रतियोगिताका उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट फरवार्ड, उदियमान खेलाडी, उत्कृष्ट प्रशिक्षक र उच्च गोलकर्तालाई जनही नगद रु २५ हजार पुरस्कार प्रदान गरिने भएको छ । प्रत्येक खेलको प्लेयर अफ द म्याचलाई नगद रु १५ हजार र ट्रफी प्रदान गरिनेछ।
प्रतियोगितामा नेपाल, भारत र भूटानका आठ वटा महिला फुटबल टोलीको सहभागिता रहने जनाइएको छ। नेपालका तीन विभागीय टिम त्रिभुवन आर्मी, नेपाल एपीएफ र नेपाल पुलिस क्लबका महिला टिमको सहभागिता टुंगो लागिसकेको उनले बताए।
भारतको एउटा टोली र भूटानको अर्को टोलीले प्रतियोगितामा भाग लिनेछन् भने नेपालका ए डिभिजनका तीन वटा क्लबले प्रतिस्पर्धा गर्ने भएका छन्।
महिला खेलाडीलाई प्रोत्साहन गर्दै महिला खेलाडी उत्पादनमा टेवा पुर्याउने र उनीहरुका लागि निरन्तर प्रशिक्षणको व्यवस्था मिलाउन पहल गर्ने आयोजकको उद्देश्य रहेको छ।







डिसी नेपाल







Facebook Comment