नयाँ मतदाताले भोट हाल्न पाउने गरी राष्ट्रपतिले जारी गरे अध्यादेश

डिसी नेपाल
८ असोज २०८२ १५:१२
436
Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी फागुन २१ गते हुने निर्वाचनका लागि मतदाता नामावली ऐन संशोधनका लागि अध्यादेश जारी गरेका छन्। संविधानको धारा ११४ को उपधारा १ बमोजिम मन्त्रिपरिषद्‌को सिफारिसमा मतदाता नामावली ऐन, २०७३ लाई संशोधन गर्न बनेको अध्यादेश जारी गरिएको हो।

यससँगै मतदाता नामावली संकलनको बाटो खुलेको छ। अब नाम छुटेकाहरूले आफ्नो नाम दर्ता गराउन सक्ने छन्।

निर्वाचन आयोगले त्यस सम्बन्धी आवश्यक निर्णय गरी मतदाता नामावली संकलनको मिति तोक्नेछ। ‘अध्यादेश जारी भएपछि कानुन बमोजिम मतदान गर्ने योग्यता पुगेकाहरूको नामावली संकलन खुला भएको छ। यसका लागि आयोगले आवश्यक निर्णय गर्नेछ,’ आयोगका सूचना अधिकारी सुमन घिमिरे भने।

अध्यादेश जेनजी आन्दोलनपछि गठन भएको अन्तरिम सरकारले आगामी फागुन २१ गते ताजा जनादेशका लागि निर्वाचन गर्ने निर्णयसँग सम्बन्धित रहेको छ। अहिले निर्वाचन मिति घोषणा भइसकेको भए पनि राजनीतिक परिवर्तनमा सक्रिय थुप्रै युवाहरूको नाम मतदाता सूचीमा दर्ता नभएको अवस्थामा, उनीहरूको नाम दर्ता गर्न कानुनी मार्ग खोल्न यो अध्यादेश ल्याइएको हो।

मतदाता नामावली ऐन २०७३ को दफा ४ को उपदफा २ को २ मा रहेका ‘निर्वाचन मिति घोषणा भइसकेपछि उक्त निर्वाचनको प्रयोजनका लागि मतदाता नामावलीमा नाम दर्ता गरिने छैन’ भन्ने व्यवस्थालाई संशोधन गर्ने उद्देश्यले अध्यादेश जारी गरिएको आयोगले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.