गोलबजारका व्यापारीको गोदामबाट अनुदानमा प्राप्त १५४ बोरा मल बरामद

डिसी नेपाल
८ असोज २०८२ २२:२९
60
Shares

सिरहा। जिल्ला प्रशासन कार्यालय सिरहाको नेतृत्वमा आज यहाँ गरएको संयुक्त अनुगमन टोलीले गोलबजार नगरपालिका–६ पानीट्याकी नजिकैको एक निजी गोदामबाट १५४ बोरा अनुदानमा प्राप्त रासायनिक मल बरामद गरेको छ। किसानलाई वितरण गर्ने उद्देश्यले ल्याइएको मल स्थानीय व्यापारी कौशल महतोको गोदाममा लुकाएर राखेको अवस्थामा फेला परेको हो।

जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत अनिलकुमार यादवका अनुसार कृषि सामग्री कम्पनी लिमिटेडबाट अनुदानमा वितरण भएको ९६ बोरा डिएपी, ३६ बोरा युरिया र छ बोरा पोटास तथा साल्टट्रेडिङ कर्पोरेसन लिमिटेडद्वारा उपलब्ध छ बोरा युरिया, एक बोरा पोटास र नौ बोरा गैरअनुदानमा प्राप्त मल बरामद गरिएको हो।

किसानलाई अनुदानमा उपलब्ध गराउने उद्देश्यले ल्याइएको मल कालोबजारीमा बिक्री भइरहेको भन्ने गुनासो आएपछि गरिएको अनुगमनमा १५४ बोरा मल लुकाएको अवस्थामा फेला परेको उनले जानकारी दिए। उनका अनुसार टोलीले थप अनुसन्धानका लागि सोही क्षेत्रको धमिनीस्थानस्थित अर्को गोदाम पनि सिल गरेको छ।

अनुगमन टोलीका प्रतिनिधि प्रशासकीय अधिकृत यादवले भने, ‘छिमेकीसँग बुझ्दा कसैले पनि गोदाम कसको हो र के छ भन्ने जानकारी नदिएपछि उक्त गोदाम सिल गरिएको हो।’ उनका अनुसार अनुगमनका क्रममा केही कृषि बिजभण्डारका सञ्चालक अनुगमनको खबर पाएपछि पसल बन्द गरेर फरार भएका थिए।

यस विषयमा प्रतिक्रिया दिँदै कृषि सामग्री कम्पनी लिमिटेड लहानका प्रमुख दिपराज पौडेलले अनुदानमा वितरण गर्ने मल व्यापारीसम्म कसरी पुग्यो भन्नेबारे आफूहरू पनि जानकार नभएको भन्दै अहिले अनुसन्धान भइरहेको बताए। यो विषय गम्भीर भएकाले आवश्यक अनुसन्धानपछि मात्र वास्तविकता बाहिर आउने उनले उल्लेख गरे।

सरकारले किसानलाई सहज पहुँच सुनिश्चित गर्न स्थानीय तहको सिफारिसमा कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसनमार्फत सहकारी संस्थालाई सिधैँ मल उपलब्ध गराउने व्यवस्था गरेको छ। अनुगमन टोलीले सहकारीमार्फत वितरण हुने अनुदानको मल व्यापारीको गोदाममा फेला पारेपछि यसबारे अनुसन्धान थालिएको यादवको भनाइ छ।

अनुगमन टोलीमा जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि, कृषि सामग्री कम्पनी लहानका प्रमुख पौडेल, सशस्त्र प्रहरी, इलाका प्रहरी कार्यालय गोलबजारका प्रतिनिधि, गोलबजार उद्योग वाणिज्य संघका अध्यक्ष विजयकुमार साहलगायतको उपस्थिति थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.