जेनजी आन्दोलन : वीरगन्ज महानगर र प्रहरीको दाबी फरक-फरक
वीरगन्ज । आन्दोलनका क्रममा वीरगन्ज महानगरपालिकामा तोडफोड, आगजनी तथा लुटपाटबाट भएको क्षतिको विवरणबारे विवाद देखिएको छ।
भदौ २४ गते महानगरपालिकामा भएको क्षतिको विषयमा कार्यालय र प्रहरीको दाबी फरक–फरक छ।
महानगरपालिकाले १ सय १५ करोडभन्दा बढीको धनमाल नष्ट भएको दाबी गरेको छ भने जिल्ला प्रहरी कार्यालय पर्साले भने मात्र १३ करोड बराबरको क्षति भएको प्रतिवेदनमा उल्लेख गरेको छ।
जिल्ला प्रहरी कार्यालय पर्साले उपलब्ध गराएको जानकारी अनुसार, भदौं २४ गते अपराह्न महानगरपालिकामा प्रवेश गरेका आन्दोलनकारी समूहले कार्यालयभित्र रहेका सवारीसाधन तथा भवनमा आगजनी र लुटपाट गर्दा करिब १३ करोड रुपैयाँ बराबरको धनमाल क्षति भएको छ।
यस विषयमा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्णका अनुसार, प्रहरीले प्रतिवेदन तयार गर्दा कार्यालयसँग कुनै सहकार्य नगरेकाले तथ्याङ्कमा फरक आएको हो।
उनले कार्यालयमा रहेका १७ वटा सवारीसाधन, १२ वटा मोटरसाइकल र ४ वटा भवनमा रहेका सम्पूर्ण सामान जलेर नष्ट भएको बताए।
आन्दोलनकारीले लगाएको आगलागीमा तीनवटा भवन पूर्ण रूपमा क्षतिग्रस्त भई प्रयोगविहीन बनेका छन् भने नगर प्रमुख र उपप्रमुखको कार्यालय रहेको भवनमा आंशिक क्षति भएको अधिकृत कर्णले जानकारी दिए।
उनका अनुसार सम्पत्तिको विस्तृत विवरण कार्यालयसँगै रहेको भए पनि प्रहरी प्रतिवेदनमा समन्वयको अभावले आकडा फरक परेको हो।
भदौ २४ गते भएको आगलागीमा १२ वटा सरकारी कार्यालयमा तोडफोड तथा आगजनी भएको थियो। प्रहरी प्रतिवेदनअनुसार, ती कार्यालयमा जम्मा १७ करोड २४ लाख रुपैयाँ बराबरको क्षति भएको छ।







डिसी नेपाल







Facebook Comment