निबन्ध : आनन्द नै भगवान हो

ज्ञानेन्द्र विवश
११ असोज २०८२ ७:१३
44
Shares

भनिन्छ-आनन्द नै भगवान हो। हामीलाई कुनै दुःखकष्ट पर्दा हामी स्वतः भगवानको नाम लिन्छौँ। भगवानले हाम्रो रक्षा गरिदिन्छन् भन्ने मान्यता छ।

तेत्तीसकोटी देवीदेवताले बास बसेको मानिने देव भूमिमा मन्दिर र मूर्ति पनि उत्तिकै छन्। हाम्रा आस्था, आराधना पनि उस्तै पुजनीय छन्। हामी भगवानका भक्त भएबाट हामीले पनि भक्तको स्वभाव देखाउनुपर्छ।

हामी सबै खुसी चाहन्छौँ। आनन्दले बाँच्न चाहन्छौं। यस्तो आनन्द आफूले मात्र पाएर भगवान खुसी हुने होइन कि अरूलाई पनि खुसी पार्न सक्नुपर्छ। अन्यथा आनन्द पाउनु र भगवानको दर्शन मिल्नु कठिन हुन्छ। हामीले अरूलाई खुसी पार्न सक्दा नै हामीलाई पनि आनन्द प्राप्त हुन्छ।

आनन्द के हो ? के त्यो कुनै वस्तुमा पाइने रस हो ? के त्यो संगीतको आरोह-अवरोहमा लुकेको हुन्छ ? वा के त्यो प्रिय व्यक्तिको नजरमा प्रतिविम्बित छ ? प्रश्न धेरै छन्, उत्तर एक छ- जुन आनन्द छ, त्यो नै भगवान हो। जहाँ दुःखमा खुसी दिन सकिन्छ, त्यहाँ आनन्द स्वतः मिल्छ। जहाँ आनन्दको अनुभूति हुन्छ त्यहाँ भगवानको उपस्थिति हुन्छ।

धर्मशास्त्रहरूले अनेकौँ देवता देखाएका छन्। केही मूर्तिमा छन्, केही चित्रमा छन्। केही धर्मग्रन्थ र तन्त्रमन्त्रमा। तर सत्य यो हो कि ईश्वर कुनै निश्चित आकृतिमा सीमित छैनन्। जति नाम छन् त्यति नै तिनको स्वरूप छन्। जताततै भगवान छन्। तर देख्न सक्ने सामर्थ्य सबैमा हुँदैन।

वास्तवमा भगवान अनुभूतिको शुद्धतम् रूप हुन्। कतै मूर्ति, मन्दिर, ग्रन्थ आदिमा होइन मनमा भेटिने रूप हुन्। जहाँ दुःख त्यहा भगवानको नाम पुकारिन्छ। जहाँ आनन्द त्यहाँ भगवानको बास हुन्छ।

हामी स्वर्गीय आनन्द वा स्वर्ग जस्तै सुन्दर भन्छौँ त्यहाँ भगवानको सीप कपिएको हुन्छ। जब कोही बादलमुनि पानीमा नाच्छ, जब शिशु आमाको काखमा हाँस्छ, जब एक जना कवि शब्दको लयमा डुब्छ वा जब कुनै कलाकार रङमा रङ मिसाएर जीवन कोर्छ- त्यही बेला, त्यो क्षण, त्यो चेतना, त्यो नै भगवान हो।

आनन्द आत्माबाट उत्पन्न हुन्छ। त्यो बाहिरी परिस्थितिबाट होइन, भित्री मिलनबाट बग्छ। नदी किनारमा एक्लै बसेर आफ्नो आत्मालाई सुन्न सक्नु, साँझको सुनौलो किरणमा आँखा चिम्म गरेर त्यसको स्पर्श महसुस गर्नु- त्यो अनुभवको परम सन्देश हो। हामीले महसुस गरेको त्यो परमानन्दमा भगवान हामीभित्रै भेटिन्छन्।

जुन मानिसले आफ्नो कर्ममा आनन्द पाउँछ, उसले ईश्वर पाएको हुन्छ। एक किसान जो माटोमा बीऊ छर्छ र अन्नबाली उमार्छ, ऊ परमेश्वरको आराधना गर्छ। एक सर्जक जो शब्द खेलाउँदै अनुभूति पोखिरहेको हुन्छ, ऊ ब्रह्माण्डसँग संवाद गरिरहेको हुन्छ।

उसले आफूभित्रका संवेदनाहरूलाई व्यक्त गरिरहँदा र गरिसकेपछिको आनन्दले भगवानको दर्शन पाउँछ। उसको त्यो सन्तुष्टि भन्नु नै वास्तवमा भगवानसँग साक्षात्कार हुने अवसर पनि हो।

एउटी आमा जो शिशुका आँखा हेरेर आनन्दले रमाउँदै दिन बिताउँछिन्। त्यो खुसीको क्षणमा आफूलाई पूजित र पूर्ण महसुस गर्छिन्। ती सबै क्रियाहरूमा भगवान लुकेका हुन्छन्। ती सबै क्षणहरूमा शब्दविना ईश्वर बोलिरहेछन्। आकारमा होइन निराकारमा। व्यक्त भावनाका भेलबाढीमा होइन अनुभूतिका तरेलीहरूमा !

त्यसैले, जब हामी आनन्दको अनुभूति गर्छौं- कुनै गीत सुन्दा, कुनै फूल देख्दा, कुनै प्रकृतिमा मुग्ध हुँदा, कुनै सुगन्ध सुँघ्दा वा एकान्तमा आफैँसँग बस्दा। वास्तवमा त्यही क्षण, बिना कुनै शंका, भगवान हामीसँग हुनुहुन्छ। भगवान न त आकाशभन्दा पर धेरै टाढा, न त मन्दिरको मूर्तिमा मात्रै सीमित हुन्छ। भगवान हाम्रो आँखा रसाउने त्यो क्षणमा, हाम्रो मन मुस्कुराउने त्यो अनुभूतिमा बसिरहेका हुन्छन्।

साँच्चै भन्नुपर्दा- न पूजा, न पाठ; न आरती, न आराधना। बस एक स्वच्छ, सन्तुलित, प्रेमपूर्ण जीवन जिउन सकियो भने, त्यो नै सबैभन्दा ठूलो देवपूजन हो। किनभने जुन आनन्द छ, त्यो नै भगवान हो। अध्यात्मको आनन्द भन्नु नै भगवानसँगको संगत र संवाद पनि हो।

साँच्चै भन्नुपर्दा- न पूजा, न पाठ; न आरती, न आराधना। बस एक स्वच्छ, सन्तुलित, प्रेमपूर्ण जीवन जिउन सकियो भने, त्यो नै सबैभन्दा ठूलो देवपूजा हो। किनभने जुन आनन्द छ, त्यो नै ‘भगवान’ हो।

धार्मिक आस्थाका विभिन्न रूपले मानिसलाई एक निश्चित मार्गमा हिँडाउन उत्प्रेरित गर्छन्। हाम्रा पवित्र ग्रन्थहरूले हामीलाई सत्य, धर्म, आस्थाको शिक्षा दिन्छन् र जीवनलाई अनुशासन र परिश्रमको माध्यमबाट नै पूर्ण बनाउने कुरा बताउँछन्।

तर, यदि गहिरो दृष्टिकोणले हेर्‍यौं भने, सबैभन्दा महान पूजा भनेको त्यो हो, जुन जीवनका हरेक क्षणमा हामी प्रेम, सन्तुलन र शान्ति कायम राखेर बाँच्ने काम गर्छौं। अरूको मन नदुखाइ निःस्वार्थ भावले सबैको भलो चिताएर काम गरिँदा त्यहाँ भगवान पनि खुसी हुन्छन्। हामीले पनि आनन्द महसुस गर्न पाउँछौँ। अनि हाम्रो राम्रो कामले अरूको मन पनि खुसी हुन पुग्छ।

हाम्रो समाजमा पूजा, आराधना र धार्मिक अनुष्ठानलाई अत्यधिक महत्व दिइन्छ। तर, साँचो श्रद्धा भनेको जीवनमा प्रेम र सद्भाव फैलाउने कुरा हो। त्यो प्रेम, जुन हाम्रा हृदयमा हुन्छ र जसलाई हामी अरूसम्म पनि पुर्‍याउन सक्छौं।

त्यो प्रेम नै वास्तविक देवत्व हो, जसले हाम्रा मनलाई शान्त र पवित्र राख्छ। जब हामी यस सिकसिमको प्रेमपूर्ण जीवन बाँच्छौँ, तब हामीलाई कुनै बाह्य अनुष्ठानको आवश्यकता महसुस हुँदैन। हामी आफैंसँग, आफैंभित्रबाट आनन्दले खुसी भइरहेका हुन्छौं।

जीवनको सन्तुलन र पवित्रता मात्र बाह्य क्रियाकलापमा नभइ, मन र हृदयमा विद्यमान हुन्छ। यदि हामी जीवनका प्रत्येक पद्धतिमा सन्तुलन राखेर अघि बढ्छौँ, आफूलाई र अरुलाई समझेर व्यवहार गर्छौं भने, त्यति नै परमात्माको साक्षात्कार हुने छ। यी क्रियाकलापले आत्मा र परमात्मालाई एकै स्थानमा ल्याउने काम गर्छ।

त्यसैले, सबैभन्दा ठूलो पूजा भनेको त्यो हो जुन हामीले आफ्नो हरेक कार्य र विचारमा प्रेम, सहिष्णुता र समझदारीलाई प्राथमिकता दिन्छौं। जब हामी संसारसँग प्रेमपूर्वक व्यवहार गर्छौं, त्यति नै भगवानसँगको नजिकको सम्बन्ध बनाउँछौं। यसो गर्दा हामीले आफ्नो जीवनलाई सुखमय र शान्त बनाउँछौं। बरु संसारभरका अरूलाई पनि सान्त्वना र शान्ति दिन सक्छौँ।

यसरी प्रेम र सन्तुलित जीवन नै परमात्माको वास्तविक आराधना हो। यसमा त्यो साँचो आनन्द समाहित छ, जुन भगवानको अस्तित्वलाई पुष्टि गर्छ। किनकि जुन आनन्द छ, त्यो नै भगवान हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.