कास्कीमा चाडपर्वलक्षित सुरक्षा योजना लागू

डिसी नेपाल
१२ असोज २०८२ २०:०५
16
Shares

गण्डकी। दसैँ, तिहारलगायत चाडपर्वलाई लक्षित गरी जिल्ला प्रहरी कार्यालय, कास्कीले ‘चाडपर्व विशेष सुरक्षा योजना-२०८२’ लागू गरेको छ।

चाडपर्वका बेला हुनसक्ने चोरी, डकैती, लुटपाट तथा उच्छृङ्खल गतिविधि नियन्त्रण गर्न बनाइएको योजना कार्यान्वयनका लागि जिल्लामा ९२३ जना प्रहरी परिचालन गरिएको कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिए।

सडक सुरक्षाका लागि नियमित सवारीसाधनको जाँच तथा यात्रु सहायता कक्ष स्थापना गरिएको उनले बताए। नियम विपरीत चर्को भाडा असुल्ने, क्षमताभन्दा बढी यात्रु बोक्ने सवारीसाधनलाई पनि कडाइपूर्वक निगरानी तथा कारबाही गर्ने गरिएको प्रहरीले जनाएको छ।

यात्रुको सुरक्षा तथा सवारी दुर्घटना न्यूनीकरणका लागि कुकुरसहितको जाँच, पैदल गस्ती, ग्रामीण गस्ती, पेट्रोलिङ, बजार अनुगमनलगायत कार्य गरिएको सूचना अधिकारी बस्नेतले बताए।

नागरिकलाई शान्ति, सुरक्षाको प्रत्याभूति दिन सादा पोसाकमा समेत प्रहरी परिचालन गरी निगरानी र सुरक्षा सावधानी अपनाइएको कार्यालयले जनाएको छ। जिल्ला सुरक्षा समितिले पनि चाडपर्वका बेला सवारी आवागमन र यात्रु सहजताको अनुगमन गर्दै आएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.