दुई इजरायली बन्धकको खोजीमा हमासद्वारा अस्थायी युद्धविरामको आग्रह
गाजा सिटी। हमासको सशस्त्र शाखा इजिदिन अल–कसम ब्रिगेडले आइतबार इजरायली सेनालाई अस्थायी रूपमा आक्रमण रोक्न आग्रह गरेको छ।
संगठनले गाजा सहरको भागबाट इजरायली सेना पछि हटे मात्र दुई इजरायली बन्धकलाई पत्ता लगाउने उद्धार प्रयास गर्न सकिने जनाएको छ।
संगठनको विज्ञप्तिमा भनिएको छ, ‘दुई कैदीको जीवन वास्तविक खतरामा छ। सेनाहरू तुरुन्तै सडक ८ को दक्षिणतर्फ फिर्ता जानुपर्छ र आज साँझ ६ बजेदेखि २४ घण्टाका लागि हवाई आक्रमण रोक्नुपर्छ, जसले उद्धार प्रयासलाई सहज बनाउनेछ।’
यसअघि हमासले इजरायली सैन्य कारबाहीका कारण दक्षिणी गाजाको दुई छिमेकसँग सम्पर्क टुटेको जनाएको थियो। त्यहाँ हाल इजरायली सेनाले हवाई र स्थल आक्रमण तीव्र पारेको छ।
अघिल्ला समयमा पनि हमासले एक इजरायली–अमेरिकी बन्धकसँग सम्पर्क गुमाएको घोषणा गरेको थियो। त्यसपछि केही दिनमै ती व्यक्तिलाई रिहा गरिएको थियो।
गाजा सहरमा आक्रमण सुरु गरेयता इजरायली सेनाले बारम्बार स्थानीयवासीलाई दक्षिणतिर सार्न आदेश दिएको छ।
यसैबीच, संयुक्त राष्ट्र महासभामा बोल्दै इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले कडा अन्तर्राष्ट्रिय आलोचनाबीच पनि ‘हमासविरुद्ध काम समाप्त गर्ने’ प्रतिज्ञा दोहोर्याएका छन्।
गाजा युद्ध सन् २०२३ अक्टोबर ७ मा हमासद्वारा इजरायलमा गरिएको आक्रमणपछि सुरु भएको हो। सो आक्रमणमा एक हजार २१९ इजरायलीको मृत्यु भएको थियो, जसमा अधिकांश सर्वसाधारण थिए। त्यसक्रममा अपहरण गरिएका २५१ जनामध्ये ४७ जना अझै गाजामा छन्, जसमा २५ जनाको मृत्यु भएको इजरायली सेनाले जनाएको छ।
उता, हमासद्वारा सञ्चालित गाजाको स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार इजरायली आक्रमणमा हालसम्म कम्तीमा ६६ हजार पाँच जना मारिएका छन्। मृतकमध्ये अधिकांश सर्वसाधारण रहेका छन्।







डिसी नेपाल








Facebook Comment