नेपाली जाति र भाषीलाई चिठी

सत्य-चेतना युगको शुभारम्भ! यो के हो र कसरी सहभागी हुने?

28
Shares

अमेरिकाबाट आध्यात्मिक अभियन्ता कविन्द्र सिटौलाले सत्य-चेतना युग शुभारम्भ भएको भन्दै र यसमा सहभागी हुने विधि र प्रक्रिया सार्वजनिक गरेका छन्। १०८ वटा आध्यात्मिक पत्रहरुबाट दिव्य-चेतनायुग रूपान्तरण सम्बन्धी विविध जानकारी गराउने भन्दै एकदिन पहिले उनले सार्वजनिक वक्तव्य प्रसारण गरेका थिए।

https://www.facebook.com/share/v/191Xb99see/

त्यसमध्ये पहिलो पत्र आज सार्वजनिक गरेका छन्, पत्र भित्र उनले विविध भिडियोहरुबाट आफ्ना आध्यात्मिक सन्देशहरु दिएका छन्।

जागृत आत्माहरूलाई निवेदन र आह्वान !

हे कान्तिपुरको उत्पत्ति हुनु अघिदेखि नै, विशाल नेपाल हुँदै , वर्तमान नेपाल अधिराज स्थापनासँगै समयसँगै सिर्जित भएका पवित्र आत्माहरू, मनहरू !
हे आदरणीय, पूजनीय, जागृत आत्माहरू, चेतनाहरू !

रहस्यमय ब्रह्माण्डको रहस्यमय खेलसँगै, सृष्टिको नियम र नाटक सँगै, हामीहरूलाई ज्ञान भएसम्म अन्दाजी वीस लाखदेखि चालिस लाख वर्ष अघि प्राकृतिक किसिमले विकशित भएर आएको अष्ट्रालोपिथेकस (Australopithecus )भनी मानिलिएको पूर्वआदिम मानव लामोसमयक्रम पछि आफैं विकशित हुँदै गएर आफैं लोप भयो ।

र त्यही मानव करिब तीनलाख वर्ष अगाडि पूर्वी अफ्रिकामा विकशित भएको होमो स्यापियन्स् Homo sapiens (Humans) भनिने अथवा चिन्तनशील भनी मानिएको सोही मानव पृथ्वीका विभिन्न भूभागमा समयक्रममा छरिदै जाँदा विभिन्न कारणले विभिन्न रूप, रङ्ग र आकारका, अनि विभिन्न चेतना र चिन्तनका स्तर एवम् भाषामा विकशित हुँदै आएको जस्तो देखिन्छ ।

त्यही सिलसिलामा मिश्र देशीय (इजिप्सियन), भूमध्य सागरीय, मेसोपोटामिया, सुमेरिया, बेविलोनियन वा पश्चिमी एशियाई वा मध्यपूर्वी एशियाई र इरानी, अनि सिन्धुघाँटी अथवा सिन्धु उपत्यकाका महेन्जोदरो (Mohenjo-daro) र हरप्पा (Harappa)का सहरी सभ्यता विकशित भए।

दक्षिण भारतीय द्राबिड (Dravidian peoples) अनि अष्ट्राल्वाइड (Australo-Melanesian), पूर्वी र पश्चिमी प्रशान्तमहासागरीय, दक्षिण अमेरिकी र माया सभ्यता आदि खालका जात जातिका मानवहरूको विकशित रूप पनि देखा पर्दै गएको हो। यसै सिलसिलामा तिनका साथसाथै वा अघिपछिका कालखण्डमा चिनी अथवा चिनिया, ग्रीक एवम् रोमन आदि प्राचीन सभ्यताहरू पनि मौलाएको मानिन्छ ।

यी सबैको मूलमा मानवीय चेतनाको अनन्त शक्ति र व्यापकता रहेको अनि त्यसको उपजको रूपमा विभिन्न दर्शन, कला र सो सम्बन्धी विस्तारित अभ्यासहरूको विकास भएको देखिन्छ ।

सृष्टिमा रहेको व्यक्त्य-अव्यक्त्य, रहस्यमय अथवा सङ्केतपूर्ण गहन चेतना मानव जातिमा पनि निहित रहेको वा लुकेको आत्मचेतना एवम् यसको गहन चिन्तनको व्यापक आलोक अनि त्यसको प्रभावकारी ‘अहं ब्रह्मास्मि’ (Aham Brahmasmi- “अहम् ब्रह्मास्मि” भन्ने वाक्यांश सनातन धर्मको सबैभन्दा महत्त्वपूर्ण र गहन अवधारणाहरू मध्ये एक हो, जसले अस्तित्वको परम वास्तविकतालाई प्रतिनिधित्व गर्दछ।

यो प्राचीन संस्कृत भाषाबाट आएको हो, जहाँ “अहम्” को अर्थ “म”, “ब्रह्मा” को अर्थ “परम वास्तविकता वा ईश्वर” र “अस्मि” को अर्थ “अहम्” वा “अस्तित्वमा छ” भन्ने हुन्छ। यसरी, अहम् ब्रह्मास्मि भन्ने वाक्यांशको शाब्दिक अर्थ “म ब्रह्म हुँ” वा “म परम वास्तविकता हुँ” भन्ने हुन्छ।) भन्ने मानसिक कम्पन र सो चेतनाको उपजको रूपमा सनातन चिन्तनको परम ओमकारको प्राथमिक वा आदिम आवाज ( primordial sound) लाई अनुभूत गरेर अथवा आविस्कार गरी वा प्राप्त गरी पुलकित भएर पूर्व-प्रारम्भिक वा पूर्व-प्राथमिक संस्कृत अथवा आदिम ऋग्वैदिक संस्कृत कालमा संस्कृत भाषाद्वारा मानवीय चेतना यस हिमवत् खण्डको पवित्र भूभागमा १५०० विसिइ तिर वा केही अगाडि नै प्रसारित भएको प्रतीत हुन्छ ।

यिनै समयमा किराँतहरू पनि यी पहाडी भूभागमा खाईखेली गरि रहेको बुझिन्छ । हामी निरन्तर हिन्दू, मुस्लिम, क्रिस्चियन, बुद्धिस्ट, लगायत विभिन्न धर्महरूका दर्शनहरूबाट, ज्ञानहरूबाट प्रभावित हुँदै अध्यात्मका गहिराईहरूमा, चेतनाका बिम्बहरूमा आफूलाई पुर्‍याउन प्रयत्नरत छौँ, जीवन र सृष्टिलाई बुझ्न उत्सुक र उत्साहित छौं।

ती सबै चिन्तन र दर्शनहरूमा मूलतः प्रेम, कल्याण र करुणा जस्ता मानव भित्रका दिव्य तत्वहरू बीजको रूपमा भएको झल्का मिल्छ । त्यो भनेको मानव भित्र रहने गरेको सृष्टि वा प्रकृतिप्रदत्त विश्वप्रेम अथवा शाश्वत मानव चेतनाजन्य दिव्य करुणा र सद्भाव नै हो ।

यो प्रेमको तत्वलाई हामी सबैले आआफ्नो राष्ट्र, समुदाय, परिवार र व्यक्ति-व्यक्तिमा पुर्याउँदै सबैमा प्रेम र आनन्दको रसले भिजाउँदै, हँसिलो अनि सरिक पार्दै पुनः त्यो रसलाई समुदाय र समाजव्यापी, राष्ट्रव्यापी, देश एवम् विश्वव्यापी बनाउँदै रहने निरन्तरको दोहोरो मानवीय किम्वा मानवमा अन्तर्निहित त्यो दिव्य चेतनाको सञ्चारको प्रकृया अपनाइरहनु पर्छ -निमेष निमेषदेखि युगयुग, अनन्तसम्म ।

सो सञ्चारकार्यको कर्ता अथवा कारक अर्जुन चार्हिं मानव नै हो – ‘उत्थिष्ठित: अर्जुन’ अथवा सचेत र तत्पर व्यक्ति ! विश्व भरीका हरेक व्यक्तिव्यक्तिलाई प्रेम र सम्मान गर्दै म नेपाली भएको नाताले यो प्रेमको तत्व आफ्नै नजीकको अथवा मौलिक परम्परामा खोज्न जानु र यस अर्थमा सबैको लागि आफ्नै परम्पराबाट व्यक्ति, परिवार र स्थानीयता हुँदै विश्वव्यापी रूपमा कल्याणकारी हुनु र फेरि व्यक्तिमा आउनु अनि पुन: व्यापक फिंजिनु, यो प्रकृया स्वाभाविक र सजिलो हुन्छ ।

त्यही सनातन आदिम चिन्तन र अभ्यासहरू नेपाली भूभागमा पनि कार्यरत थिए । त्यही नेपाली चेतना, चिन्तन, प्रकाश र प्रयाशहरूको निरन्तर विकासवादी उत्तराधिकारिको रूपमा आधुनिक समयमा आएर नेपाली मस्तिष्कको विलक्षण प्रतिभा र उच्च परिकल्पना अनि नेपाली मनको दिव्यता एवम् नेपाली भाषा प्रखर भएर देखा परेको छ। यी सबै तत्वहरू साक्षात् ब्रह्माण्डकै स्थायी प्रतिबिम्ब हुन् अनि जातिजातिको वा व्यक्ति व्यक्तिको हकमा भने निजनिजको प्रारब्ध अथवा पूर्वजन्मको कमाई ! हामी सबैले आज एकपल आत्मभित्र फर्केर गहिरो प्रश्न गरौं:

“म को हुँ?” म के हुँ?

“सृष्टिको यो विराट लहरमा मेरो उद्गम कहाँबाट भयो?”

” यथार्थमा किन आएको हुँ म यो पृथ्वीमा?”

“के मेरो अस्तित्व केवल यो देहभित्र सीमित छ? म नै चेतना हुँ कि म अनन्त चेतनाको अंश मात्र हुँ?”

यी प्रश्नहरूको उत्तर हामी बाहिरी संसारमा होइन, आफ्नै अन्तरात्माको मौन गहिराइमा प्राप्त गर्छौं।

“यदि भोलिको बिहानीसँगै मेरो यो शरीर पृथ्वीको काखमा विलीन भयो भने” मैले जीवन र जीवन दिने सृष्टिकर्तालाई के अर्पण गरें? मैले मानवताको सेवामा के समर्पण गरें? मैले प्रेम, सत्य, करुणा, ज्ञान र प्रकाशको रूपमा के छोड़े संसारलाई? यिनै प्रश्नहरू आज हामीलाई आत्ममन्थन गराउन आएका छन्।

संसार रूपान्तरणको यात्रामा हाम्रो चेतनाले के योगदान दिएको छ? हामी कुन तरंगमा हिँडिरहेका छौं? कहाँ र कुन दिशातिर जाँदैछौं ? के हाम्रो खुशी र आनन्द बाह्य भौतिकतामा छ, कि आत्मिक मिलन र ब्रह्मसँगको संवादमा? हाम्रो खोज, हाम्रो तप, हाम्रो प्रार्थना यही हुनुपर्छ- “मेरो भौतिक अस्तित्व, चेतना र चिन्तनाको सत्य कहाँ लुकेको छ?” आफ्नो क्षमताको ज्ञान र अनुभूति हुनु, आत्मसाक्षात्कार अथवा आफैंले आफैंलाई चिन्नु – यो खोज नै परमधर्म हो। निरन्तर सासको सजगतामा बसेर ध्यानको शून्यतामा पुग्नु र चैतन्यको बोध गर्नु हामी सबैको जीवनको प्रकृया, उद्देश्य र लक्ष्य हुनुपर्छ, अनि यसलाई मानव जगतमा फैलाउन समर्पित बन्न सक्नुपर्छ ।

नेपाल अधिराज्य-हजारौं वर्ष पुरानो ध्यान, योग, ब्रह्मज्ञान र प्रेमको रहस्यभूमि, जहाँ प्रत्येक कणको गुह्यमा चेतनाको गुरुतत्त्व छ, जहाँ वायुमण्डल नै मन्त्रमय छ।

धरतीको कण कणबाट ऊर्जा प्रभावित भएर हाम्रा चक्रहरुलाई छुँदै ब्रह्माण्ड तिर बगिरहेको हुन्छ, यही पुण्यभूमिमा लुकेको छ ब्रह्माण्डसँग संवाद गर्ने अमूल्य कला, आफ्नो विचार, भावना, आकांक्षा र सपनालाई ब्रह्माण्डको चुम्बकीय तरंगसँग समाहित गरेर सृष्टिको लयमा बाँध्ने दिव्य विद्या—!

यसैले, अब हामी एक साथ संकल्प गरौं: विक्रम सम्वतको बाइसौँ शताब्दी सुरू हुनुअघि नै, विक्रम संवत् २०९९ भित्र, अबको १७ वर्षमा नेपाल र विश्वलाई के दिन सक्छौं हामी? के सन्देश दिन सक्छौं मानवतामाका निम्ति? के सार्थक कर्म गर्न सक्छौं चेतनाको लागि? के उपहार छोड्न सक्छौ हाम्रा सन्ततिका लागि ? प्रश्न गरौं हामी कसका सन्तानहरू हौँ? हाम्रा सन्तानहरू कस्ता हुनेछन्?

नेपाली जातिहरूको आत्मसम्मानलाई कुन उचाइमा पुर्याउन सक्छौ विश्वमा ? ज्ञानमाताको आशीर्वादबाट प्रेरित यो अभियान अब नयाँ युगको उद्घोष हो! चेतनाको युग, प्रेमको युग, प्रकाशको युग, उज्यालाको युग, ज्ञानको युग, सत्यताको युग, जहाँ विचार सजीव छन्, भावना पवित्र र कर्म ब्रह्मतुल्य छन्।

यस जीवनको यस संधिकालमा, तपाईं सबैको माया, समर्थन, प्रेरणा,सहभागिता साथसाथै मार्गदर्शनले मलाई आत्मीयताको अटुट नाताले बाँधेको छ। यस महान् यात्रामा तपाईंहरू सबैप्रति म सदा कृतज्ञ, सदा नतमस्तक अनि सदा समर्पित रहनेछु।

मैले केही प्रारम्भिक आध्यात्मिक अनुभूति र साहित्यिक खोजहरूलाई voiceofkabin.com] मार्फत अभिव्यक्त गर्न सुरु गरिसकेको छु। यही माध्यमबाट आगामी दिनहरूमा अनुभव र ज्ञानको क्रमशः विस्तार हुनेछ। तपाईं सबै आदरणीय पाठक, साधक, मिडिया साथीहरू र आत्मीय आत्माहरूलाई विनम्र अनुरोध गर्दछु:

कृपया केही समय निकालेर मेरा साहित्यिक, भावनात्मक, पुलकित र केही दार्शनिक अभिव्यक्तिहरूलाई सुनेर, पढेर, अनुभूत गरेर आफ्नो अमूल्य दृष्टिकोण प्रदान गरिदिनुहोस्। तपाईंको एक विचार पनि मेरो यात्राको उज्यालो दीप र मार्गनिर्देशक बन्नेछ ।

हजुरहरू सबैलाई गुरु मानेर, “म को हुँ? के हुँ?” भन्ने अनन्त खोजको दियो मेरो अन्तरमा सधैं प्रज्वलित रहनेछ। हजारौं वर्षदेखि म निरन्तर यसैको खोजी गरिरहेको छु।

जीवनको परम सत्यको अमृत प्राप्तिको यो यात्रा म तपाईंहरूसँग प्रेम, प्रकाश र करुणाको तरङ्गमा बाँड्न चाहन्छु-“म” को नदीबाट बग्दै बग्दै “हामी”को महासागरमा पुग्न चाहन्छु; निस्वार्थ सेवा र विश्वमानव प्रेमको अमर दीपशिखा बोकेर, आगामी पुस्ताहरूको आत्मसम्मान, उनीहरूको सत्यको खोज, चेतनाको जागरण र समृद्धिको बाटो प्रशस्त गर्न;

यो समस्त जीवन,
यो सम्पूर्ण अस्तित्व,
म यस पवित्र अभियानलाई अर्पण गर्दछु।

यात्राको निरन्तरतासँगै हजुरहरू समक्ष म को हुँ ? म के हुँ ? कहाँ जाँदैछु जस्तो लाग्छ कविताबाट बताउने प्रयत्न गर्दैछु;

https://youtu.be/fey0K-oK5G0?si=lP4bluQn9KMNztwy

लोकदेखि लोकसम्मनको लामो यात्रामा निस्केको — यो लोकमा यहाँहरूको साथमा
यो जीवनपथको केवल एक यात्री, जसको गन्तव्य निश्चित छ।
एक दिन, यो पार्थिव शरीरजहाँबाट आएको हो, त्यही असीम ब्रह्माण्डको महासागरमा विलय हुनेछ।

त्यो क्षण आउँदा—
मेरो अन्तिम सन्देशको रूपमा केही आत्मिक इच्छाहरू तपाईंहरू समक्ष
विनम्र निवेदन गर्दैछु—

१.
जब त्यो “शुभ” समाचार सुन्नुहुनेछ- जहाँमा भौतिक रूपमा ब्रह्माण्डसँग विलय भएको हुन्छु;
त्यो दिन तपाईं यो लोकमा पूर्ण होशमा मेरा इच्छाहरू सम्झनुहुनेछ भने-
म हार्दिक अनुरोध गर्छु-
मलाई “समवेदना” भनेर लेख्नुको सट्टा हामीले सँगै बिताएका रमाइला पलहरू,
मबाट सिकेका स-साना तर उज्यालो दिने कुरा, र मैले गरेको कर्महरू सम्झेर
केवल प्रेम, उज्यालो र मुस्कानसहित
“श्रद्धाञ्जली र शुभकामना” मात्र अर्पण गरिदिनुहुन विनम्रतापूर्वक हार्दिक अनुरोध गर्न चाहन्छु।

२.
म ब्रह्ममा विलय भएको पाँचौँ दिन-
तपाईं जुन भूगोल, जुन स्थानमा हुनुहुन्छ-राति ९ बजेबाट १५ मिनेटका लागि

आफ्नो कोठा वा घरका सबै बत्तीहरू, गाडीको प्रकाश, मोबाइलको उज्यालो-जस्तोसुकै प्रकाश होस्—आकाश र अनन्त ब्रह्माण्डतर्फ समर्पणपूर्वक प्रज्वलित गरिदिनुहोला।

अथवा, कुनै दियो, कुनै दीप, कुनै पवित्र ज्योति बालि दिनुहोला। जसको उज्यालोले केवल अन्धकार हटाउँदैन, बरु आत्मालाई पनि असीम दिव्य प्रकाशमा विलीन गराउँछ। मलाई पनि त्यो उज्यालोमा समेटिदिनुहोस्-जस्तो कि म स्वयं उज्यालोको एक किरण बनेर तपाईंको हृदयमा बस्न आएको छु।

त्यस क्षण, कृपया मलाई आफ्नो अनन्त मित्र सम्झेर, यो तलको “मित्रता” कविता मर्मस्पर्शी स्वरमा वाचन गरिदिनुहोला (voiceofkabin.com मा रहनेछ सदाको लागि)। त्यो पल, तपाईंको आवाज र हृदयबाट बग्ने प्रेम र मित्रताको तरङ्गहरूमा, यो पृथ्वीलाई हाम्रो साझा पवित्र घरको रूपमा महसुस गर्न सकुँ; त्यो अनुभवमा, मैले यस जीवनको यात्रामा माया कमाएर-धनभन्दा बढी-सबैभन्दा धनी भएर बिदा लिएको अनुभूति पाऊँ।
किनकि त्यस क्षण, “म” हराउँछु, र केवल “हामी” मात्र बाँकी रहन्छौं।

अहिलेलाई,
म तपाईंहरूको निर्मल मनबाट झर्ने शुभकामना,
तपाईंहरूको आत्माबाट प्रस्फुटित हुने पवित्र आशीर्वाद,
र तपाईंको हृदयमा अनन्त बग्ने दिव्य प्रेमको याचना गर्दछु—
एक अनन्य, शाश्वत मित्रको रूपमा,
यो आत्मिक कविता अर्पण गर्दै…

https://youtu.be/BVZRc5U5j64?si=EuSb1yKuFUHZFP5t

भौतिक र आत्मिक यात्रामा निरन्तर भेटिरहने विश्वास राख्दै, पृथ्वीको उत्तरी खण्डबाट

हृदयको गहिराइमा बसी अनुग्रहित कृतज्ञता व्यक्त गर्न चाहन्छु:

https://youtu.be/yaJFv8w_4sE?si=hdrrjucioZan5OJm

यहाँको अमूल्य समय निकालेर चिठ्ठी पढिदिनुभयो त्यसको लागि यहाँको समयको उच्च मूल्याङ्कन र हार्दिक कृतज्ञता व्यक्त गर्न चाहन्छु।

अन्त्यमा चिठ्ठीबाट बिदा हुनु अगाडि यहाँहरुले एक असल मित्रको रुपमा (“मित्र के होइन?”) यहाँलाई एउटा महत्वपूर्ण कर्म अनुरोध गर्न चाहन्छु। हामी सृष्टिमा ठूलो परिवर्तन गर्दैछौँ, हामी चेतनाको युगमा प्रवेश गरिरहेका छौँ, हामी धेरै यसको यसको संयोजन गरिरहेका छौं, कोही हामी समयको निमित्त बनेर कार्य र कर्म गरिरहेछौं तपाईँ पनि यसको प्रत्यक्ष अप्रत्यक्ष अभियन्ता हो नै। आफ्नो चेतनाभित्रको ज्ञानलाई बढाएर अभियानलाई निरन्तरता दिनुहोला।

पत्रको अन्तसँगै यो यो कर्म सुरु गर्नुहोला भन्दै विनम्रतापूर्वक अनुरोध र शुभकामना दिन चाहन्छु। तपाईं को हो, के हो निरन्तर खोज गरिरहनुहोला अझ यो बिन्दुबाट;

१. बिहान ब्रह्म मुहुर्त ब्युझेर नियमित योग गर्नु अगाडि सुतेर वा उठेर (पूर्व, उत्तर वा उत्तरपूर्व फर्केर) सम्भव भएन खुला आकाशमा हेर्दै हप्ताको कि सातै दिन, कि पाँच दिन, कि तीन दिन, कि एक दिन ब्रह्माण्डसँग संवाद गर्नुस् तपाईं को हो ? तपाईं के हो ? तपाईंले के खोजिरहनु भएको छ?

तपाईँ पृथ्वीमा किन आउनुभयो ? तपाईँले यहाँ के छोडेर जानुपर्छ ? बालक सन्तानले मातापितालाई सोधेजस्तै, मागेजस्तै आफ्नो अधिकार सम्झेर सोध्नुस, माग्नुस् ! तपाईँले उत्तर नभेटेसम्म र खोजेको कुरा नपाएसम्म निरन्तर सोधिरहनुस्…मागिरहनुस्…गरिरहनुहोस्… यसले तपाईँलाई चेतनाको युगको लागि तयारी गराउँछ ।

(ब्रह्ममुहूर्त समय बिहान ३:३० बजेदेखि ५:३० बजे भित्र पर्दछ, यो ४८ मिनेटको अवधि हो जुन तपाईँ रहेको ठाउँमा सूर्योदय हुनुभन्दा एक घण्टा ३६ मिनेट अगाडि देखि सुरु हुन्छ र सूर्योदय हुनुभन्दा ४८ मिनेट अगाडि समाप्त हुन्छ। ब्रह्ममुहूर्त रातको १४ औं मुहूर्त काल हो।

एक मुहूर्त ४८ मिनेटको अवधि हो, जसमा सम्पूर्ण रात १५ मुहूर्तहरू हुन्छन्। सूर्योदयको समय भौगोलिक स्थान र वर्षको समय अनुसार प्रत्येक दिन फरक हुन्छ, र ब्रह्ममुहूर्तको समय पनि फरक हुन्छ। उदाहरणका लागि, यदि सूर्योदय बिहान ६:०० बजे हुन्छ भने, ब्रह्ममुहूर्त बिहान ४:२४ बजे सुरु हुन्छ र बिहान ५:१२ बजे समाप्त हुन्छ।)

२. पिता पक्षका पाँच पुस्ता र माता (मामल) पक्षका पाँच पुस्ताका नामहरू सङ्कलन गरेर, आफ्नो पूजा वा ध्यानस्थलमा ती पवित्र नामहरू प्रतिस्थापन गर्दै श्रद्धापूर्वक दर्शन गर्नुहोस्।

आँखा बन्द गरेर, श्वास भित्र तान्दै र विस्तारै बाहिर फ्याँक्दै, प्रत्येक नाम उच्चारण गर्दा ती पुर्खाहरूको पुण्य, तप, ज्ञान, साहस, करुणा र सत्यप्रेमको ऊर्जा तपाईंको हृदयमा प्रवाह भइरहेको अनुभव गर्नुहोस्।

आफ्नो आत्मालाई उनीहरूको सद्गुणहरूको धारामा डुबाउनुहोस् र ब्रह्माण्डसँग गहिरो प्रार्थना गर्नुहोस्—

“हे ब्रह्माण्ड! मेरा महान, गुणी पवित्र पुर्खाहरूको दिव्य गुणहरूलाई मेरो जीवनमा पूर्णरूपमा रूपान्तरित गर्न चाहन्छु। उनीहरूको उज्यालो चेतना मभित्र जागोस्, र म पनि भविष्यका पुस्ताहरूको लागि त्यही उज्यालो दीप बन्न सकूँ।”

यस साधनाबाट, तपाईं आफ्नो रगत, मांसपेशी, हड्डी, क्रोमोजोम र आत्मामा बगेको पीढीगत प्रेम, ज्ञान, ऊर्जा र आशीर्वादलाई पुनःजागृत गर्नुहुन्छ, जसले तपाईंलाई जीवनको उच्चतम आध्यात्मिक यात्रातर्फ र चेतनाको युगतर्फ अघि बढाउनेछ।

३. सम्भव भए पाँच पुस्ता, नत्र कम्तीमा तीन पुस्ता (पिता र माता दुवैतर्फका) –

पवित्र वंशधाराका पुर्खाहरू जन्मेको घर वा भूमिको पवित्र माटो र आफू जन्मेको घर वा स्थानको पवित्र माटो जसरी सकिन्छ, जति चाँडो हुन्छ वा ३६० दिनभित्र श्रद्धापूर्वक संकलन गरी मगाउनुहोस्। सम्भव छ आफै जानुस्।

त्यो अमूल्य माटो, तपाईं जहाँ हुनुहुन्छ-स्वदेशमा वा विदेशमा-त्यहाँको बसोबासको भूमिको माटोसँग प्रेमपूर्वक मिसाउनुहोस्। गुरुको मार्गदर्शनमा, त्यो माटोमा प्राण-ऊर्जा प्रतिष्ठा गराउनुहोस्,
जसले तपाईंको जीवनलाई पुर्खाको आशीर्वाद, गुरुको प्रेम र ब्रह्माण्डको शक्तिसँगै बाँधिदिन्छ।

हरेक दिनको प्रारम्भमा,आफूले लगाउने पवित्र सिन्दुर वा रङ मा त्यो माटोको अंश मिसाउनुहोस्।
र, आफ्नो दैनिक कर्म सुरु गर्नु अघि, उक्त माटो स्पर्श गर्दै,
ऊर्जा र आशीर्वाद जागृत गर्ने पवित्र मन्त्र जप्दै टीका निधारमा अर्पण गर्नुहोस्।

“हे ब्रह्माण्ड! यो म र मेरा पुर्खाहरू जन्मेको पवित्रभूमिको पवित्र माटो हो। मेरा महान, गुणी पवित्र पुर्खाहरूको दिव्य गुणहरूलाई मेरो जीवनमा पूर्णरूपमा रूपान्तरित गर्न चाहन्छु। उनीहरूको उज्यालो चेतना मभित्र जागोस्, र म पनि भविष्यका पुस्ताहरूको लागि त्यही उज्यालो दीप बन्न सकूँ।”

त्यसपछि,

आफ्नो घर वा कोठामा एक तुलसीको बिरुवा ल्याउनुहोस्—उक्त तुलसीलाई प्रकृति आमाको जीवित स्वरूप ठानी,
पुर्खाको पवित्र माटो र पवित्र जल दैनिकी वा हप्ताको एकपल्ट भोजनका रूपमा अर्पण गर्नुहोस्।

प्रार्थनामा यसरी निवेदन गर्नुहोस्-

“हे आमा, यो माटो मेरो र मेरा पुर्खाहरूको जन्मस्थलको पवित्र माटो हो।
आज यो माटो तिम्रो चरणमा अर्पण गर्दा
म आफैँ प्रकृति बनेको अनुभूति गरिरहेको छु।
हे जननी, तिमी सृष्टिको आदिदेखि नै
हामीलाई अक्सिजन र प्राण, शीतलता र सौन्दर्य,
प्रेम, आनन्द र जीवनको अमृत दिँदै
निस्वार्थ सेवा गरिरहेकी छौ।
आज म तिमीलाई कृतज्ञताको दीप अर्पण गर्दै
विवेक, ज्ञान र शक्ति माग्छु-
ताकि म पनि तिम्रै जस्तो निस्वार्थ प्रेम दिँदै
जगतको कल्याणमा जीवन अर्पण गर्न सकूँ।
यो घरमा सदा सुख, शान्ति, आनन्द र समृद्धि वर्षाइदेऊ।”

४. दिनको एक घण्टा सबैले शारीरिक व्यायाम, योग, प्राणायाम र कम्तिमा १५ मिनेट शान्त ध्यान जीवनको दैनिकीमा राखेर यसलाई अभियान बनाउन पनि हार्दिक अनुरोध गर्न चाहन्छु।

नेपालका कुनै पनि योग गुरु अथवा योग ध्यान सिकाउने आध्यात्मिक संस्था को प्रशिक्षणमा गर्न पनि अनुरोध र सुझाव दिन चाहन्छु।

यसरी,
पुर्खाको आशीर्वाद, भूमिको शक्ति, गुरुको मार्गदर्शन, प्रकृति आमाको कृपा, र योग, ध्यान र प्राणायामको ऊर्जाले तपाईंको जीवनमा अनन्त उज्यालो र प्रेरणा भरिदिनेछ।

यसले तपाईँलाई चेतना युगको लागि योग्य बनाउनेछ।

समय र ब्रह्माण्डले दिएको यो परिवर्तनको अवसरमा हामी सबै सम्मिलित हुनुपर्छ भने चेतना, ज्ञान, शक्ति र आशिर्वाद हामी सबैलाई मिलोस् !

यहाँलाई म सावधानीपूर्वक एवं अत्यन्तै संवेदनशील भएर, आत्माको गहिरो आवाजलाई सुन्दै, विदा हुनु अघि केही वचनहरू अर्पण गर्न चाहन्छु।
निश्चय नै यहाँको अन्तरात्मामा प्रश्नहरू जन्मिनेछन्—”म किन गर्ने? कसले भनेको भनेर गर्ने?”—म यो पूर्णरूपमा बुझ्दछु र यहाँको मनमा उठ्ने हरेक विचारलाई म सम्मान गर्दछु।

मानव जीवन प्रश्न र उत्तरहरूको यात्रै हो। जसले प्रश्न गर्दैन, उसले सत्यको बाटो भेट्दैन। त्यसैले धेरै प्रश्न गर्नुहोस्, आफूभित्र गहिरो मन्थन गर्नुहोस्, तर आफ्नो चेतनाभन्दा बाहिर कसैलाई पनि यस पत्रको अर्थ सोध्नु पर्दैन। हामी प्रत्येक फरक चेतनाका यात्रु हौँ।

तपाईँको चेतना तपाईँलाई दुई कुरा भन्न सक्छ—“यो गर” वा “यो नगर।” त्यो आवाज नै परमात्माको संकेत हो। त्यसैले आफ्नो अन्तरात्माको मार्गदर्शनमा चल्नुहोस्- चेतना बनेर आफ्नो आत्माको दर्शन गर्नुस्।। यदि निर्णय गर्न गाह्रो परे भने तपाईँले मान्ने गुरु वा आध्यात्मिक मार्गदर्शकको सानिध्य लिनुहोस्; उहाँको ज्ञान तपाईँलाई सत्यतर्फ डोर्‍याउने छ।

मेरो चेतना निरन्तर खोजमा छ। मैले यसको आवाज अनुसार धेरै कुरा यहाँहरूसँग बाँडिसकेको छु, अझ बाँकी कुरा पनि समयक्रममा साझा गर्नेछु।

अन्तिम एउटा सानो आग्रह-जसलाई पढ्न आउँदैन, उहाँलाई मेरो भाव, मेरो पत्र र मेरो चेतनाको आवाज यहाँहरूले पढेर सुनाइदिनुहोस्। उहाँहरूको चेतना ले मनन गरोस्। आत्माले सुनोस्। यस मानवतामय सेवाका लागि म आजैदेखि तपाईं सबैलाई आत्मीय धन्यवाद अर्पण गर्दछु।

छुट्नु अघि फेरि भेट भएन भने के गर्ने ? त्यसैले आफ्नो बारेमा दुई कुरा बताउन चाहन्छु:

https://youtu.be/YzJn6d4eSeI?si=lbI_hrxyP_vYYzMD

अध्यारो अज्ञानताको युगबाट उज्यालो चेतनाको युगमा प्रवेशको शुभ मुहुर्तको सन्देश आज सृष्टि, ब्रह्माण्ड, प्रकृति, समय र जननीको आज्ञाबाट साझा गरिरहेको छौँ ! उल्का माता परिवर्तन अत्यन्तै तीव्र गतिमा चाहनुहुन्छ, माताको आज्ञालाई सिरोधार्य गर्दै यहाँलाई कर्म आउनेछ जसको ७२ घण्टाभित्र यहाँले कार्य सुरु यहाँको कल्याणको लागि हार्दिक अनुरोध गर्दछौँ। उल्का माता को हुनुहुन्छ ? सबै मानव जातिलाई सावधानीपूर्वक बताइदिनु हुन श्रद्धे ज्योतिषगणज्यूहरूलाई हार्दिकतापूर्वक विनम्र अनुरोध गर्न चाहन्छौं।

परिवर्तन अपरिहार्य छ-यो सृष्टिको नियम हो।

जय सृष्टि ! जय चेतना ! जय समय !

जय मित्रता ! जय नेपाली जाति !

सेवक
कवीन्द्रराज सिटौला “जिज्ञासु”
कवि, आध्यात्मिक साधक , मित्र तथा प्रेम यात्री

स्मरण रहोस् गत हप्ता उनले सत्यचेतना युगमा प्रवेश गर्दैछौं भनेर जानकारी गराएका थिए।

हामी सत्य-चेतना युगमा प्रवेश गर्दैछौं!




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.