आन्दोलन, परिवर्तन र लोकतन्त्र
विश्वको इतिहास हेर्ने हो भने कुनै पनि देशका आन्दोलन नभइ परिवर्तन भएको छैन। विशेष गरी लोकतन्त्र स्थापनाका लागि विश्वका विभिन्न मुलुकमा ठूला ठूला आन्दोलन हुने गरेका छन्। किनभने समकालीन विश्वमा लोकतन्त्र भन्दा अर्को उत्तम व्यवस्था छैन।
तर, आन्दोलपछि लोकतन्त्र र लोकतन्त्रपछि फेरि आन्दोलन निरन्तर चलिरहको छ? यो बुझ्न आवश्यक छ। सुरुका दिनमा प्रजातन्त्र भनिदै आएको यो व्यवस्था यतिबेला लोकतन्त्रको नामले परिचित छ।
आन्दोलन, प्रजातन्त्र, लोकतन्त्र, व्यवस्था जे सुकै भएपनि सबैभन्दा ठूलो विषय भनेको आन्दोलन, प्रजातन्त्र र व्यवस्था हाँक्ने ब्यक्ति, समूह र जमातको सोच हो।
आन्दोलनपछि आएको प्रजातन्त्र र व्यवस्था जतिसुकै राम्रो होस् तर देश हाँक्ने नेताहरुको सोच, उसको देशप्रतिको माया र प्रेम, राष्ट्रका जनतामाथिको उसको बिबेक, दया, माया र राष्ट्रको लागि समर्पित भइ राष्ट्रकै लागि मर्नपनि तयार हुने नेता भइ दिने हो भने व्यवस्था जुनसकै होस्, देशलाई केही फरक पर्दैन। र, देश सधैं समृद्धिको पथमा लम्किरहेको हुन्छ।
राम्रा र देशको लागि मरी मेट्ने मानिसलाई जनताले आन्दोलन गरेर कहीँ पनि र कतै पनि फालेका छैनन्। तर आन्दोलन गरी ल्याएको प्रजातन्त्र होस् वा जुनसुकै किसिमको व्यवस्था होस् नेता क्रुद्ध र निरंकुुश भए भने आन्दोलनमार्फत यस्ता नेतालाई सत्ताच्युत गराएकै छन्।
यो इतिहासको निरन्तरता हो र नव आगन्तुक युवाको आक्रोशको परिणाम हो। यसको ज्वलन्त उदाहरण दक्षिण एसिया र दक्षिण पूर्वी र पश्चिम एसिया हो।
जनताको हक हितको लागि यी क्षेत्रका राष्ट्रमा कैयौं आन्दोलन भए। प्रजातन्त्र लोकतन्त्र जे भएपनि आयो होला।
तर देशका शासक लोभी, पापी, स्वार्थी र ठूला राष्ट्रको बुइ चढी उनीहरुकै इसारामा आफूलाई नचाउने र देशको समृद्धिको कुनै वास्ता नराखी अकुत सम्पत्ति आर्जन गर्ने काममै व्यस्त रही जनतालाई प्रजातन्त्रको ललिपप देखाई जनता मार्ने काममा लागेका नेतालाई जनताले बेलाबेलामा फालेका छन्।
देशका नेता खराब भएकाले सिक्किम भारतमा बिलय भयो। पाकिस्तान टुक्रिएर बंगलादेश बन्न पुग्यो। श्रीलंकामा प्रजातन्त्रको लागि त्यस्तै बिद्रोह भयो। मलेसियामा त्यस्तै थियो। थाइल्याण्डमा त्यस्तै बिद्रोह भइरहेको छ।
भुटानमा अझै आन्दोलन सकिएको छैन। नेपालपनि यो कुराले पछि परेन। नेपाल त्यस्तो एउटा देश हो जहाँ ७५ वर्षदेखि प्रजातन्त्रको नाममा धेरै आन्दोलन भए। २००७ सालमा एकतन्त्रीय राणा शासन आन्दोलनद्वारा विस्थापित गराइ प्रजातन्त्र ल्याइयो।
नेता अदूरदर्शी भएकाले फेरि २०१७ सालमा राजाले कू गरी अर्को निर्दलीय पञ्चायती ब्यबस्था ल्याइयो।२०३६ सालमा आन्दोलन गरी ब्यबस्थानै बदल्ने बारे जनमत संग्रह गरियो। २०४७ सालमा संविधान नै बदली राजालाई संबैधानिक बनाइयो। तर देशलाई सही
दिशामा डोहोर्याउने सच्चा नेता नहुँदा फेरि २०५२ सालमा माओबादीको सशस्त्र द्वन्द्व सुरु भयो। जसमा हजारौ निहत्था नेपालीको हत्त्या भयो र देशमा फेरि एउटा नयाँ गणतान्त्रिक र लोकतान्त्रिक ब्यबस्थाको २०६२ ÷०६३ मा स्थापना भयो। आन्दोलनको बदलमा संविधानसभामार्फत २०७२ सालमा संविधान बनाइयो।
२०६२ देखि २०८२ साल भित्रमा देशका सारा नेता भ्रस्टाचार गरी जुगा झैं मोटाए र अर्थतन्त्रलाई नै चुनौती दिइ प्रत्येकले आफ्नो घरमा नोटका बिटा थुपार्ने काम गरे र आफूलाई सजिलो हुने किसिमको संविधानका धारा समाती मनोमानी शासन गर्न थाले।
यो सबै कुरा जनताहरुमा असैह्य भएको थियो। के थाहा कुन बेला कहाँ के हुन्छ भन्ने कुरा। “अति सर्बत्र बर्जयेत” वा अति मा खती अबश्य हुन्छ भने झैं अकस्मात २०८२ भाद्र २३ गते बिहान देशका नव युवा युवती जेन-जीको नामले माइतीघर मण्डलादेखि बानेश्वर संसद भवनसम्म एकनासको भिड उपस्थित गराई सामाजिक सञ्जाल बन्दको विरोध, देशमा भ्रष्टाचार, बेथिति, कुशाशन, दण्डहीनताको विरोधमा उत्रिए।
उनीहरुले सुशासन मागेका थिए। भ्रष्टाचार अन्त्यको माग गरेका थिए। तर तत्कालीन सरकारले उनीहरुको टाउको र छातीमा ताकी ताकी गोली बर्सायो। गोली लागे र एकै दिन १९ युवाले सहादत प्राप्त गरे।
युवाहरुमाथि सरकारले गोली बर्साउन थालेपछि त्यसको भोलिपल्ट अर्थात भदौ २४ गते आन्दोलनले उग्ररुप लियो। त्यसको विरोधमा सरकारले शासन गर्ने थलो सिंहदरबार, संसद भवन, सर्वोच्च अदालतमा आगलागी हुन पुग्यो।
प्रदर्शनकारीले भ्रष्टाचार गरि राष्ट्रको ढुकुटी दोहन गर्ने सारा नेताको घर महलमा आगो लगाए। प्रहरी कार्यालय र बिटहरु जलाइए, भाटभटेनी जस्ता बिशाल बजारहरु जलाएर नष्ट गरे। देश आगोले जलेको थियो।
देश नै जल्न थालेपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र उनका मन्त्रीहरु हेलिकप्टर चढेर भाग्न थाले। आन्दोलनले सरकार विस्थापित गरेपछि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा २०७२ कै संविधानमाथि टेकेर सरकार गठन भयो। सो सरकारले संसद बिघटन गरी फागुन २१ गते चुनाव गराउने मिति घोषणा गरेको छ।
वास्तवमा जनताको आन्दोलनबाट आएको सरकारले पुरानो संबिधान चिन्न सक्तैन। उसले चिन्ने भनेको जेन-जी पुस्ताको आन्दोलनको माग र भ्रष्टहरुलाई कारवाही गर्नुपर्ने हो।
अकुत सम्पत्तिको छानविन गरी जनसमक्ष उजागर गर्ने र ती सबैबाट आएको रकम देशको ढुकुटीमा दाखील गरी अस्पताल, स्कुल, कलेज, गाउँ घरका पूल पुलेसा बनाउने र उत्पादनमुखी काममा मात्रै प्रयोग गर्नुपर्छ।
















Facebook Comment