राम्रो आम्दानी हुने भएपछि कागती खेतीमा आकर्षण

डिसी नेपाल
१६ असोज २०८२ १५:५१
28
Shares

रामेछाप । राम्रो आम्दानी हुन लागेपछि रामेछापका कृषकहरू कागती खेती तर्फ आकर्षित भएका छन्।

अमिलो जातको फल कागतीको बजारमा उच्च माग र राम्रो मूल्य भएपछि किसानहरू त्यस तर्फ आकर्षित भएका हुन्।

एक पटक लगाएपछि वर्षौँसम्म फल दिने र बजारको राम्रो सम्भावना भएपछि अन्य फलफूल र खेती भन्दा कागतीको खेती राम्रो भएको मन्थली नगरपालिका५ सुनारपानीका भरत कार्की बताउँछन्। जङ्गली जनावरले दुःख पनि नदिने, एक पटक लगाएपछि सामान्य गोडमेल र मल दिँदा हुने भएकोले कागती खेती लगाएको उनले बताए।

बाँदरले दुःख दिएर अन्य बाली लगाएर खान नदिने जमिनमा समेत कागतीको राम्रो खेती गर्न सकिने कार्कीले बताए। कागतीको बोटमा काँडा हुने र यसको फल पनि अमिलो हुने भएको बाँदरले नचलाउने उनले जानकारी दिए।

भरतले आफ्नो २० रोपनी बारीमा एक हजार बोट कागती लगाएका छन्। धेरै पानी पनि आवश्यक नपर्ने भिरालो जमिनमा समेत लगाउन सकिने कागती खेतीबाट वार्षिक ६ लाख रुपैँया बढी आम्दानी हुने उनले बताए।

सिजनको बेलामा पनि कागती एक सय रुपैँया किलोमा बिक्री हुने उनले बताए। राम्रो भाउ आउँदा २ सय ५० रुपैँया किलोमा सम्म कागती बिक्री हुने उनले जानकारी दिए। ‘यो टिप्ने बित्तिकै अन्य फलफूल, तरकारी जस्तो बिग्रिँदैन, बजारमा बिक्री भएन भने पनि, रस, अमिलो बनाएर वा अचार बनाएर पनि बिक्री गर्न सकिन्छ, त्यसमाथि यसको बजारमा साँधैभरि माग हुन्छ’, कार्कीले भने।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.