सङ्खुवासभामा निःशुल्क यातायात सेवा
किमाथाङ्का । सङ्खुवासभामा दसैं–तिहारको अवसरमा युवाहरूले छोरीचेलीलाई माइत र मावल आवतजावतमा सहज बनाउन निःशुल्क यातायात सेवा सुरु गरेका छन्।
जिल्लामा ‘दसैंतिहार चेलीलाई उपहार अभियान’ नाम दिइएको यो कार्यक्रम यही असोज १५ गतेदेखि सुरु गरिएको हो। माइत र मावल आवतजावतमा सहज बनाउन निःशुल्क यातायात सेवा सुरु गरिएको संयोजक मेघराज तोलाङ्गीले बताए।
निःशुल्क सेवा दसैंको पूर्णिमासम्म उपलब्ध हुनेछ। माइत र मावल आवतजावतमा सहज बनाउने अभियानमा छ वटा मोटरसाइकल रहेका छन्। दुईवटा चारपाङ्ग्रे सवारी साधनमार्फत अहिलेसम्म दुई दर्जनभन्दा बढी छोरीचेलीलाई सुरक्षित रूपमा गन्तव्यसम्म पुर्याइएको छ। आज पनि बिहानैदेखि युवाहरूले छोरीचेलीलाई माइत मामल आवतजावत गराइरहेको संयोजक तोलाङ्गीले बताए।
विशेषगरी गाउँघरमा सवारी साधनको पहुँच कम भएका र आर्थिक अवस्था कमजोर भएका परिवारलाई ठूलो राहत प्रदान गरेको उनको भनाइ छ। माइती–मावली सेवाको यो पहलले स्थानीयको मन जितेको छ। अभियानलाई समर्थन गर्न स्थानीय दाताहरुले युवालाई पेट्रोल भरिदिने र अन्य सहयोग प्रदान गर्ने गरेको संयोजक तोलाङ्गीले बताए।
यो अभियानले सामाजिक उत्तरदायित्व र निःस्वार्थ सेवाको भावनालाई प्रोत्साहन गरेको छ। समुदायको साथ सहयोग पाउँदै गएको अभियानले यस वर्ष अझ बढी छोरीचेलीलाई सहज र सुरक्षित आवतजावत उपलब्ध गराउने अपेक्षा गरिएको छ।







डिसी नेपाल







Facebook Comment