झापामा ४५० घर डुबानमा

डिसी नेपाल
१९ असोज २०८२ १२:२४
52
Shares

बनियानी । यहाँ बाढीले ४५० घर डुबानमा परेका छन्। असोज १८ गतेदेखिको अविरल वर्षाका कारण नदीमा आएको बाढी बस्तीमा पस्दा जिल्लाका विभिन्न स्थानका घर डुबानमा परेका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए।

‘नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा उद्धार कार्य जारी छ’, उनले भने, ‘करिब १०० घरका मानिसलाई स्थानान्तरण गरिसकेका छौं।’ मेचीनगर नगरपालिका–६ स्थित कालीखोलामाथिबाट पानी बढ्दा पूर्वपश्चिम लोकमार्ग अवरुद्ध भएको उनले बताए।

त्यस्त, शिवसताक्षी नगरपालिका–१० स्थित सुकुना खोलामा आएको बाढीले ह्युमपाइप बगाउँदा आवागमन अवरुद्ध भएको छ। अवरुद्ध सडक खुलाउने कार्य भइरहेको प्रवक्ता खड्काले जानकारी दिए। झापा गाउँपालिका–२ स्थित सुगाबथानमा ठूलो माइखोला बस्ती पस्दा ५६ घरधुरीका १४० जना विस्थापित भएका छन्। उनीहरुको उद्धार गरी स्थानीय कुवाडी माविमा स्थान्तरण गरिएको छ।

त्यस्तै शिवसताक्षी–४, ५, ६ र ७ मा माई खोलाको बाढी पस्दा ३५० घर डुबानमा परेका छन्। उनीहरुको उद्धार कार्य भइरहेको छ। झापा–१, ६ र ७ मा माइखोलाको बाढी पसेको छ। बाढीपीडितको उद्धार कार्य भइरहेको प्रवक्ता खड्काले बताए।

यस्तै भद्रपुर नगरपालिका–५ मा करिब २५ घर डुबानमा परेपछि उनीहरु आफन्तकामा शरण लिएर बसिरहेका छन्। मेचीनगर–१५ स्थित सतिघट्टा र ज्यामिरगढीकोबीचमा पर्ने एक बस्ती डुबानमा पर्दा यहाँका करिब २५ घर जोखिममा परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। बाढीपीडितहरुको उद्धार र स्थानान्तरण गर्ने काम जारी रहेको जनाइएको छ।
–––




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.