बाढी र पहिरोमा परी १९ जनाको मृत्यु : आठ जना बेपत्ता, ११ घाइते

डिसी नेपाल
१९ असोज २०८२ १२:५२
36
Shares

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले असोज १७ गतेदेखि देशभर जारी अविरल वर्षाका कारण हालसम्म १९ जनाको मृत्यु भएको जनाएको छ। प्राधिकरणले आइतबार १२ बजेसम्मको अवस्थाबारे जानकारी गराएको हो।

प्राधिकरणका अनुसार वर्षासँगै आएको प्राकृतिक विपत्तिका कारण ८ जना बेपत्ता र ११ जना घाइते भएका छन्।

मृत्यु भएकामध्ये सबैभन्दा बढी इलाममा १४ जनाले ज्यान गुमाएका छन् । इलामका ती सबैको मृत्यु पहिरोका कारण भएको पुष्टि गरिएको छ।

त्यस्तै, खोटाङ र उदयपुरमा खोलाले बगाउँदा एक–एक जनाको मृत्यु भएको छ भने रौतहटमा चट्याङ लागेर तीन जनाको ज्यान गएको छ।

बेपत्तामध्ये इलाम र रसुवामा चार–चार जना रहेका छन्। इलाममा पहिरोले बेपत्ता बनाएका चार जनाको खोजी भइरहेको छ भने रसुवामा खोलाले बगाएर बेपत्ता बनाएको चार जनाको उद्धार प्रयास जारी छ।

वर्षासँगैको विपत्तिमा ११ जना घाइते भएका छन्। इलाममा पहिरोका कारण ४ जना, भोजपुर र खोटाङमा चट्याङ लागेर ३–३ जना, तथा मकवानपुरमा एक जना घाइते भएका छन्।

सरकारले सम्बन्धित स्थानीय निकाय, सुरक्षा निकाय र उद्धारकर्मीहरूलाई उद्धार तथा राहत कार्यमा परिचालन गरेको जनाएको छ। गृह मन्त्रालयले विपद् प्रभावित क्षेत्रमा सतर्कता अपनाउन आम नागरिकलाई आग्रह गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.