सिरहामा बाढी र डुबानको जोखिम कायमै

डिसी नेपाल
१९ असोज २०८२ १९:०४
40
Shares

सिरहा । लगातारको वर्षाले सिरहामा बाढी र डुबानको जोखिम कायमै रहेको छ । हालसम्म ठूलो जनधनको क्षति नभए पनि प्रशासन र सुरक्षा निकायहरूले उच्च सतर्कता अपनाउन आग्रह गरिरहेका छन्।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक अन्नतराम शर्माका अनुसार वर्षाका कारण केही क्षेत्रमा सवारी आवागमन प्रभावित भएको । हुलाकी सडकअन्तर्गत सहजा खोलामा पानीको बहाव बढेपछि औरही र बरियारपट्टि चौकबाटै सवारीसाधनलाई ‘डाइभर्ट’ गरिएको छ । प्रहरी टोलीहरू संवेदनशील स्थानहरूमा परिचालन गरिएका छन्।

प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले कमला, गागन, बलान, सरे, खुट्टीलगायतका नदी तथा खोलामा पानीको बहाव सामान्य भए पनि लगातारको वर्षाका कारण बहाव कुनै बेला पनि बढ्न सक्ने खतरा रहेको बताए। ‘हामी सबै जोखिमयुक्त क्षेत्रहरूमा निगरानी गरिरहेका छौँ । नागरिकलाई सतर्क रहन अनुरोध छ,’ उनले भने।

प्रमुख जिल्ला अधिकारीसहितको टोलीले आज कमला नदी क्षेत्रको निरीक्षण गरेको छ। कतिपय जोखिमयुक्त ठाउँमा कटान रोक्न बालुवाले भरिएका बोराहरूको प्रयोग गरी अस्थायी बाँध बनाइएको प्रजिअ अधिकारीले जानकारी दिए।

यहाँका स्थानीय तहले पनि सक्रियता देखाएका छन्। लहान नगरपालिका प्रमुख महेशप्र्रसाद चौधरीले आज वडा नं १६ को झिरहरि खोला र वडा नं ४ का सुन्दरपुर, इस्लामपुर बस्तीको निरीक्षण गरेका छन्।

नगरपालिकाले पानी जमेको ठाउँहरूमा निकासको काम गरिरहेको नगरप्रमुख चौधरीले जानकारी दिए।

यस्तै, स्थानीय प्रशासनले नदी तथा खोलाका आसपासका बासिन्दालाई सतर्क रहन, जोखिम महसुस भए सुरक्षित स्थानमा जान आग्रह गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.