काठमाडौं महानगरद्वारा बाढी प्रभावित क्षेत्रमा सफाइ सुरु
काठमाडौं । काठमाडौं महानगरपालिकाले बाढी प्रभावित क्षेत्रमा सरसफाइ सुरु गरेको छ।
शुक्रबारदेखिको अविरल वर्षाका कारण प्रभावित बल्खु, टेकु, विष्णुमती करिडोरलगायत क्षेत्रमा नगर प्रहरी र सफाइकर्मीको सहायताले सफाइ तथा हिलो व्यवस्थापनको काम भइरहेको महानगरले जनाएको छ।
नगर प्रहरी बलका नायब उपरीक्षक मीनबहादुर थापाका अनुसार आज बिहानदेखि महानगरपालिकाको वातावरण व्यवस्थापन विभागका एक सय जना कामदार, तीन वटा जेसिभी, तीन वटा जेट मेसिन र डम्पर प्रयोग गरी प्रभावित क्षेत्रमा काम भएको छ।
बल्खु तरकारी बजार, साझा पेट्रोल पम्प अगाडि, टेकु दोभान, बङ्सीघाट, च्यासल, शङ्खमूल, नरेफाटको लालीगुराँस चोक तथा विष्णुमती कोरिडोर क्षेत्रमा विशेष रूपमा बाढीजन्य सफाइको काम गरिएको थापाले जानकारी दिनुभयो । बङ्सीघाट र टेकु दोभान क्षेत्रमा अत्यधिक हिलोका कारण मेसिनले समेत काम गर्न नसक्दा आजको काम अधुरो रहेको उनले बताए।
‘हिलो पूरै पानी पानी भएको छ । साबेलले निकाल्न र मेसिनले समेत सोहोर्न नसक्ने अवस्था छ । त्यसैले आज केही ठाउँमा काम गर्न सकिएको छैन । घाम लागेमा भोलिदेखि बाँकी रहेका सबै काम गर्ने तयारी छ’, थापाले भने।







डिसी नेपाल







Facebook Comment