जुम्लामा दसैँको अवधिमा करिब १० करोडको खसी तथा भेडाको कारोबार
जुम्ला। यस वर्षको दसैँको अवधिमा करिब रु १० करोड बराबरको कारोबार भएको छ। सदरमुकाम खलङ्गा बजारलगायत यहाँका स्थानीय तहमा भएको खसी र भेडा खरिद बिक्रीबाट उक्त परिमाणमा कारोकार भएको हो।
चन्दननाथ नगरपालिका पशुपन्छी विकास शाखाका प्रमुख वीरबहादुर रावतले भने, ‘तीमध्ये स्थानीय भेडा रु नौ करोड ३४ लाख ८८ हजार, खसी ३७ लाख ४० हजार खरिद बिक्री भएको हो। जिल्लाभर करिब रु दुई करोड अन्य भेडा बिक्री भएको अनुमान गरिएको छ। यस्तै, नगरपालिका क्षेत्रबाट रु २६ लाख ७७ हजारको राँगो, भैँसी खरिद बिक्री भएको छ।’
यस वर्ष दसैँका लागि मात्र पाँच हजार ८४३ भेडा, २५६ खसी र ६३ राँगो खरिद बिक्री भएको बिक्री भएको तथ्यांक छ। दसैँमा स्थानीय भेडाको अधिकतम मूल्य रु २३ हजार, न्यूनतम मूल्य रु नौ हजार र औसत मूल्य रु १६ हजार तोकिएको पशुपन्छी विकास शाखा प्रमुख रावतले बताए।
खसीको अधिकतम मूल्य रु २२ हजार, न्यूनतम मूल्य रु आठ हजार, औसत मूल्य रु १५ हजार रहेको छ। यस्तै, राँगोभैँसीको अधिकतम मूल्य रु ६१ हजार, न्यूनतम मूल्य रु २४ हजार र औसत मू्ल्य रु ४२ हजार ५०० रहेको छ।
यहाँ मुगु, कालीकोट, दैलेख, बाजुरालगायत जिल्लाबाट खसी, भेडा र राँगोभैँसी ल्याइएको थियो। गत वर्षको दसैँमा रु १६ करोड ३२ लाख ३१ हजार मूल्य बराबरका नगरपालिकाले जनाएको छ। गत वर्षभन्दा यो वर्ष भेडा र खसीको मूल्य औषत रूपमा ३० प्रतिशतले घटेको यहाँका स्थानीय व्यापारीले बताएका छन्।







डिसी नेपाल








Facebook Comment