पहिरोपीडित इलाममा पुग्यो कोशी सरकारको राहत
विराटनगर। लगातारको वर्षाले ठूलो क्षति बेहोरेको इलाम जिल्लामा कोशी प्रदेश सरकारले हवाई माध्यमबाट पहिलो चरणको राहत पठाएर उद्धार अभियानलाई तीव्रता दिएको छ। स्थलमार्ग अवरुद्ध भएपछि प्रदेश सरकारले नेपाली सेनाको हेलिकप्टर प्रयोग गरी खाद्यान्न र अत्यावश्यक सामग्री बिहानै इलाम पुर्याएको हो।
मुख्यमन्त्री हिम्मत कार्कीले राहत कार्यलाई तीव्र र प्रभावकारी ढंगले अघि बढाउने प्रतिबद्धता जनाए। उनका अनुसार प्रदेश सरकारले तत्काल उद्धारपछि विस्थापित परिवारको बसोबास र दैनिक आवश्यक सामग्री व्यवस्थापनलाई प्राथमिकता दिएको छ।
प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव रामप्रसाद आचार्यका अनुसार चामल, दाल, आलु, तेल, नुन, बेसार, ब्ल्याङ्केट, सिरानी, म्याट्रेस र त्रिपाल लगायतका सामग्रीहरू इलामका विभिन्न प्रभावित क्षेत्रमा पठाइएको छ।
सचिव आचार्यले भने, ‘इलाममा सडक सञ्जाल बाढी र पहिरोले अवरुद्ध भएपछि राहत पुर्याउन एक मात्र विकल्प हवाई मार्ग थियो। अहिले माङ्सेबुङ र सदरमुकाम इलाममा पहिलो चरणको सामग्री पुगेको छ, थप सामग्री पठाउने तयारी भइरहेको छ।’
असोज १७ र १८ गतेको अविरल वर्षापछि आएको बाढी–पहिरोले इलामको सूर्योदय नगरपालिका, सन्दकपुर, माङ्सेबुङ, माईजोगमाई, देउमाई, फाकफोकथुम लगायतका स्थानीय तहमा मानवीय तथा भौतिक क्षति पुर्याएको थियो।
प्रदेश सरकारले इलामलाई ‘उच्च प्राथमिकता क्षेत्र’ घोषित गर्दै राहत तथा पुनःस्थापनाको दीर्घकालीन योजना बनाउने तयारी समेत गरेको छ। मुख्यमन्त्री कार्कीले पीडित परिवारलाई तत्काल राहत र दीर्घकालीन पुनःस्थापनाका लागि प्रदेश सरकार प्रतिवद्ध रहेको बताए।
बाढीपहिरोका कारण ठूलो क्षति व्यहोरेको इलाममा मात्रै ३८ जनाले ज्यान गुमाएका छन्।







डिसी नेपाल







Facebook Comment