राष्ट्रप्रमुखबाट गरिने नवदुर्गाको विशेष पूजा परम्पराले निरन्तरता पाएन
भक्तपुर। कोजाग्रत पूर्णिमाको दिन हरेक वर्ष राष्ट्रप्रमुखको सवारी भई नवदुर्गाको पूजा र प्रसाद ग्रहण गर्ने कार्य पहिलोपटक यस वर्ष टुटेको छ।
आज दिउँसो ४ः०० बजे नवदुर्गाको पूजा एवं प्रसाद ग्रहणका लागि राष्ट्रपति रामचन्द्र पौडेलको सवारी हुने भन्दै जिल्ला प्रशासन कार्यालय भक्तपुरले आवश्यक तयारी गरे पनि अचानक राष्ट्रपति आउने कार्यक्रम स्थगित भएको थियो।
राष्ट्रपतिको सट्टा उनको प्रतिनिधिका रूपमा शीतल निवासबाट ४ः१५ उनका स्वकीय सचिव सुशील तिमिल्सिना आएका थिए। उनले राष्ट्रपतिका लागि नवदुर्गाको फूल, माला, प्रसाद, बिमिरो र पञ्चरङ्गी धागो लिएर गए।
स्वकीय सचिव तिमिल्सिनाले अचानक राष्ट्रपतिको स्वास्थ्यमा समस्या आएपछि उनको सवारी रद्द गरिएको जानकारी दिए। त्यसपछि सरकारी पूजाको रूपमा नवदुर्गामा आज गुठी संस्थानको तर्फबाट संस्थानका प्रमुख शैलेशराज कुँवरले पूजा गरेका छन्।
राष्ट्रपतिको सवारी हुँदा गुठी संस्थानले तयार पारेको पूजा सामग्रीबाट नवदुर्गाको पूजा गर्ने, प्रसाद ग्रहण गर्ने र ३३ नवदुर्गा देवगणलाई राष्ट्रपति कार्यालयबाट ल्याएको दक्षिणा दिने प्रचलन रहेको थियो। यसवर्षको दक्षिणा भने जिल्ला प्रशासन कार्यालयमार्फत देवगणलाई केही दिनमा पठाइने जनाइएको छ।
नवदुर्गा देवगण नाइके बृजेश वनमालाले राष्ट्रप्रमुखबाट हुँदै आएको नवदुर्गाको पूजा ३८ वर्षमा पहिलोपटक टुटेको बताए। नवदुर्गा जात्रा व्यवस्थापन संस्थाका प्रमुख सल्लाहकार नारायणमान वनमालाले पहिलोपटक यस वर्ष राष्ट्रप्रमुखको हातबाट हुने पूजाले निरन्तरता पाउन नसकेको बताए।
स्थानीय समाजसेवी एवं ज्येष्ठ नागरिक अनन्त धौभडेलले तान्त्रिक शक्ति रहेको र आफैँ उत्पत्ति भएको किंवदन्तीअनुसार राष्ट्रप्रमुखको पूजाले देशको हित हुने मान्यताअनुसार तत्कालीन राजा वीरेन्द्रको पालामा उक्त परम्परा सुरु भएको जानकारी दिए।
उनले भने, ‘दसैँको अन्तिम दिन कोजाग्रत पूर्णिमाको दिन राष्ट्रप्रमुखले नवदुर्गा भवानीको पूजाअर्चना गरी टीका तथा प्रसाद ग्रहण गर्ने र दरबारस्क्वायर गई तलेजुको प्रसाद ग्रहण गर्ने प्रचलन २०४४ सालबाट सुरू भएको हो। त्यो परम्पराले यस वर्ष निरन्तरता पाउन सकेन।’
यसअघि भने राष्ट्रप्रमुखको हैसियतमा राष्ट्रपति पौडेलको आगमन हुने गरेको थियो। यदि राष्ट्रपति नआए उपराष्ट्रपति आउने प्रचलन थियो।







डिसी नेपाल







Facebook Comment