जापानीज इन्सेफ्लाइटिसबाट मृत्यु हुनेको सङ्ख्या ६ पुग्यो

डिसी नेपाल
२२ असोज २०८२ १३:४८
224
Shares

चितवन । जिल्लामा जापानीज इन्सेफ्लाइटिसका कारण मृत्यु हुनेको सङ्ख्या छ पुगेको छ । साउनयता हालसम्म उनीहरूको मृत्यु भएको हो।

जनस्वास्थ्य कार्यालयका अनुसार मृत्यु हुनेमा दुई जना भरतपुर महानगरपालिका, एक जना खैरहनी नगरपालिका, दुई जना राप्ती नगरपालिका र एक कालिका नगरपालिकाका रहेका छन्। पछिल्लो पटक खैरहनी वडा नम्बर ४ की महिलाको यो रोगका कारण मृत्यु भएको कार्यालयका किट नियन्त्रक राम केसीले जानकारी दिए।

जिल्लामा हालसम्म १७ जनामा यो रोगको सङ्क्रमण देखा परेको छ । त्यसमध्ये १० महिला हुन भने सात पुरुष रहेका छन्। उनीहरुमध्ये तीन जना १५ वर्षमुनिका, पाँच जना १५ देखि ६० वर्षभित्रका र नौ जना ६० वर्षमाथिका रहेका छन्। सङ्क्रमितमध्ये १५ जनाले खोप नलगाएको र दुई जनाले खोप लगाएको अवस्था अस्पष्ट रहेको केसीले जानकारी दिए।

सङ्क्रमितमध्ये सात जना भरतपुरभित्रका रहेका छन् । मृत्यु भएकामध्ये एक ८९ वर्षका, अर्का एक जना ८१ वर्षका र दुई जना ७० वर्षका रहेका छन्। एक जना ३९ वर्षीय र अर्का एक जना ४२ वर्षका रहेको उनले जानकारी दिए।

यो रोग क्युलेक्स जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने कीटजन्य सरुवा रोग हो। यो लामखुट्टे घर बाहिर बस्न रुचाउने, घर बाहिर नै टोक्ने, साँझ र बिहान बढी सक्रिय हुने गर्दछ। यो लामखुट्टेले सुँगुर, बङ्गुर, हाँसजस्ता पशुपक्षीलाई टोक्यो भने सर्दछ। धानखेतीमा समेत यस लामखुट्टेले अण्डा पारेर लार्भा बनाउने गरेको कार्यालयका प्रमुख दिनेश रुपाखेतीले जानकारी दिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.