खुल्यो शुक्लाफाँटा निकुञ्जमा सफारी

डिसी नेपाल
२६ असोज २०८२ २२:५९
12
Shares

कञ्चनपुर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा जङ्गल सफारी खुला गरिएको छ। निकुञ्ज प्रशासनले सोमबारदेखि पर्यटकका लागि शुक्लाफाँटामा जङ्गल सफारी खुला गरेको हो।

वर्षाले बाटो बिग्रिएपछि गत असारमा बन्द भएको निकुञ्ज सफारी यस वर्ष ढिलो गरी खुला गरिएको निकुञ्जका सूचना अधिकारी पुरुषोत्तम वाग्लेले जानकारी दिए।

वर्षाले ब्रिगेको बाटो र पुल मर्मत् गर्नुपर्ने भएकाले निकुञ्जमा सफारी हुन सकेको थिएन”, उनले भने, “अहिले पनि मर्मत कार्य भइरहेको छ। तोकिएको रुटमा मात्रै सफारी खुला गरिएको हो।” उनका अनुसार अहिले निकुञ्ज सफारीका लागि दुई रुट मात्रै खुला गरिएको छ।

अन्य रुटमा मर्मत कार्य चलिरहेकोले पर्यटकले मझगाउँ बठनिया तालबाबा ताल दुधिया क्याम्प रानी ताल हँुदै सिंहपुरसम्म पुगि सोही रुटबाट फिर्ता हुनुपर्ने छ। त्यसैगरी मझगाउँ पलियाफाँटाहात्तिसार चोक बर्कोला पोष्टसम्म पुगि सोही रुटबाट फिर्ता हुने गरी निकुञ्ज सफारी खुला गरिएको निकुञ्ज प्रशासनले जनाएको छ।

विगतका वर्षमा असोज १ गतेदेखि निकुञ्ज सफारी खुला गरिने भएपनि यस पटक वर्षाले निकुञ्जभित्रका पर्यटक पथ विग्रेका कारण ढिलो गरी सफारी सुरु भएको हो। तीन सय ५ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज बाह्रसिँगाका लागि प्रसिद्ध मानिन्छ। निकुञ्जमा दुई हजार ३२३ बढी बाह्रसिँगा छन्।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्रका ताल र नदी आसपासमा विभिन्न प्रजातिका चराचुरङ्गी देख्न पाइन्छ। बन्यजन्तु मात्रै नभई दुर्लभ वनस्पतिका लागि पनि शुक्लाफाँटा प्रसिद्ध छ। निकुञ्जमा ५६ प्रजातिका घस्रने वन्यजन्तु रहेका छन भने १५ प्रजातिका उभयचर, ८८ प्रजातिका माछा, १११ प्रजातिका पुतली, ४६१ प्रजातिका चरा र ५६ प्रजातिका स्तनधारी वन्यजन्तु रहेको निकुञ्ज कार्यालयले जनाएको छ।

विश्वमै दुर्लभ मानिएको सारस, खरमजुर, सिमतित्रा, राजधेश र लेसर भुडीफोर जस्ता वन्यजन्तु पनि निकुञ्जमा छन। जसमा पाटेबाघ, एकसिङ्घे गैँडा, हात्ती बाह्रसिँगा, कृष्णसार, सालक, निलगाई, चितुवा, चितल, लगुना, रतुवा, हिसपीड खरायो, बदेललगायत रहेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.