व्यावसायिक सयपत्री फूल उत्पादन
चितवन। तिहार नजिकिँदै गर्दा सयपत्री फूलको माग बढ्न थालेको छ । विस्तारै माग बढ्दै जाँदा व्यावसायिक रुपमा फूलखेती गर्ने किसानहरुमा उत्साहा थपिँदै गएको छ । गोरखाबाट चितवन आएर बिगत पाँच वर्षदेखि सयपत्री फूलखेती गर्दै आएका बुधबहादुर गुरुङ अहिले यो पेसाबाट सन्तुष्ट छन्।
भरतपुर महानगरपालिका–८ गौरीगञ्जमा विगत पाँच वर्षदेखि व्यावसायिक रुपमा यो सयपत्री उत्पादन र बजारीकरण गर्दै आएका छन् । उनले भने “मैले पुष्प व्यवसाय गरेको १० वर्ष भयो । अहिले सयपत्री खेती गरेको पाँच वर्ष भयो । राम्रो आम्दानी दिने गरेको छु ।” गौरीगञ्जमा १८ कठ्ठा र वरपर गरी एक बिघा भन्दाबढी क्षेत्रफलमा उनले सयपत्री फूलखेती गरेका छन्। सुरुवाती वर्षमा राम्रो आम्दानी लिन नसके पनि अहिले सयपत्री फूलबाट आँफू सन्तुष्ट रहेको उनले बताए।
जग्गा भाडामा लिएर व्यावसायिक रुपमा फूलखेती गर्दा सयपत्रीबाट मात्रै मनग्य आम्दानी हुने उनको भनाइ छ । उनले भने “हरेक सिजनमा रु चार देखि पाँच लाख सम्मको आम्दानी सयपत्री फूल बेचेर गरेको छु ।” यो मौसम फूलको राम्रो व्यापार हुने सिजन हो ।
अन्य समयमा यही बारीमा तिल, मकै जस्ता खेती गर्दै आएको उनले सुनाए। यही व्यवसायबाट परिवार चलाउने गरेको उनले बताए। पूर्खादेखि फूलखेती गर्दै आएकाले आँफूले पनि भरतपुर महानगरपालिका–७ कृष्णपुरमा नर्सरी सञ्चालन गरेर काम गर्दै आएको सुनाउँदै उनले अहिले परिवारका सदस्यबाटै काम गर्दै आएको बताए।
जिल्लामा अहिले एक सय भन्दाबढी किसानले व्यावसायिक रुपमा सयपत्री फूलखेती गरेका छन् । उनीहरुले जिल्लाको १७ हेक्टर क्षेत्रफलमा फूलखेती गरेको कृषि विकास कार्यालय चितवनकी बागबानी विकास अधिकृत स्वस्तीका चौहानले जानकारी दिए । उनका अनुसार विगत तीन वर्षमा सयपत्रीखेती गर्ने किसान र क्षेत्रफल दुवै घटेको छ । आर्थिक वर्ष २०८०-८१ मा २२ हेक्टर क्षेत्रफलमा फूलखेती गरिएकोमा क्रमशः २० हेक्टर हुँदै १७ हेक्टरमा झरेको हो ।
उनले भने “गतवर्ष फूलखेती गर्ने किसानले लगाएको बिरुवामा कुकुर फूल भएका कारण उत्पादन भएन र किसानको सङ्ख्या घटेको हो ।” फ्लोरिकल्चर एसोसिएसन चितवनका सचिव सुलभ श्रेष्ठले यसवर्ष बाहिरी जिल्लामासमेत माला पठाउने गरी फूलखेती गरिएकोमा पानीका कारण समस्या भएको बताए।
उनका अनुसार विगत तीन दिन परेको पानीका कारण १० बिघा क्षेत्रफलमा लगाइएको सयपत्री फूलको बिरुवा मरेको छ । उनले भने “क्षेत्रफल बढाएका थियौँ तर पानीले सोचे जस्तो भएन ।” जिल्लाका लागि आवश्यक माला पुग्ने भए पनि बाहिरी जिल्ला पठाउने माला नहुने भएको उनले बताए । जिल्लामा मात्रै तिहारमा तीन लाख बढी माला बिक्री हुने उनले बताए । तिहारका लागि आवश्यक माला बाहिरबबाट खरिद गर्नुनपर्ने उनको भनाइ छ ।







डिसी नेपाल







Facebook Comment