दुई ठूला अन्तरदेशीय प्रसारण लाइन निर्माणको बाटो खुल्यो

डिसी नेपाल
३१ असोज २०८२ १३:३६
116
Shares

काठमाडौं। दुईवटा ठुला नेपाल-भारत अन्तरदेशीय प्रसारण लाइन निर्माणका लागि बाटो खुलेको छ।

बिहीवार बेलुका बसेको मन्त्रिपरिषद बैठकले इनरुवा-पूर्णिया ४०० केभी र दोधारा-बरेली ४०० केभी अन्तरदेशीय प्रसारण लाइन निर्माण गर्न ३ अर्ब रुपैयाँ बजेट स्वीकृत गरेसँगै प्रसारण लाइन निर्माणको बाटो खुलेको हो।

मन्त्रिपरिषदको बैठकले नेपाल विद्युत प्राधिकरण र भारतको पावर ग्रिड कर्पोरेशन अफ इण्डिया लिमिटेडको संयुक्त लगानीमा प्रसारण लाइन निर्माण गर्न नेपाल तथा भारत दुवै भूमिमा दुईवटा संयुक्त कम्पनीहरु स्थापना गर्ने र प्राधिकरणबाट क्रमश एक अर्ब र दुई अर्ब रुपैयाँ बराबरको स्वपुँजी लगानी गर्न अनुमति दिने निर्णय गरेको हो।

यसअघि गत माघमा नेपाल-भारत सचिवस्तरीय संयुक्त निर्देशक समितिको १२ औं बैठकले यी दुई परियोजना संयुक्त उपक्रममार्फत निर्माण गर्ने निर्णय गरेको थियो।

यस प्रसारण लाइनमा नेपालतर्फ ५१ प्रतिशत लगानी नेपाल विद्युत् प्राधिकरणको र ४९ प्रतिशत भारतको पावर ग्रीडको रहने निर्णय भएको थियो। भारततर्फ पनि सोही अनुपातमा लगानी हुने र संयुक्त कम्पनी स्थापना कार्य एक महिनाभित्र शुरू गर्ने सहमति भएको थियो।

इनरुवा-पूर्णिया ४०० केभी प्रसारण लाइनका लागि १ अर्ब रुपैयाँ र दोधारा-बरेली ४०० केभीका लागि २ अर्ब रुपैयाँ स्वपूँजी लगानी गर्ने सरकारको योजना छ।
ठूला क्षमताका अन्दरदेशीय प्रसारण लाइन निर्माणमा भएको ढिलाइले गर्दा विद्युत निर्यातमा समेत समस्या भएको गुनासोहरु बढेको समयमा सरकारकारल यस्तो निर्णय गरेको हो।

सरकारले उर्जा विकास मार्गचित्र २०८१ मार्फत सन् २०३५ सम्म २८ हजार ५०० मेगावाट विद्युत उत्पादन गर्ने र त्यसमध्ये १५ हजार मेगावाट निर्यात गर्ने लक्ष्य राखेको छ। साथै सरकारले आगामी १० वर्षभित्र भारतमा १० हजार मेगावाट विद्युत निर्यात गर्ने लक्ष्य समेत राखेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.