सर्लाहीमा खोलाले बगाएकी बालिका तीन दिनदेखि बेपत्ता, उद्धारमा सशस्त्रको गोताखोर टोली
सर्लाही । तीन दिनदेखि मनुष्मारा खोलामा डुबेर बेपत्ता धनकौल गाउँपालिका–३, हरकठवाकी ११ वर्षीया बालिका सोनी कुमारी साहको उद्धारका लागि शसस्त्रको गोताखोर सहितको टोली खटिएको छ।
हिजो साँझ अबेरसम्म खोजी गर्दा अवस्था पत्ता नलागेपछि आज बिहानै देखि पुनः गोताखोरसहितको टोली घटनास्थल पुगेर खोजि कार्य जारि राखेको छ।
इलाका प्रहरी कार्यालय बरहथवाका डीएसपी निरन्जन भट्टराईका अनुसार सोनी बिहीवार बिहान आमासँग लुगा धुन र नुहाउन गाउँ नजिकको उक्त खोलातिर गएकी थिइन्। बिहान करिब १० बजे खोलामा पुगेकी उनी दिउँसो १२ बजेतिर नुहाउने क्रममा खोलाले बगाएर बेपत्ता भएकी हुन्।
बालिकाकी आमा जयकुमारी साहका अनुसार आफू लुगा सुकाउन राखेको कपडा लिन किनारतिर पुगेको बेला छोरी खोलामा डुबेको देखेकि थिइन्। तत्काल उद्धारको प्रयास गरे पनि सफल हुन नसकेको उनले बताइन्। स्थानीय र प्रहरीले खोजी गरे पनि केही पत्ता नलागेपछि शुक्रबारदेखि सशस्त्र प्रहरी बल नेपालका गोताखोर टोली परिचालन गरिएको हो।
महोत्तरीको बर्दीवासबाट आएको नौ सदस्यीय टोली आज (शनिबार) बिहानैदेखि घटनास्थलमा खटिएर खोजि कार्य गरिरहेको छ। सशस्त्र प्रहरी नायब निरीक्षक भक्तबहादुर खत्रीका अनुसार शनिबार बिहानदेखि घटनास्थलदेखि करिब ७ सय मिटर तल महिनाथपुरस्थित पुलसम्म खोजी गरिए पनि बालिकाको अवस्था पत्ता लागेको छैन।
उनका अनुसार हालसम्म केही सुराकी भेटिएको छैन, उनले भने, ‘अब डुङ्गाको सहायतामा खोलाको गहिराइ र आसपासका क्षेत्रमा खोजिने छ।’







डिसी नेपाल







Facebook Comment