नेपालका युवाहरुमाथि हिंसा र दमन भइरहेको छ : उपमहासचिव ज्ञवाली

डिसी नेपाल
१ कार्तिक २०८२ १५:२०
32
Shares

मकवानपुर । नेपाल कम्युनिस्ट पार्टी (एमाले) मकवानपुर जिल्ला समितिद्वारा शुभ दीपावली, नेपाल संवत् र छठ पर्व २०८२ को अवसरमा विशेष कार्यक्रम आयोजना गरिएको छ।

मकवानपुरको पशुपति मन्दिर सभाहलमा सम्पन्न कार्यक्रममा पार्टीका उपमहासचिव प्रदीप ज्ञवाली प्रमुख अतिथि थिए।

कार्यक्रमलाई विस्तारित भेला तथा शुभकामना आदानप्रदान कार्यक्रमका रूपमा सञ्चालन गरिएको थियो। सहभागीहरूलाई सम्बोधन गर्दै उपमहासचिव ज्ञवालीले पछिल्लो समय देशमा युवाविरुद्ध भइरहेको हिंसा र दमनबारे गम्भीर टिप्पणी गरे।

उनले भने, ‘युवाहरूलाई मार्ने आदेश नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले दिएका होइनन्, यो सबै विदेशी एजेन्टहरूले दिएका आदेश हुन्।’

ज्ञवालीले देशभित्र देखिएका अशान्ति र असन्तोषका मूलमा विदेशी शक्ति र प्रभावकारी समूहहरूको चलखेल रहेको दाबी गरे। उनले युवा आन्दोलनप्रति सहानुभूति जनाउँदै, एमाले जनताको आवाज दबाउने पक्षमा नरहेको स्पष्ट पारे।

कार्यक्रममा जनताको बहुदलीय जनवाद जिन्दावाद नारासहित पार्टीका विभिन्न तहका नेता, कार्यकर्ता, बुद्धिजीवी तथा स्थानीय समाजका अगुवाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

जिल्ला कमिटीका पदाधिकारीहरूले सहभागीहरूलाई चाडपर्वको अवसरमा शुभकामना दिँदै आगामी दिनमा पार्टीको नीति, सिद्धान्त र अभियानमा एकताबद्ध भएर लाग्न आह्वान गरे।

पार्टीका स्थानीय नेताहरूका अनुसार, यस कार्यक्रममा चाडपर्वको उल्लाससँगै हालको राजनीतिक परिस्थितिबारे एमालेको धारणा स्पष्ट पार्न महत्वपूर्ण भूमिका खेलेको जनाइएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.