अमेरिकाका कोलम्बस र ह्यारिसवर्गमा सामुहिक देउसी भैलो, रमाए राज्य सांसद

डिसी नेपाल
२ कार्तिक २०८२ १०:२३
392
Shares

न्यूयोर्क। तिहार पर्वको अवसरमा नेपालीहरुको वाक्लो बस्ती रहेका अमेरिकाका दुई शहरहरु ओहायोको कोलम्बस र पेन्सिलभेनियाको ह्यारिसवर्गमा काग तिहारको अधिल्लो दिन सामुहिक देउसी भैलो कार्यक्रम सम्पन्न भएका छन्। सयौंको संख्यामा उपस्थित नेपाली जातिका स्थानीयवासीहरुसँगै अमेरिकी राज्य सांसद र स्थानीय जनप्रतिनिधिसमेत देउसी भैलो कार्यक्रममा रमाएका थिए।

नेपाली संस्कृतिको क्षेत्रमा क्रियाशील परोपकारी संस्था इन्ट्र नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसन अफ अमेरिकाको आयोजनामा सम्पन्न भएका ती कार्यक्रमहरुमा अमेरिकामै जन्मे हुर्केका नेपाली जातिका बालवालिका, किशोर किशोरी, युवा युवती र नेपाल, भुटान एवं भारतका विभिन्न भागमा जन्मेर अमेरिकामा स्थायी बसोवास गरिरहेका नेपालीहरुले सामुहिक देउसी खेलेका थिए।

नेपाल सरकारका अवैतनिक वाणिज्यदूत डा.दामोदर पौडेलको प्रमुख आतिथ्यमा भएको कोलम्बस शहरको कार्यक्रममा फाउण्डेसनका अध्यक्ष डिल्ली अधिकारीले संसारका जुन सुकै कुनामा जन्मे हुर्के पनि वा जहाँ बसोवास गरे पनि नेपाली जातिको आफ्‌नो संस्कृतिलाई संरक्षण, सम्बर्धन र प्रवर्धन गर्नु पर्नेमा जोड दिए।

उनले मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्सजस्ता दुई ठूला रियालिटी शो हरु भर्खरै सम्पन्न गरेर फाउण्डेसनले संसारभरका नेपाली प्रतिभालाई नेपाली कला संस्कृतितर्फ अझ प्रेरित गर्ने प्रयत्न गरेको बताए।

नेपाली संस्कृति नै नेपाली जातिको पहिचान भएकाले आफ्‌नो पहिचान जुगजुगसम्म जोगाइराख्न आफू र फाउण्डेसनले निरन्तर कार्य गर्ने जानकारी दिएका थिए। उनले अमेरिकाका सातवटा शहरहरुमा नेपाली गीत संगीत र नृत्यका निशुल्क कक्षाहरु संचालन गरी १३ सयभन्दा बढी नेपाली जातिका वालवालिका र किशोर किशोरीहरुलाई नेपाली कला, संस्कृति सिकाइरहेको जानकारी पनि दिएका थिए। प्रमुख अतिथि वाणिज्यदूत पौडेलले नेपाली संस्कृतिलाई पहिचानको रुपमा गर्व गर्ने वातावरण बनाउन फाउण्डेसनले संसारभर गरेको प्रयत्नको सह्राना गर्दै नेपाल सरकारका तर्फबाट हार्दिक धन्यवाद व्यक्त गरेका थिए।

यसैगरी पेन्सिलभेनियाको ह्यारिसवर्गमा आयोजित कार्यक्रममा सो राज्यका राज्यसभासद् डेभ म्याड्सनले नेपाली जातिको तिहार चाडको शुभकामना व्यक्त गर्दै राज्यमा बसोवास गर्ने नेपाली जातिका मानिसहरुले गरेको व्यापार व्यवसाय एवं सामाजिक कार्यहरुले राज्यको विकासमा उल्लेखनीय योगदान दिएको बताए।

स्थानीयसँगै देउसीभैलोमा सरिक भएका उनले सयौंको संख्यामा आआफ्‌ना छोरा छोरीसहित भेला भएर नेपाली जातिले यसरी चाड मनाउंदा आफू निकै प्रभावित भएको पनि बताएका थिए ।

कार्यक्रममा फाण्डेसनका संस्कृति विभाग प्रमुख ओमराज गुरुंगले भुटानबाट लेखेटिंदा होस् कि नेपालका शरणार्थी शिविरमा बस्दाको कठिन अवस्थामा होस् वा अमेरिकामा पुनर्स्थापित भई सहज जीवन यापन गर्दा होस् आफूहरुले नेपाली संस्कृतिलाई जीवनको अभिन्न अंग बनाउंदै आएको बताए। कार्यक्रममा सस्क्वेहाना शहर र स्वतारा शहरका कमिस्नरहरु फ्रेड फेयोना र टम कनलीले नेपालीजातिका स्थानीयवासीहरुको सामुहिकरुपमा मनाउने पर्व संस्कृतिले आफूहरु प्रभावित भएको बताएका थिए ।

दुबै शहरका कार्यक्रमहरुमा फाउण्डेसनको गायन तथा नृत्य कक्षाका शिक्षक एवं विद्यार्थीहरुले सामुहिक नृत्य तथा गायन प्रस्तुत गरेका थिए। ह्यारिसवर्गमा साहित्यकार गण्डकीपुत्रले कविता वाचन गरे भने अमेरिका भ्रमण रहेका दाजिंलिंगका नेपाली गायक महेश शिवाले आफ्‌ना केही गीत प्रस्तुत गरेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.