तिहारका लागि मुस्ताङमा भेडाच्याङ्ग्रा बिक्री

डिसी नेपाल
२ कार्तिक २०८२ १९:५२
12
Shares

मुस्ताङ । मुस्ताङमा तिहार पर्वका लागि भेडाच्याङ्ग्रा बिक्री गर्न थालिएको छ। भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मुस्ताङका अनुसार तिहारका लागि मुस्ताङ र डोल्पाबाट झण्डै एक हजार भेडाच्याङ्ग्रा बिक्री गरिएको छ।

यसअघि दसँैमा मुस्ताङसहित डोल्पा, मुगु, जुम्लालगायत स्थानबाट १६ हजार भेडाच्याङ्ग्रा बेनीजोमसोम सडकमार्ग हुँदै बिक्रीका लागि अन्यत्र लगिएको पशु चिकित्सक लालमणि अर्यालले जानकारी दिनुभयो। दसैँ तथा तिहारमा भेडाच्याङ्ग्राको माग अत्यधिक हुने गरेको उनले बताए।

घरपझोङ४ जोमसोमका व्यापारी पेम्बाछिरिङ रोकायाले ८० च्याङ्ग्रा तिहारका लागि बजारमा पुर्‍याएका छन्। उनले दसैंमा ३०० च्याङ्ग्रा बिक्रीका लागि पोखरा पुर्‍उनुभएको थियो। मुस्ताङबाट खेदाएर बेँसी झार्दै गरेका व्यापारी रोकायले म्याग्दीको तातोपानीबाट ट्रकमा ढुवानी गरी पोखरा पुर्‍याएका हुन्। दसैंमा प्रतिच्याङ्ग्रामा रु पाँच हजारसम्म घाटा भएको उनले बताए।

तिहारका लागि खरिद गरिएको च्याङ्ग्रा खोरमा नै ३० हजार परेको र थोरै च्याङ्ग्रा भएकाले सहजै बिक्री हुन्छ भन्ने लागेको व्यापारी रोकायाले बताए। मुस्ताङबाट पोखरा पुर्‍याउँदा प्रतिच्याङ्ग्राको ढुवानी खर्च रु एक हजार ५०० लाग्ने उनको भनाइ छ। विगत १२ वर्षदेखि निरन्तर च्याङ्ग्राको व्यापार गर्दै आएको रोकायाले च्याङ्ग्राको व्यापारमा जोखिम हुने गरेको बताए।

मुस्ताङका पाँच स्थानीय तहमा ५७ हजार बढी भेडाच्याङ्ग्रा पालन गरिएको छ। जसमध्ये २५ प्रतिशत मात्रै भेडाच्याङ्ग्रा बिक्री भएको छ। हिमाली जिल्लामा पालन गरिएका भेडाच्याङ्ग्राको मासु स्वादिलो र पोषिलो हुने भएकाले उपभोक्ताले बढी रुचाउने गर्छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.