ज्येष्ठ नागरिकका लागि हवाई टिकटमा ८० प्रतिशतसम्म छुटको व्यवस्था

डिसी नेपाल
२ कार्तिक २०८२ २०:११
200
Shares

काठमाडौं। आज नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई यात्रा गर्ने ज्येष्ठ नागरिकका लागि ८० प्रतिशतसम्म छुटको व्यवस्था गरेको छ। आज प्राधिकरणमा सम्पन्न बैठकले ७० वर्ष र सोभन्दा माथिका नागरिकलाई हवाई टिकटमा ५० देखि ८० प्रतिशतसम्मको छुट प्रदान गर्ने निर्णय गरेको हो।

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक एवं इञ्जिनियर प्रदीप अधिकारीको अध्यक्षतामा वायुसेवा सञ्चालक सङ्घका अध्यक्ष र नेपालका आन्तरिक वायुसेवा सञ्चालक कम्पनीका प्रतिनिधिबीच भएको बैठकले उक्त निर्णय गरेको हो।

बैठकले ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई संघीय सरकारद्वारा तोकिएको अधिकतम हवाई भाडादरमा सम्पूर्ण आन्तरिक हवाइमार्गमा ५० प्रतिशत छुट प्रदान गर्ने निर्णय गरेको महानिर्देशक अधिकारीले जानकारी दिए।

उनका अनुसार ७५ वर्षभन्दा माथिका नागरिकलाई ७० प्रतिशत र ८० वर्षभन्दा माथिका नागरिकलाई ८० प्रतिशतसम्म छुट प्रदान गरिनेछ। जुनसुकै उमेर समूहका फरक क्षमता भएका यात्रुको हकमा कम्तीमा ५० प्रतिशत छुट सुनिश्चित गर्ने निर्णय गरिएको उनले बताए।

आज गरिएको उक्त निर्णयले हवाई यात्रामा समावेशीता र पहुँचको प्रत्याभूति गर्ने विश्वास गरिएको महानिर्देशक अधिकारीले उल्लेख गरे। उनका अनुसार बैठकमा सहभागी वायुसेवा कम्पनीलाई उक्त निर्णयहरू आजैदेखि लागू गर्न निर्देशन दिइएको छ। सोहीअनुसार सम्बन्धित सबै आन्तरिक वायुसेवा कम्पनीले तत्काल निर्णय कार्यान्वयनमा लैजानुपर्ने प्राधिकरणले जनाएको छ।

यस योजनाले ज्येष्ठ नागरिकको हवाई यात्रालाई सहज, सुलभ र किफायती बनाउने विश्वास प्राधिकरणले लिएको छ। विशेषगरी दुर्गम भेगमा रहेका ज्येष्ठ नागरिकका लागि यो निर्णय प्रभावकारी हुने महानिर्देशक अधिकारीले विश्वास व्यक्त गरे।

उनले भने, “नेपाल नागरिक उड्डयन प्राधिकरणले ज्येष्ठ नागरिक, फरक क्षमता भएका नागरिक तथा अन्य यात्रुको हितमा आगामी दिनमा अझ धेरै जनमुखी नीति कार्यान्वयन गर्दै लैजानेछ।”




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.