विपिन जोशीको शव नेपाल ल्याइयो, प्रधानमन्त्रीसहित उच्च अधिकारीद्वारा विमानस्थलमा श्रद्धाञ्जलि

डिसी नेपाल
३ कार्तिक २०८२ १७:४०
200
Shares

काठमाडौं। हमासद्वारा इजरायलमा भएको आक्रमणपछि गाजातर्फ बन्धक बनाइएका नेपाली विद्यार्थी विपिन जोशीको पार्थिव शरीर आज अपराह्न २ः३५ बजे इजरायलबाट नेपाल ल्याइएको छ। स्व.जोशीको पार्थिव शरीर आजै विशेष विमानमार्फत धनगढी पठाइएकाे छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित शोकसभामा प्रधानमन्त्री सुशीला कार्कीले स्व.जोशीप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनको आत्माको चिरशान्तिको कामना गरिन्। प्रधानमन्त्री कार्कीले शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दै विपिन जोशीको निधनले सम्पूर्ण नेपाली जनमानसलाई गहिरो चोट पुर्‍याएको बताइन्

शोक सभामा ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री कुलमान घिसिङ, गृहमन्त्री ओम प्रकाश अर्याल, सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेल, मुख्य सचिव एकनारायण अर्याल, परराष्ट्र सचिव अमृतबहादुर राई, र नेपालका लागि इजरायली राजदूत H. E. Mr. Shmulik Arie Bass लगायत विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।

इजरायलस्थित नेपाली राजदूतावासको समन्वय र इजरायली सरकारको सहयोगमा शव नेपाल ल्याइएको हो।

विपिन जोशी २०२३ अक्टोबर ७ मा हमासको आक्रमणपछि बन्धक बनाइएका थिए। जोशीको निधनको पुष्टि इजरायली सरकारले २०८२ कात्तिक २ गते (१४ अक्टोबर २०२५) मा औपचारिक रूपमा जानकारी गराएको थियो। सो आक्रमणमा १० जना नेपाली विद्यार्थीहरूको तत्काल निधन भएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.