बस र कार ठोक्किँदा चितवनमा एकको मृत्यु

डिसी नेपाल
४ कार्तिक २०८२ २३:१३
64
Shares

नारायणगढ (चितवन)। चितवनको रत्ननगर नगरपालिका–९ टिकौली जंगलमा आज साँझ बस र कार ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन्।

नारायणगढबाट टाँडीतर्फ जाँदै गरेको ना ३ ख ९९८६ नम्बरको मिनिबस र विपरीत दिशाबाट आउँदै गरेको बीएबी ५००८ नम्बरको कार एकापसमा ठोक्किँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी) रबिन्द्र खनालका अनुसार बसमा सवार रत्ननगर–१० की ३३ वर्षीया पूजा सुबेदीको उपचारका क्रममा भरतपुर अस्पतालमा साँझ मृत्यु भएको हो।

बस चालकसहित नौ जना घाइते भई भरतपुरस्थित चितवन मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ। घाइतेमध्ये बस चालक रत्ननगर–२ का ३६ वर्षका सुरज कँडेलको अवस्था मध्यम छ। त्यसैगरी सामान्य घाइतेमा गोरखा गण्डकी गाउँपालिका–५ का ३२ वर्षीय भोजराज काप्री, रत्ननगर–७ का २७ वर्षीय प्रभु नारायण महतो र उनका ८ वर्षीय छोरा रियान्स महतो, नुवाकोट थोप्रे गाउँपालिका–४ की ३५ वर्षीया सिता तामाङ, भरतपुर महानगरपालिका–१२ की ३७ वर्षीया शोभा आचार्य र उहाँकी ३ वर्षीया छोरी सदिक्षा आचार्य, राप्ती नगरपालिका–३ की २८ वर्षीया सबिता राई र गोरखा बारपाक सुलिकोट गाउँपालिका–३ की ५५ वर्षीया माईता गुरुङ रहेका छन्।

दुर्घटनामा संलग्न कार चालक काठमाडौं तारकेश्वर नगरपालिका–१० का ४४ वर्षीय सुवास भण्डारीलाई प्रहरीले नियन्त्रणमा लिएर दुवै सवारीसाधनलाई अनुसन्धानका लागि राखेको जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.