राष्ट्रले होनाहार युवा गुमाएको भन्दै विपिनका परिवारलाई भेटेर नैनसिंह महरले जनाए समवेदना
कञ्चनपुर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले इजरायलमा हमासको आतंकवादी हमलामा परी ज्यान गुमाएका कञ्चनपुरका विपिन जोशीको घरमा पुगेर समवेदना प्रकट गरेका छन्।
उनले शोकाकुल बुबा महानन्द जोशी, आमा पद्मा जोशी, बहिनी पुष्पा जोशीलगायत परिवारजनलाई भेटेर भावुक समवेदना पत्र हस्तान्तरण गर्दै विपिनको निधनले सिङ्गो राष्ट्रलाई अपूरणीय क्षति पुगेको बताए।
नेता महरले विपिन प्रतिभाशाली विद्यार्थी मात्र नभएर नेपाल विद्यार्थी संघका एक उदीयमान नेता भएको स्मरण गर्दै उनको निधनले पार्टी र देश दुवैलाई क्षति पुगेको बताए।
उनले भने, ‘विपिनले देखेको सुन्दर र समृद्ध नेपालको सपना अब हाम्रो साझा सपना हो। उनको सपनालाई साकार पारेर नै हामीले उनीप्रति सच्चा सम्मान प्रकट गर्न सक्छौं।‘
यस दुःखद घटनाले आतंकवादको विश्वव्यापी क्रूरता र अमानवीयतालाई उजागर गरेको बताउँदै महरले विदेशमा अध्ययन वा काम गर्न जाने नेपालीहरूको सुरक्षाका लागि सरकारले बलियो कूटनीतिक पहल गर्नुपर्ने आवश्यकता औंल्याए।
विपिनको परिवारमा परेको अथाह पीडाप्रति गहिरो सहानुभूति प्रकट गर्दै उनले यो शोकको घडीमा सिंगो देश र नेपाली कांग्रेस पार्टी परिवारको साथमा रहेको विश्वास दिलाए।
नेता महरले हस्तान्तरण गरेको समवेदना पत्रमा विपिनको सपना र उनको असामयिक निधनले सृजना गरेको पीडालाई मार्मिक ढंगले प्रस्तुत गरिएको छ।
७ अक्टोबर २०२३ मा भएको हमास आक्रमणमा १० जना नेपाली विद्यार्थीले ज्यान गुमाउँदा विपिन अपहरणमा परेका थिए। केही दिनअघि मात्रै इजरायलले विपिनको निधन भइसकेको सार्वजनिक गरेको थियो। यससँगै उनको शव नेपाल ल्याएर मंगलबार मात्रै कञ्चनपुरमा अन्त्यष्टि गरिएको छ।
समवेदना पत्रको पूर्ण पाठ:
आदरणीय महानन्द जोशी र पद्मा जोशीका सुपुत्र एवं बहिनी पुष्पाका प्रिय दाजु विपिन जोशीको अध्ययनको क्रममा सुदूरपश्चिम विश्वविद्यालयको कृषि विज्ञान संकायअन्तर्गत इजरायलमा रहँदा प्यालेस्टाइन हमासको आक्रमणमा परि बन्दीका रूपमा भएको अकल्पनीय दुःखद निधनले सिङ्गो अन्तर्राष्ट्रिय जगत र पूरै नेपाली मन चिन्तित तथा स्तब्ध भएको छ। यो पीडाको घडीमा स-परिवार तथा शोकाकुल आफन्तजनप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछु।
नेपाल र नेपालीको विकसित मुलुक बनाउने सपना कार्यान्वयन गर्न दृढ इच्छा बोकेका एक होनहार युवा विपिन जोशी, नेपाली कांग्रेसको भ्रातृ संस्था ने.वि. संघका नेता समेत हुनुहुन्थ्यो। वहाँको देहावसानले सिङ्गो देश शोकाकुल रहेको र परिवारजनमा ठूलो वज्रपात परेको छ। अहिले विपिनको भौतिक शरीर हामी बीच नभए पनि उनको सपना साकार पार्न (जिम्मा) हाम्रो र परिवारजनको काँधमा आएको छ। विपिन हाम्रो र विश्व जगतमा आतंकवाद विरुद्ध लडिरहेका समग्र मानव समाजका बीच युगौँ युग जीवित रहनेछन्।
एका तर्फ ‘पढ्दै कमाउँदै’ अन्तर्गत विदेशी भूमिमा जानु पर्ने नेपाली विद्यार्थीको बाध्यताले सधैं हामीले शिक्षाको क्षेत्रमा थुप्रै काम बाँकी रहेको र अर्को तर्फ सक्षम कूटनीतज्ञ अन्तर्राष्ट्रिय जगतमा जबर्जस्त उपस्थितिको आवश्यकता देखिएको यस घडीमा हाम्रो आगामी गन्तव्य विपिनको अधुरो सपना पूरा गर्नमा तल्लिन रहनेछ। यो दुःखद घटनाले हामीलाई वर्तमान विश्व राजनीतिमा व्याप्त घृणा, अमानवीयता र आतंकवादको भयावह यथार्थप्रति गम्भीर बनाएको छ। भविष्यमा विपिन जस्तो नियति कसैले पनि नभोग्ने अवस्था सिर्जना गर्न सक्यौँ भने नै वहाँप्रति सच्चा श्रद्धाञ्जली हुनेछ। शोकाकुल परिवारमा समवेदना!
भवदीय,
नैनसिंह महर
केन्द्रीय सदस्य, नेपाली कांग्रेस







डिसी नेपाल






Facebook Comment