भाइटीका : दाजुभाइबीचको पवित्र प्रेम, सद्भाव र वैदिक संस्कृतिको पर्व

डिसी नेपाल
६ कार्तिक २०८२ ७:४६
32
Shares

काठमाडौं। यमपञ्चकको अन्तिम दिन मनाइने भाइटीका पर्व आज देशभर उत्साह, उमंग र प्रेमसाथ मनाइँदैछ। दिदीबहिनीले आफ्ना दाजुभाइको दीर्घायु, समृद्धि र सौभाग्यको कामना गर्दै सप्त-रंगी टिका लगाइदिने र मखमली माला अर्पण गर्ने यो पर्व दाजुभाइबीचको आत्मीय सम्बन्ध, संस्कार र संस्कृतिको प्रतीकका रूपमा मनाइन्छ।

भाइटीकाको प्रारम्भ यम र यमुनाबीचको पौराणिक कथासँग सम्बन्धित मानिन्छ। पाँच दिनसम्म यमराज आफ्नी दिदी यमुनाको घरमा अतिथि बनेर बस्दा दिदीले भाइको दीर्घायुका लागि गरेको पूजाको उदाहरणबाट प्रेरित भएर यो पर्व सुरु भएको बताइन्छ।

त्यसैले आजको दिन दिदीबहिनीहरूले दाजुभाइलाई टिका लगाउँछन, मिठा परिकारहरू खान दिन्छन् र ओखर, कटुस र भाइमसलाहरू अर्पण गर्दछन्।

भाइटीकामा प्रयोग गरिने सप्त-रंगी टिका (रातो, सेतो, पहेंलो, बैजनी, हरियो, निलो र कालो) इन्द्रणीको प्रतीकका रूपमा लिइन्छ। यसैगरी कहिल्यै नओइलाउने मखमली माला स्थायी प्रेम र सम्बन्धको प्रतीक मानिन्छ। टिका लगाउने क्रममा अष्ट चिरञ्जीवीको पूजा गरी दिदीबहिनीले भाइको दीर्घायु र सुखको कामना गर्छन्।

यस दिन ओखर फुटाउने र खाने चलनले पनि विशेष अर्थ बोकेको छ। ओखरले हाड मजबुत पार्ने, रोगव्याधी हटाउने र शरीरलाई शक्ति दिने विश्वास छ। त्यसैगरी कटुस र भाइ मसला शरीरलाई ऊर्जा दिने तत्वका रूपमा मानिन्छ।

दिदीबहिनीहरूले दाजुभाइलाई मिष्ठान्न परिकार, फलफूल, वस्त्र तथा भेटी अर्पण गर्छन् भने दाजुभाइहरूले दिदीबहिनीलाई माया र आशीर्वादका प्रतीकस्वरूप उपहार प्रदान गर्छन्।

जसका आफ्ना दाजुभाइ वा दिदीबहिनी छैनन उनीहरूले काठमाडौंको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरमा गएर टिका लगाउने परम्परा पनि छ। उक्त मन्दिर वर्षमा यही दिन मात्रै खुल्ने गर्छ।

भाइटीका केवल दाजुभाइबीचको पर्व मात्र होइन, यो नेपाली समाजको साझा संस्कृति, प्रेम, सहिष्णुता र पारिवारिक एकताको प्रतिक हो। वैदिक परम्परा, लोकसंस्कृति र वैज्ञानिक मान्यतासँग जोडिएको यो पर्वले नेपालमा रहेका विभिन्न जातजाति, धर्म र संस्कृतिका मानिसहरूलाई एकताको सूत्रमा बाँध्ने कार्य गरेको छ।

नेवारी समुदायमा यस पर्वलाई “किजा” भनिन्छ र सोही दिन आत्मपूजा अर्थात् “महापूजा” गर्ने चलन पनि छ। यसरी भाइटीका बहुआयामिक सांस्कृतिक, धार्मिक र सामाजिक महत्व बोकेको पर्व हो। जसले नेपालीपन, माया र पारिवारिक सम्बन्धलाई अझ गहिरो बनाउँछ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.