जोन मिल्टन: दार्शनिक र धार्मिक विमर्शको प्रवर्द्धन
सत्रौँ शताब्दीलाई बेलायतीहरूले काव्यसम्पदाको शताब्दी मान्छन्, जुन अंग्रेजी साहित्य र कलाको अमर काल थियो। यस शताब्दीमा महाकवि जोन मिल्टनको योगदान महत्वपूर्ण रह्यो। उनी सत्रौँ शताब्दीको प्रमुख पश्चिमा काव्यधाराका कवि मानिन्छन्।
मिल्टनको जन्म सन् १६०८ नोभेम्बर ९ मा लण्डनमा सम्पन्न परिवारमा भयो। उनका पिता कठोर प्यूरिटन भए पनि साहित्य र कलाका पारखी थिए। त्यसैले मिल्टनलाई शिक्षा र अध्ययनको उचित वातावरण मिल्यो। उनले सेन्टपाल स्कुल, केम्ब्रिज विश्वविद्यालय र क्राइष्ट कलेजबाट शिक्षा प्राप्त गरे। सन् १६२९ मा स्नातक र १६३२ मा स्नातकोत्तर पूरा गरे।
मिल्टनले हाइस्कुलदेखि नै कविता लेख्न सुरु गरेका थिए। मानव हृदय, प्रेम र प्रकृतिका सौन्दर्यका विषयमा उनको काव्य प्रेरणादायी छ। युरोपमा उनी क्रान्तिकारी कविका रूपमा पनि परिचित थिए।
२४ वर्षको उमेरमा केम्ब्रिज पढाइ पूरा गरेपछि उनले आफ्नो पुख्र्यौली गाउँ हर्टनमा बस्दै ठूला ग्रन्थको अध्ययन गरे र काव्यसाधनमा तल्लीन भए। त्यहाँ उनले ग्रिक, ल्याटिन, हेब्रु, स्पेनिस, फ्रेन्च, इटालियन र अंग्रेजी साहित्यको गहिरो अध्ययन गरे, जसले भविष्यमा महाकाव्य लेख्न मद्दत गर्यो।
हर्टनमा बसेर मिल्टनले कोमस, लालेग्रो, इल पेन्सोरोसो र लाइसिडस जस्ता सौन्दर्यपूर्ण लघु काव्यहरू रचना गरे, जसले उनलाई अंग्रेजी साहित्यमा उच्च व्यक्तित्वका कवि बनायो।
मिल्टन विशेष गरी राष्ट्रवाद, धर्म, स्वतन्त्रता र मानव अधिकारका गहिरा चिन्तन गर्ने कवि, निबन्धकार र विद्वान थिए। उनका लेखनमा राजनीतिक अशान्ति र धार्मिक संघर्षको प्रभाव स्पष्ट देखिन्छ।
बाह्र वर्षको उमेरदेखि नै उनी सङ्गीत र साहित्यमा चाख लिन्थे । २१ वर्षको उमेरमा क्याम्ब्रिजमा अध्ययन गरिरहँदा उनले आफूलाई पूर्णरूपले कविता सिर्जनामा समर्पण गरे।
निर्दोष बालकको मृत्यु बारे, काइस्ट जन्मेको बिहान र सेक्सपियर बारेका कविता उनले त्यसैताक लेखेका थिए । उनी कमनवेल्थ बेलायतको राज्य परिषदमा सरकारी सेवामा पनि संलग्न थिए। मिल्टन अङ्ग्रेजी, ल्याटिन, ग्रीक र इटालेली भाषामा लेख्थे ।
सन् १६३२ मा क्याम्ब्रिज छाडेपछि उनी आफ्ना बाबुसँगै व्युक्सको हर्टन भन्ने ठाउँमा बस्न थाले, जहाँ उनी उत्कृष्ट पुस्तकको अध्ययन गर्थे र आफ्नो लेखनलाई सुदृढ बनाउन चाहन्थे । पाँच वर्षसम्म त्यहाँ बस्दा उनले ललेग्रो, इल पेन्सेरोसो र कोमसको रचना गरे र सन् १६३७ मा उनले लीसिदासको रचना गरे।
विश्वविख्यात कृति हराएको स्वर्ग लेख्न थालेपछि बिस वर्षसम्म उनले कुनै अर्को उल्लेखनीय काम गरेनन्। यी सबै कविता र काव्य हुन्। संसदीय व्यवस्थाको पक्षमा सन् १६४१ देखि भएको गृहयुद्धको अन्त्यसम्म उनी राजनीतिक कार्य र पर्चाबाजीमा व्यस्त भए।
गृहयुद्धमा उनी पक्राउ परे, तर जरिवाना तिरेपछि छिटै मुक्त भए। त्यसपछि उनी हराएको स्वर्ग लेख्नपट्टि व्यस्त भए र १६६७ मा यसलाई लेखी सिद्ध्याए। उनका अन्तिम कविताहरू स्वर्ग प्राप्ति र सामसन अगोनिस्टस १६७१ मा प्रकाशित भए ।
उनले आफ्नो जीवनकालमा नै अङ्ग्रेजी, ल्याटिन, ग्रीक र इटालेली भाषामा लेखेर अन्तर्राष्ट्रिय ख्याति प्राप्त गरे। प्रकाशनपूर्व रचनाको सेन्सर गर्ने सरकारी प्रचलनको घोर भर्त्सना गर्दै वाक स्वतन्त्रता र प्रेस स्वतन्त्रताको रक्षा गर्न उनले प्रसिद्ध कृति एरोप्यागिटिका सन् १६४४मा लेखे। मिल्टन नै छन्द बिनाको कविता लेख्ने पहिला आधुनिक कवि थिए।
कुनै पनि साहित्यकारको मूल्यांकन गर्न उसको युगलाई हेर्नुपर्ने हुन्छ। उनले धार्मिक अस्थिरता र राजनीतिक उथलपुथलको समयमा लेखेका थिए। मिल्टनको युगले उच्च आध्यात्मिक परम्पराको आधारमा दुखान्त काव्यलाई अँगालेको छ।
समकालीन समाज र वातावरणप्रति उनको काव्यात्मक प्रतिभा सचेत थियो। यस दृष्टिकोणले महाकाव्य हराएको स्वर्ग उनको सर्वोत्कृष्ट कृति मानिन्छ। ८ नोभेम्बर १६७४ मा लण्डनको बनहिल रोमा उनको देहान्त भएको थियो।
उनलाई कतिपय लेखकहरुले कवि तथा नोकरशाह भनेर पनि सम्बोधन गरेका थिए । तर उनी मूलरुपमा कोमल हृदयका कवि नै थिए । किङको असामयिक मृत्युको घटनालाई यो धर्तीमा गाउन आएका थिए तर मृत्युले थप्पड हानेका कारण किङले गाउन पाएनन् । त्यसैले जीवनको भरोसा छैन, गाउनुपर्ने गीत गाइहाल्नुपर्छ भन्ने उनको कविताको सानो अंश यस्तो छ-
अवश्य एवं कर्कसमा म आउँछु
तिम्रो रसदार जामुनहरु अशिष्टतापूर्वक
टिप्न बलजफती औँला चलाउँदा मैले
तिम्रा पातहरुलाई छिरेलिदिन्छु
तिनीहरुको पूर्ण मधुर बन्ने समय अगावै
हर्टनको गाउँमा रहेको अवस्थामा जोन मिल्टनले समाजको चित्र, प्रकृति र प्रेमका विषयमा कविता लेखेर समय बिताएका थिए। उनको काव्य साधना राजनीतिक दृष्टिकोणबाट परिलक्षित थिएन । धार्मिक परिवारमा जन्मेको भए तापनि मिल्टन यथास्थितिवादी थिएनन्।
साहित्य, कला र युरोपियन संस्कृतिको अध्ययनका लागि मिल्टनले सम्पूर्ण युरोपको भ्रमण गरे। त्यस क्रममा उनले क्रान्ति र परिवर्तनको अनिवार्यता महसुस गरे। बोलयतमा सामन्तवादका विरुद्धमा सङ्घर्षको ज्वारभाटा उठ्यो, त्यसमा मिल्टनले भाग लिए।
उनले कविता लेख्ने कलम राजनीतिक प्रचार र पर्चा लेखनमा लगाए । क्रान्ति सफल भएपछि उनी सरकारको उच्च ओहोदाको प्रशासनिक अधिकारीमा नियुक्त भए। त्यो अवस्थामा उनले साहित्यको क्षेत्रमा कुनै काम गर्न सकेनन्। साहित्यमा रुचि भएका मिल्टन आफ्ना सपनाहरु राजनीतिक पदले खोसेकोमा अत्यन्त दुःखित भए। उनको लेखनको धारा दुई दशक बन्द भयो।
उनले पहिलो विवाह गरेकी नारी कामवासनामा मात्र रमाउने प्रकृतिकी थिइन्। उता मिल्टन भने गम्भीर चिन्तक र तपोनिष्ठ स्वभावका थिए । मिल्टनको जीवन परिश्रमी र साधारण थियो। उनका लागि विषय सुख गौण महत्वका विषय थिए। श्रीमती र उनको बीचमा जीवन जिउने कलामा मेल खाएन अनि उनी माइत गइन्।
जोन मिल्टनले उनलाई परित्याग गर्ने घोषणा गरे। कानुनीरुपमा अलग हुने कुरा अगाडि बढाए। त्यसपछि मिल्टनकी पत्नी ब्यूँझिइन् र मिल्टनलाई एउटा महान् पतिको रुपमा सम्मान गर्न थालिन् र माफी मागिन्। दाम्पत्य जीवन सहजढङ्गले चल्न थाल्यो।
दश वर्षमै ती नारीको मृत्यु भयो। त्यसपछि मिल्टनले अर्को विवाह गरे । पन्ध्र महिनापछि तिनको पनि मृत्यु भयो। त्यसपछि अर्की पत्नी विवाह गरेजसले मिल्टनलाई जीवनभर साथ दिइन्।
जतिबेला पनि गम्भीर अध्ययन, खोज र चिन्तनमा रहिरहने मिल्टनको जीवनको अन्तिम भाग अत्यन्त दुःखद र अभावग्रस्त रह्यो । ४४ वर्षको उमेरमा उनले दुवै आँखाका ज्योति गुमाए। बेलायतको राजनीतिमा स्टुअर्ट वंशको पुनरुत्थान भए।
त्यो प्रतिक्रान्तिले उनलाई नजरबन्दमा बस्नुपर्यो। उनको जागिर खोसियो। उनका कठिन दिनहरु शुरु भयो। उनका एकजना मित्रको जोडदार अदालती बहसको परिणाम अन्धा मिल्टन नजरबन्दबाट मुक्त भए
उनले पढ्ने, लेख्ने र प्रकाशन गर्ने काममा छोरीहरुबाट ठूलो सहयोगको आशा गरेका थिए। तर सहयोग पाएनन्। आँखा नदेख्ने महाकविले कविता भन्थे, उनकी पत्नीले कागजमा उतार्ने काम गर्थिन्।
यसरी उनले काव्यधारा बगाउँदै गए। आप्नो दुःख र कठोर जीवनमा सन्तोषको लागि ईश्वरको विधान हो, यस्तै भयो भनेर चित्त बुझाउँथे। यस्ता युगद्रष्टा अङ्ग्रेजी साहित्यकार जोन मिल्टन ६६ वर्षको उमेरमा सन् १६७४ को नोभेम्बर ८ का दिन लण्डनको बुनाहिल रोमा यो संसारबाट सदाका लागि विदा भए।
मिल्टनको कविता गहिरो धार्मिक चिन्तन र बाइबलका कथाहरूमा आधारित हुन्छ। उनले विशेष गरी प्याराडाइज लस्ट मा आदम–ईभ र शैतानको कथाबाट मानव जीवन, पाप, स्वतन्त्र इच्छा र ईश्वरप्रतिको निष्ठा जस्ता विषयलाई प्रस्तुत गरेका छन्।
उनका लेखनमा आध्यात्मिक विमर्श, धार्मिक नैतिकता र मानव चेतनाको गहिराइ स्पष्ट रूपमा देखिन्छ। यसले पाठकलाई केवल मनोरञ्जन मात्र प्रदान नगरी, जीवनका उच्च मूल्य र धर्म-नैतिक प्रश्नहरूको विचार गर्न प्रेरित गर्दछ।
मिल्टनको कवितामा गम्भीर, औपचारिक र महाकाव्यात्मक शैली प्रबल छ। उनले इपिक शैली अपनाएका छन्, जसले उनका महाकाव्यलाई दार्शनिक, गंभीर र विस्तृत बनाएको छ।
कथा, पात्र र घटनाक्रमको प्रस्तुति यथार्थपरक रहँदै पनि उच्च सौन्दर्य र शैलीगत गरिमा कायम राखिएको छ। यस प्रकारको शैलीले उनको लेखनलाई शास्त्रीय साहित्यको शिखरमा राख्छ।
मिल्टनको लेखनमा भाषिक सौन्दर्य र साहित्यिक समृद्धि अत्यन्त प्रखर छ। उनका शब्द चयन गहिरा अर्थयुक्त र बृहत्तर विचारधारासँग सम्बन्धित छन्।
कवितामा उपमा, रूपक, आलंकारिक शैली र प्रतीकवाद प्रखर देखिन्छ। यसले उनका काव्यलाई केवल कथा मात्र नभई दार्शनिक र आध्यात्मिक विमर्शको माध्यम पनि बनाउँछ।
मिल्टन केवल कवि नभई समाज-राजनीतिक विचारक पनि थिए। उनले राजनीतिक स्वतन्त्रता, प्रेस स्वतन्त्रता, राज्य–धर्म सम्बन्ध र न्यायका विषयमा लेखेका छन्।
उनका लेखन एरियेप्याजेटीका प्रिन्ट स्वतन्त्रताको पक्षमा प्रसिद्ध छ। यसले मिल्टनको चेतनात्मक गहिराइ, समाज र राज्यप्रतिको उत्तरदायित्व र मानव अधिकारप्रतिको प्रतिबद्धता स्पष्ट पार्दछ।
जोन मिल्टन अंग्रेजी साहित्यको महाकाव्यिक शिखरका रूपमा स्थापित छन्। उनको काव्य र साहित्यिक योगदानले अंग्रेजी भाषामा महाकाव्य र धार्मिक कविता लेखनको परम्परालाई नयाँ उचाइमा पुर्याएको छ।
विशेषगरी प्याराडाइज लस्ट जस्ता काव्यले न केवल धार्मिक कथा र प्रतीकवादलाई जीवन्त बनाएको छ, तर मानव चरित्र, पाप र उद्धारको गहिरो दार्शनिक विमर्शलाई पनि उजागर गरेको छ।
मिल्टनको लेखनमा धार्मिक चेतना मात्र होइन, दार्शनिक दृष्टिकोण पनि स्पष्ट रूपमा देखिन्छ। उनले ईश्वर, स्वतन्त्र इच्छा, मानव अधिकार र नीतिशास्त्रका सवालहरूमा गहिरो सोच प्रस्तुत गरेका छन्। यसले पाठकमा केवल आध्यात्मिक अनुभव मात्र नभई सामाजिक–मानवीय विवेकको विकास पनि गरेको छ।
राजनीतिक क्षेत्रमा पनि मिल्टनको योगदान उल्लेखनीय छ। उनले लोकतन्त्र, स्वतन्त्रता र विचार–अधिकारको पक्षमा लेखेर समाजमा चेतना जगाउन प्रयास गरेका छन्। उनका निबन्ध र पत्रहरूले मानिसको मानसिक स्वतन्त्रता प्रवर्द्धन गर्न र सामाजिक सुधारको चेतना फैलाउन महत्वपूर्ण भूमिका खेलेका छन्।
भाषिक र शैलीगत दृष्टिले पनि मिल्टनले अंग्रेजी साहित्यमा नवीनता ल्याएका छन्। उनको काव्यमा प्रयोग भएको गहिरो छवि, अलंकार र प्रगतिशील शैलीले अंग्रेजी भाषालाई समृद्ध बनाएको छ। यसरी, मिल्टन साहित्य, दार्शनिकता, राजनीति र भाषिक नवप्रवर्तनका क्षेत्रहरूमा बहुआयामिक योगदान दिएका लेखकका रूपमा स्मरणीय छन्।
जोन मिल्टन केवल कवि होइन, दार्शनिक, समाज-सुधारक र मानव चेतनाका प्रवर्तक थिए। उनको महाकाव्यात्मक शैली, धार्मिक-दार्शनिक विमर्श, राजनीतिक चेतना र भाषिक सौन्दर्यले उनलाई अंग्रेजी साहित्यको अमर व्यक्तित्व बनाएको छ। उनका लेखनहरूले आज पनि मानव स्वतन्त्रता, नैतिकता र आध्यात्मिक चेतनाको मूल्य स्मरण गराउँछ।
















Facebook Comment