सिँचाईको अभावमा ड्रयागनका बोट सुक्न थाले, मर्कामा किसान

डिसी नेपाल
७ कार्तिक २०८२ १४:४१

बाजुरा । बाजुरामा ड्रयागन खेती सिँचाईको अभावमा परेका छन्। पछिल्लो समय बाजुरामा ड्रयागन खेती राम्रो हुँदै गए पनि सिँचाईको समस्याले बोटहरु सुक्ने समस्या परेका छन्।

एकपटक बिरूवा लगाएपछि समयसमयमा सामान्य गोडमेल र सिँचाइबाहेक अन्य गोडमेल गर्नु नपर्ने र रोपेको दुई वर्षदेखि लगातार लामो समयसम्म फल दिने ड्रयागन खेतीका लागी उपयुुक्त सिँचाई सुविधा नहुँदा बाजुराका ड्रयागन कृषक समस्या परेका छन्।

ड्रयागन खेती राम्रो फल्ने गरेको भए पनि सिँचाइ सुविधाको अभावले समस्या हुने गरेको हिमालीका ड्रयागन कृषक बिष्णु राज पाण्डेले बताए। भनेको समयमा ड्रयागन खेतीले पानी नपाउँदा बोट विरुवा हुर्कन तथा फल समस्या हुने गरेको कृषक पाण्डेको भनाइ छ।

उनका अनुसार, आफुले करिब ४ रोपनी खेतिमा ८०० बोट लगाएको ड्रयागन खेती राम्रो फल्ने तर सिँचाईको अभावमा सोचेजस्तो नहुने बताए। सिँचाइ र बजारिकरणको सुविधा भएको खण्डमा राम्रो आम्दानी गर्न सकिने कृषक पाण्डेको भनाइ छ।

पाण्डेले हिमाली गाउँपालिका वडा नम्बर ६ धुलाचौर स्थित डाँरियामा ड्रयागन खेती गर्दै आउँनु भएको छ। उनले हिमाली बहुउद्देश्यीय कृषि फर्म मार्फत कृषि ज्ञान केन्द्र बाजुराको सहकार्यमा ड्रयागन खेती सुरु गरेका हुन्।

कृषक पाण्डेले ४ लाख ७० हजारको अनुदान रकम र बाँकी ४ लाख आफ्नो लगानीमा खेती गरिरहनु भएको छ। ज्ञान केन्द्र बाजुराको ५० प्रतिशत अनुदान रकमले चितवनबाट ड्रयागन फलफूल बिरुवा ढुवानी र खरिद गरेर उनले खेती सुरु गरेका हुन्।

यस्तैः स्वामिकार्तिक खापर गाउँपालिका वडा नं ३ जुकोटमा पनि ड्रयागन खेती गरिएको छ। उक्त खेती पनि सिँचाई असुविधाका कारण समस्यामा पर्ने गरेको छ। अन्तिमजङ्ग शाहीले पालिकाको वडा नं ४ खोलीकुनामा आफ्नै नमुना कृषि फर्म सञ्चालन गरी ड्रयागन खेती गरेका छन्।

पछिल्लो समय जिल्लाको बुढिगङ्गा नगरपालिकामा पनि ड्रयागन खेती गर्न थालिएको छ। ड्रयागन खेतीबाट राम्रो उत्पादन हुने भए पनि पानीको असुविधाका कारण कृषकहरुलाई बोट जोगाउँन मुस्किल हुने गरेको छ।

ड्रयागन फलको तौल २०० ग्राम देखि १.२ के.जी.सम्मको हुने गरेको छ। यसको खेति खास गरि थाईल्याण्ड, चाईना, भियतनाम, इन्डोनेसिया, ताईवान, जापान, कोरिया तथा दक्षिण अमेरिकी मुलुक(कोलम्विया, मेक्सिको, ब्राजिल, अर्जेटिना) आदिमा गर्ने गरिन्छ भने अहिले यो खेती नेपालमा समेत गर्न थालिएको छ।

यस फलमा १२ प्रकारका मिनिरल्स तथा भिटामिन पाइने, र क्यान्सरविरुद्ध प्रतिरोधात्मक गुणका साथै जस्तोसुकै माटोमा पनि यो खेती हुने गरेको छ। यस फलको जातमा रातो बोक्रा, पहेँलो बोक्रा र सेतो रङ हुने गरेको छ। ड्रागन फल गर्मी र सुक्खा हावापानीमा हुने सिउँडी प्रजातिको फलफूल हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *