जेन-जी युनाइटेडले भन्यो : घाइते र सहिदको रगतमा उभिएर बनेको सरकारले जेन-जीमाथि नै दमन गर्‍याे

डिसी नेपाल
८ कार्तिक २०८२ १७:४०
32
Shares

काठमाडौं। शान्तिपूर्ण आन्दोलनमा सरकारले धरपकड गरेको भन्दै जेन-जी युनाइटेड समूहले आपत्ति जनाएको छ। आज (शनिबार) पत्रकार सम्मेलन गर्दै जेन-जी युनाइटेडका अगुवाहरुले सरकारको विरोध गरेका हुन्।

जेन-जी युनाइटेडका अगुवा सागर तामाङले आफूहरुलाई सरकारले युनिफिकेशन हुने मौका नै नदिएको बताए। सरकारले पक्राउ परेका सबै प्रदर्शनकारीहरुलाई विना शर्त तत्काल रिहा गर्नुपर्ने उनले बताए।

उनले भने, ‘हामी जेन-जीहरु आन्दोलन गर्दैगर्दा युनिफिकेशन हुनुपर्छ भन्न पनि नपाउनु ? अब हुँदैन यसरी। सरकारले हाम्रा साथीहरुलाई छोड्नुपर्यो। हाम्रो मागहरु छिटो पूरा गर्नुपर्‍याे। हाम्रो युनिफिकेशन क्याम्पियन जहिलेसम्म पूरा हुँदैन, त्यतिबेलासम्म लागिरहने हो।’

त्यस्तै, अर्का वक्ता मन्जना राईले जेन-जीले बनाएको सरकारले जेन-जीलाई नै टुक्रा-टुक्रा बनाउन चाहेको टिप्पणी गरिन्।

‘हाम्रै आँखा अगाडि हाम्रा साथीहरुलाई लछारपछार गरेर लगिएको छ। जेन–जीले बनाएको सरकार छ। जेन-जीलाई नै टुक्रा–टुक्रा बनाउनको लागि बनाइएको सरकार हो त्यो ?’ प्रश्न गर्दै उनले भनिन्।

आफूहरुले भोलि पनि शान्तिपूर्ण कार्यक्रम गर्ने र यदि धरपकड भएमा पर्सी देशैभरी नै रणनीति बनाएर अगाडि बढ्ने उनीहरुको भनाइ छ।

जेन-जी आन्दोलनका घाइते भुपेन्द्र खड्काले सरकारले जेन-जीहरुको शान्तिपूर्ण कार्यक्रम र आवाजलाई दवाउन खोजेको बताए। घाइते र सहिदहरुको रगतमा उभिएर बनेको सरकारले जेन-जीमाथि नै दमन गरिरहेको उनले बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.