कांग्रेसका जेनजीको माग : विधान संशोधन गरेर हाम्रा लागि ढोका खुला गरियोस्

डिसी नेपाल
१३ कार्तिक २०८२ १६:३०

काठमाडौं । नेपाली कांग्रेसका जेनजी उमेर समूहका प्रतिनिधिमूलक युवाहरुले विधान संशोधन गरेर आफूहरुको प्रवेशको लागि ढोका फराकिलो बनाउन माग गरेका छन्।

कांग्रेस पार्टीको युवाहरूलाई फर्काउनको लागि पनि केन्द्रीय समितिको बैठकले विधानमा संशोधनको ढोका खोलेर पार्टीका सबै तहमा प्रतिस्पर्धामार्फत जेनजी उमेर समूहका प्रतिनिधित्व सुनिश्चित् गराउने प्रावधान व्यवस्थापन गरिनुपर्ने उनीहरूको माग छ।

उनीहरुले अघि सारेको ह्यासट्यागमा जेनजी फर सेभेन डी रहेको छ। सेभेन डी भनेको डेमोक्रेसी, डेभलपमेन्ट, डेडिकेशन, डिग्निटी, डिसिप्लेन, डेलिभरी र डिटिल ट्रान्सफरमेशन रहेको छ।

उनीहरुले जेनजी आन्दोलनमा सहादत प्राप्त गरेका युवाहरुप्रति साँचो श्रद्धाञ्जलीको लागि देशमा विद्यमान भ्रष्टाचार नियन्त्रण र सुशासन स्थापित गर्नुपर्ने बटमलाईन बनाएका छन्। उनीहरुले अब सबै बदलिनुपर्ने र सबै मिलेर देश बदल्नुपर्ने अपिलसमेत गरेका छन्।

बिहीबार पत्रकार सम्मेलन गर्दै उनीहरुले मुलुकमा सुशासनको स्थापना गर्नु नै जेनजी प्रदर्शनको मूख्य माग रहेको स्मरण गराएका छन्।

उनीहरूद्वारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘मुलुकमा सुशासनको स्थापना जेनजी प्रदर्शनको मूलतः मुख्य माग थियो। नेपाली कांग्रेसले आफैँभित्र पनि आन्तरिक सुशासन आयोग गठन गरोस। जसले तिनै तहको सरकारमा गएका प्रतिनिधिको विगतको प्रवृत्ति समिक्षासँगै भविष्यमा जाने प्रतिनिधिको भूमिकालाई निश्चित् मापदण्डका आधारमा अनुगमन गरेर, प्रोत्साहन, चेतावनी र कारबाही सिफारिश गर्न सकोस्।’

यस्तै, उनीहरुले भदौ २३ गते नयाँ बानेश्वरमा प्रदर्शनमा अध्यधिक बल प्रयोगको घट्नाको गहिरो छानबिन र दोषीलाई कडा कारबाही गर्ने भनिसकिएकोमा त्यस निर्णयप्रति पार्टी प्रष्ट ढंगले उभिनुपर्ने उनीहरुको माग छ।

यस्तै, भदौ २४ गते जेनजीको प्रदर्शनमा घुसपैठ गर्दै देशव्यापी रुपमा भएको तोडफोड र आगजनीमा सामेल जो कोही भएपनि उनीहरुलाई कारबाहीमा दायरामा ल्याईनुपर्ने उनीहरुको अर्को माग छ।

भ्रष्टाचारका हरेक प्रकरणको गहिराईमा गएर निष्पक्ष छानबिन गर्न नेपाली कांग्रेसको प्रष्ट प्रतिबद्धता आउनुपर्ने र सहयोग रहनुपर्ने पनि उनीहरुको माग छ। उनीहरुले पार्टीको नियमित वा विशेष महाधिवेशन अविलम्ब आयोजना गरेर परम्परागत राजनीतिक दलबाट आधुनिक दलका रुपमा नयाँ उर्जाका साथ अघि बढ्ने रोडम्याप अब कांग्रेसले सार्वजनिक गर्नुपर्ने पनि उनीहरुको सुझाव छ।

उनीहरूले अघि सारेको अर्को मुख्य मागमा फागुन २१ म तोकिएको प्रतिनिधिसभाको निर्वाचनलाई सुनिश्चित् बनाउने र निर्वाचनमार्फत लोकतान्त्रिक संविधानलाई सहज मार्गमा अघि बढाउने कार्यमा समेत पार्टी अग्रसर हुनुपर्ने उल्लेख गरिएको छ।

उनीहरुको चुनावको लागि कांग्रेसले अब ‘भोट रेडी नेपाल’ अभियान सञ्चालन गर्नुपर्ने पनि सुझाव दिएका छन्। उनीहरुले कांग्रेसमा नवयुवा जोड्ने नर्सरीको रुपमा रहेको नेपाल विद्यार्थी संगठनलाई पनि पूनःसंरचना गर्न अपरिहार्य रहेको आवश्यकता औंल्याएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.