बिपिनको दुःखद् अवसान
युक्रेन र रुस बीचको युद्ध र विभिन्न मुलुकहरूमा भइरहेका छिटफुट अशान्ति बाहेक त्यतिबेला विश्व शान्त तवरले नै चलिरहेको थियो। मध्यपूर्व पनि अन्य समयमा भन्दा शान्त नै थियो।
तर आजभन्दा दुई वर्ष अघि यानी २०८० साल असोज २३ गते (सन् २०२३ अक्टोबर ७) हमासले अकस्मात इजरायल र प्यालेस्टाइन (गाजा)को सिमा क्षेत्र आलमिन किबुजमा बिदा मनाइरहेका मानिसहरू माथि हमला गरेर अन्धाधुन्द गोली चलाउनुका साथै बम विस्फोट गराउँदा त्यहाँ झण्डै १,२०० जना इजरायली र इजरायलमा अध्ययन र कामको सिलसिलामा बसिरहेका विभिन्न देशका मानिसहरू हताहत भए।
सोही आतंककारी हमलामा खासगरी नेपालको सूदुर पश्चिमाञ्चलबाट कृषि सम्बन्धी अध्ययनको सिलसिलामा ‘अर्न एण्ड लर्न’ कार्यक्रम अन्तर्गत इजरायलमा रहेका मध्येका १० जना नेपाली विद्यार्थी पनि मारिन पुगे।
दोस्रो विश्वयुद्धको समयमा हिटलर र जर्मनीको नाजी फौजको चरम अत्याचार र दमनबाट बचेर भाग्न सफल हुँदै युरोप र अमेरिकामा छरिएर रहन वाध्य भएका यहुदीहरूमध्ये धेरैलाई आजको इजरायल भएको स्थलको बाँझो मरुभूमिमा एक नयाँ मुलुकको निर्माण गरेर बसोबास गर्न अमेरिका लगायत अन्य विकसित राष्ट्रहरूले ठूलो धनराशी सहयोग गरेर सघाएका थिए।
सो भूभाग यहुदीहरूको उद्गम स्थल भएको दावी उनीहरूको भए पनि अर्कोतर्फ प्यालेस्टाइनीहरूले पनि सो भूभाग आफ्नो भएको दावी गरेका थिए र सम्पूर्ण अरब मुलुक प्यालेस्टाइनी कै समर्थनमा रहेको थियो। त्यसैले त्यतिबेला देखि नै इजरायल र अरब बीच युद्ध र द्वन्द्व चलिनै रहेको थियो।
तर आज आएर अधिकांश अरब मुलुक यो मामलामा मौन बसेको छ भने प्यालेस्टाइनीहरू आफ्नो अस्तित्व र राष्ट्रको लागि आवाज उठाइरहेका छन्। हमास र हेज्बुल्लाह भनिने भूमिगत राजनीतिक समूह तथा यस्तै अन्य संस्थाहरू भने सशस्त्र द्वन्द्व मार्पmत मात्र यो समस्याको समाधान हुन सक्ने दृढताका साथ लडिरहेका छन्।
निकै मेहनती, विद्वत र व्यापारिक वर्ग भएकाले यहुदीहरूले सो बञ्जर मरुभूमिलाई छिटै एक उन्नत राष्ट्रमा परिणत गर्न सफल भए। आखिर आफ्नो मेहनत र अमेरिका लगायतका मुलुक र विश्वभरका यहुदीहरूको अथाह सहयोगले छिटै इजरायल विश्वका विकसित र शक्तिशाली मुलुकहरूको पङ्क्तिमा पुग्न सफल भयो।
तर दोस्रो विश्वयुद्धताका नाजी जर्मनीको कोपभाजनमा परेका यहुदीहरू आज एक शक्तिशाली राष्ट्र बने पछि पुराना दुख सबै बिर्सिएर चरम नरसंहारमा लागेका छन् भने कतिपय भविश्यद्रष्टा र मानवतावादी यहुदी भने आफ्नो सरकारको यस्तो कारवाहीको निकै विरोध गरिरहेका छन्।
कृषि सम्बन्धी नविन प्रविधिको विकास गरेर निकै परिश्रमका साथ इजरायलीहरूले त्यो सुख्खा मरुभूमिलाई हराभरा क्षेत्रमा रुपान्तरण गर्न सफल भएका थिए। पानीका पाइपहरूको माध्यमबाट थोरै थोरै पानी ससाना फोहराबाट छोड्दै सिँचाइ गर्ने विश्व प्रसिद्ध ‘स्प्रिङ्कल टेक्नोलोजी’को विकास इजरायलीहरूले नै गरेका हुन्।
यही प्रविधिबाट उनीहरूले आफ्नो मुलुकलाई उर्वर र हराभरा बनाउनुका साथै कृषिमा क्रान्ति नै ल्याउन सके। यो प्रविधिको अनुकरण गरेर सुख्खा क्षेत्रका कैयन् मुलुकहरूले कृषि विकासमा ठूलो फड्को मारे भने नेपाली तथाकथित विज्ञहरूले सो बारे जानकारी मात्र हासिल गरेर आफ्नो दिमागको एउटा कुनामा यो ज्ञानलाई कैद गरेर राखे तर न यस्ता प्रविधिलाई नेपालमा लागू गर्ने चेस्टा गरे न कुनै उपलब्धि नै हासिल गर्न सके, केवल विदेश भ्रमण गर्ने बहाना बनाउनु वाहेक।
इजरायलको दक्षिण एशिया वा अन्य धेरै मुलुकहरूसँग दौत्य सम्बन्ध स्थापना हुनुभन्दा पनि अगाडि नेपालका राजा महेन्द्र र राजनेता प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको पहलले गर्दा यो क्षेत्रमा इजरायलको अस्तित्व स्विकार गर्ने र दौत्य सम्बन्ध स्थापना गर्ने मुलुकहरूमा नेपाल अग्रणी हुन पुग्यो।
आज नेपाल परराष्ट्र मामलामा निकै कमजोर र निकम्मा साबित भएको भए पनि त्यतिबेला नेपालले विश्व सम्बन्ध विकासमा ठूलो भूमिका खेलेको थियो। इजरायल मामलामा मात्र नभई असंलग्न राष्ट्रहरूको विशाल संगठन निर्माण र सार्कको स्थापनामा पनि नेपालको भूमिका अहम् रहेको थियो।
त्यस्तै नेपाली शान्ति सेनाले निष्पक्ष भएर वीरता र धैर्यतापूर्वक मध्यपूर्वको शान्ति प्रकृयामा खेलेको भूमिकाको पनि इजरायल र संयुक्त राष्ट्रसंघले सधैँ सह्राहना गर्ने गरेका छन्।
त्यसैले पनि इजरायलले विभिन्न अवसरमा नेपालका प्रशासक, सुरक्षाकर्मी तथा विद्यार्थीहरूलाई विभिन्न प्रकारका तालिम र अध्ययन भ्रमणमा निम्त्याउने गरेको छ भने नेपाली कामदारहरूलाई खासगरी कृषि क्षेत्रमा काम गर्ने अवसर पनि दिँदै आएको छ। इजरायलबाट अध्ययन गरेर र काम गरेर फर्केका आममानिसहरूले आज नेपालमा आफ्नो विगतको अनुभवको आधारमा निकै राम्रा काम गरिरहेका धेरै उदाहरणहरू छन्।
यसरी नै इजरायलको ‘अर्न एण्ड लर्न’ कार्यक्रम अन्तर्गत २०८० साल भाद्रमा ११ महिनाको निम्ति इन्टर्नशीप गर्न इजरायल पुगेका सुदुर पश्चिमाञ्चल र अन्य प्रदेशका बिएससी एग्रिकल्चर अध्ययन गरेका विद्यार्थीहरू इजरायल पुगेको एक महिनामा नै यस्तो भयावह घटना घटेर १० जना नेपालीले ज्यान गुमाउन पुगे भने ती मध्ये कै बिपिन जोशी हमासको कब्जामा पर्न गए। त्यो घटनामा नेपालका बिपिनसहित इजरायल र अन्य मुलुकका गरी २५१ जनालाई अपहरण गरेर लगिएको थियो।
हमासका लडाकुले त्यतिबेला फालेको एक ग्रिनेड बमलाई पक्रेर आफुहरू लुकेर बसेको स्थानबाट बाहिर फ्याँकेर बिपिनले आफुसहित अन्य चार जना साथिलाई बचाउन सफल भएका थिए। पहिलो र दोस्रो विश्वयुद्धमा गोर्खाली सैनिकले दुश्मनद्वारा यसरी नै पिन तानेर आफुतिर फालेका ग्रिनेड पक्रेर दुश्मनतिरै फ्याँकेर ठूलो वीरताका साथ दुश्मनहरूको सफाया गरेका थिए।
यो अर्थमा बिपिनले पनि आफु र आफ्ना साथिहरूको ज्यान बचाउन ठूलै साहसको प्रदर्शन गरेका थिए। तर उनीसहित विभिन्न देशका २५१ जनालाई अपहरण गरेर हमासका लडाकुले आफ्ना अखडामा लिएर गए।
यसरी अपहरण गर्ने धन्दा त्यो क्षेत्रमा नयाँ भने होइन। इजरायल राष्ट्र बनेदेखि नै सो क्षेत्रमा हुने गरेका सयौँ द्वन्द्व, हत्या, अपहरण तथा आक्रमण र प्रत्याक्रमण अनि युद्धको कारण त्यहाँ आजसम्म लाखौँ मानिसको मृत्यु भइसकेको छ भने हजारौँ मानिस अपहरणमा पनि परेका छन्।
वास्तवमा विमान अपहरणको शुरुवात नै त्यही क्षेत्रको द्वन्द्वबाट भएको हो। त्यस्तै अमेरिका र इजरायल माथि घृणाको दृष्टिले हेरिने मुस्लिम नजरियाको जडतत्व पनि इजरायल र प्यालेस्टाइनको अन्तहिन संघर्षको परिणाम हो।
सन् १९७२ मा जर्मनीको म्युनिखमा भएको ओलम्पिक खेलको दौरान प्यालेस्टाइनी ‘ब्ल्याक सेप्टेम्बर’ नामक आतङ्ककारी संस्थाका ८ जना सदस्यले दुई जना इजरायली ओलम्पिक खेलाडीको हत्या गरेका थिए। यो घटनामा अन्य खेलाडीहरू घाइते भएका थिए।
त्यस्तै अन्य आतंकारी हमलामा पनि सयौं इजरायलीहरू मारिएको इतिहास छ। आज इजरायल एक विकसित र शक्तिशाली मुलुक भए पनि त्यहाँको सैनिक तालिम लिएका सम्पूर्ण जनता नै सधैं त्रासमा नै रहन वाध्य छन् भने मुलुक बाहिर भ्रमणमा जाँदा पनि जताततै खतराको सामना गर्नु पर्ने हुन्छ।
इजरायलले सयौंको संख्यामा आतंककारीको आशंकामा प्यालेस्टाइनी र हमास आदि संस्थाका सदस्यहरूलाई थुनामा राखेको छ। यस्ता बन्दीहरूलाई छुटाउन पनि बेला बेलामा आतंककारी कार्य र अपहरण गर्ने गर्दछन् विद्रोहीहरूले। वास्तवमा यो तरिका वा राजनीतिक अस्त्र इजरायलमा मात्र नभइ विश्वभर नै चल्तीमा छ।
इजरायल र प्यालेस्टाइन बीचको विवादको कारण उब्जेको इजरायल र अमेरिका माथिको घृणाको उपजको रूपमा नै पछिल्लो समयमा जुनसुकै बहानामा भए पनि कर्णेल गद्दाफी, सद्दाम हुसेन तथा आयातुल्ला खोमेनी र ओसामा बीन लादेन जस्ता निर्मम व्यक्तिहरू र तालिवानको उदय भएको हो।
यही मुद्दा कै लर्कोको रूपमा अमेरिकाको न्यूयोर्कदेखि विभिन्न युरोपेली शहर र अफगानिस्तान, इरान, इराक, सिरिया, लेबनान आदि मुलुकसम्म षडयन्त्र र घृणाको राजनीतिले मलजल पाउन थालेको हो।
तेस्रो विश्वका भारत लगायत चीन तथा इन्डोनेशिया, ब्राजिल र अन्य शक्तिशाली मुलुक पनि यी राष्ट्रहरू बीचको झै-झगडा र युद्ध तथा द्वन्द्वमा खुलेआम बोल्न हिच्किचाएर बाहिरबाट चुपचाप र तटस्थ बस्ने गर्छन् भने हाम्रो देशका अबुझ खलनायकहरू एक अति कमजोर, अविकसित र सानो मुलुकमा शासन गर्ने भए पनि हैसियत भन्दा ठूला अभिव्यक्ति दिएर पक्ष र विपक्षमा बाँडिएर ठूला पल्टिन रुचाउँछन्।
हालैको हमासको आक्रमण र अपहरण पश्चात् नेपाल सरकारका गहन परराष्ट्रविद्मा गनिएका शेख चिल्लीहरूले खुलेआम इजरायलको पक्षमा बोलेको देख्दा निकै अचम्म लागेको थियो। त्यस्तै युक्रेन र रुसको युद्धमा पनि कसैको पनि पक्षमा लाग्ने काम नेपालको होइन। चुप लागेर किन बस्न सक्दैनन् हाम्रा नेता र प्रशासकहरू।
यसरी नेपालीहरू अपहरणमा पर्दा त्यस्ता आतंककारी संस्थाहरूसम्म आफ्ना नागरिकलाई कुनै हानी नगर्दै छुटाउनको निम्ति त्यस्ता संस्था सामु कुरा पु¥याउन वा पहल गर्न नसक्ने र ती संगठनसँग राम्रो सम्बन्ध रहेका मुलुकको पहिचान पनि गर्न नसक्ने नेता तथा सरकारको के नै औचित्य हुन्छ र।
उता भारतले आफ्ना मात्र नभइ नेपालका नागरिकलाई पनि सकुशल फिर्ता ल्याउन सफल भयो। कुटनीतिमा चतुर हाम्रा छिमेकी मुलुकहरू जस्तै थाइल्याण्डले बन्धक भएका आफ्ना नागरिकलाई पनि छुटाउन र मुलुक फर्काउन सफल भए।
पछिल्लो समयका बेकम्मा शासकहरूले राष्ट्रको प्रतिनिधित्व गर्ने राजदूतहरूमा पनि आफुजस्तै अनपढ, गवाँर र झोले तथा परिवारजनहरूलाई नियुक्त गरे। इजरायलमा हाल रहेका तथाकथित महाविद्वान झोले राजदूत तथा कुटनीतिको कखरा पनि नबुझेका पद्मकन्या कलेजका नेपालीका मास्टरले संसदीय सुनुवाईको वखत सांसद रहेका अर्का थरी हर्पनमौलाहरूको अगाडि आफुले इजरायल र प्यालेस्टाइन तथा हमास-हेजबुल्लाह बीचको युद्ध विराम गर्न विशेष पहल गर्ने धवाँस दिन भ्याए।
नेपालीहरूले आफ्नो मुलुकमा कुनै पनि इलमको सम्भावना नभएर विदेशिन थालेको २०० भन्दा बढी वर्ष भइसक्यो। भारतका जनतालाई दमन गर्न बेलायतीहरूले नेपाली जनताको उपयोग गरेका थिए भने प्रथम र दोस्रो विश्वयुद्धमा पनि बेलायतीलाई खुशी तुल्याउन राणाशासकहरूले गाउँ गाउँबाट लाखौँ नेपाली युवाहरूलाई अपहरण गरेर विदेशमा लड्न पठाएका थिए। जिउँदो फर्कने गोर्खाली भने निकै कम मात्र भए।
चरम गरिवीको कारण नै लाखौँ नेपालीहरू भारतको आसाम, बर्मा, मलाया, फिजी र ट्रिनिडाडसम्म पनि पुगे र कतिपयको त्यतैको द्वन्द्व र रोगब्याधिका कारण मृत्यु भयो भने अधिकांशले नेपाल फर्कन सकेनन्।
आज तिनै नेपालीका विभिन्न स्थानीय जातसँग बिहे भएर जन्मिएका मिश्रित सन्ततीले नेपाली भन्ने झिनो पहिचानलाई कायम राख्दै आफ्ना पुर्खाको मातृभूमिको थोरै भए पनि माया र सम्झनाका साथ बाँचिरहेका छन् भने नेपाली भाषा, धर्म, संस्कार र संस्कृतिलाई पनि बचाउने प्रयत्न गरिरहेका छन्। ती मध्ये केही मात्र हरिभक्त कटुवाल वा भीएस नइपाउन बन्न सफल भए।
प्रत्येक दिन विदेशमा श्रम गर्न गएका नेपाली मध्येका तीन-चार जनाको शव काठको बाकसमा नेपाल आइपुग्छन्। उता काममा लागेकाहरूले पनि कहिल्यै चैनसँग बाँच्न पाएका छैनन्। जब जब उनीहरूले श्रम बेच्ने मुलुकमा अशान्ति छाउँछ र आतंककारी क्रियाकलाप मौलाउँछ, केही अभागी नेपालीहरू आतंककारीहरूको फेलामा पर्छन् र विभत्स तवरले मारिन्छन्। २०६१ साल भाद्र १६ गते इराकमा १२ जना नेपालीहरूले त्यस्तै भयानक मरण मर्नु पर्यो।
त्यस्तै २०७३ साल असार ६ गते पनि अफगानिस्तानमा १२ जना नेपाली त्यसै गरी मारिए। आसाम तथा भारतका नेपाली बस्ने अन्य ठाउँमा भएका राजनीतिक र जातीय दंगामा सयौं नेपालीहरू मारिइसके।
विदेशी फौज चाहे त्यो भारतीय, बेलायती, युक्रेनी वा रुसी जुनसुकै होस् युद्धको बेला रणभूमिमा सबैभन्दा अगाडि पठाइने त नेपाली नै हुन्छन्। आफ्ना नागरिकको रक्षाको निम्ति नै यसरी भाडामा सैनिक राखेका हुन्छन् ती मुलुकले।
त्यसैले त नेपालका बलभद्र कुँवरदेखि आजका बेरोजगार युवासम्म पनि आफ्नो ज्यानको माया मारेर पनि केही धन कमाउने आशामा विदेशी फौजमा भर्ति हुने प्रचलन छ धेरैले पराया मुलुकको लागि वीर गति प्राप्त गर्दछन्।
निरीह नेपालीहरू आफ्नो मुलुकमा कुनै पनि काम गर्ने अवसर नपाएर विदेशिन वाध्य हुन्छन् भने जनताले नै चुनेर पठाएका राजनीतिक दलका नेता, उनका झोले र प्रशासनका महत्वपूर्ण पदधारण गरेर बसेकाहरू तथा त्यस्ता भ्रष्टहरूसँग मिलेर धन बटुल्न पल्केका अधिकांश व्यापारी र ठेकेदारहरू भने भ्रष्टाचार गरेर अकुत सम्पत्ति कमाउने, विदेशमा धन लुकाउने, आलिशान महलमा बस्ने, त्यस्ता महल भित्र नै खुफिया ढुकुटी बनाएर अर्बौंको नगद र जिन्सी सम्पत्ती लुकाउने गर्दछन्। तिनका छोराछोरीले राजर्षी ठाँटमा इष्र्यालु जीवन बिताएर आमजनतालाई इख्याउने काम समेत गर्दछन्।
बिपिन जोशीको अपहरण पछि पनि यदाकदा नेपालका नेता, मन्त्री र प्रशासकहरूले तिनको पक्षमा बोलेको जस्तो गरे तापनि उनीहरूको अधिकांश समय आपसी खिचातानी र फोहोरी राजनीति तथा भ्रष्टाचारमा नै बितिरहेको थियो।
बिपिनको पिर निरन्तर रूपमा कसैले गरिरहेको थियो भने त्यो उनको परिवार थियो र त्यसपछि आमनेपाली जनता मात्र थिए। एक महिना अघि उनले बन्दी अवस्थामा बोलेको भिडियो हेरे पछि परिवारजन र आमनेपाली निकै आशावादी भएका थिए, तर उनी मारिएको र उनको शव हस्तान्तरण भएको खवरले सबै नेपालीलाई स्तब्ध तुल्याई दियो।
उनको शव पनि काठको बाकसमा नेपाल आइपुग्दा विमानस्थलदेखि उनको गाउँसम्मैका आमनेपालीलाई रुवाए उनले। जेनजी क्रान्ति पछि नियुक्त भएकी नेपालकी प्रधानमन्त्री र इजरायली राजदूतले विमानस्थलमा उपस्थित भएर शोक प्रकट गरेको दृश्य देखियो तर नेपालका अधिकांश राजनीतिक दल र नेताहरू उनको छोटो सम्झना पनि नगरेर आफ्नै राजनीतिक रणाकोमा व्यस्त रहे।
बरु उनको गृहनगरका मेयर पदम बोगटी तथा स्थानीय वडाध्यक्षले समवेदना प्रकट गरेको दृश्य निकै मार्मिक लाग्यो। ती वडाध्यक्षले त बिपिनको दाहसंस्कारको बखत नदीमा सेलाइएका उनका व्यक्तिगत सामान मध्येको गितारलाई उनको चिनोको रूपमा वडा कार्यालयमा ल्याएर राखेको देख्दा मनमा निकै सन्तोष छायो।
२३ वर्षको उमेरमा नै अनाहकमा भयानक मृत्युको चपेटामा परेका बिपिनको अनुहारले नै उनी कति तेजिला र असल मनका थिए भनेर बुझाउँदथ्यो। तर सबै असल मानिस ईश्वरलाई नै चाहिँदो रहेछ।
हामी आफूलाई निकै असल सम्भने मनुवाहरूले पनि नजानिँदो तवरले भए पनि केही न केही गलत काम गरिरहेको भएर नै हामी ईश्वरको प्यारा हुन नसकेका होलाउँ। हामी बाँच्नेले गँजडीले जस्तै जे जसरी सोचे पनि भै गयो नि !
बिपिन जोशीले आफ्नो अध्ययन पुरा गर्न पाएका भए आज नेपाल बसेर वा अन्य मुलुकमा गएर आफ्नो वृत्ति विकास गरिरहेका हुन्थे होलान् तर गरिव देशका नागरिक भएकै कारण उनी र उनी जस्ता विपन्न देशका प्रतिनिधिहरूको ज्यान लिएर आतंककारीहरूले पनि विकसित मुलुकलाई उनका नागरिकको पनि यस्तै हविगत होला भनेर तर्साउने गर्दछन्। ‘नाङ्लो ठटाएर हात्ती तर्साउने’ भनेर हाम्रा पुर्खाले बनाएका उक्ति यस्तै परिस्थितिको लागि थियो कि कुन्नी।
– लेखक विकास अर्थशास्त्री, एकल व्यक्तित्व समाज नेपाल र समसामयिक गायक समाजका अध्यक्ष हुन्।
















Facebook Comment