बेनी-दरवाङ सडक तीन दिनपछि सञ्चालन
म्याग्दी। म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला सदरमुकाम बेनीबजारसँग जोड्ने बेनी–दरवाङ सडक तीन दिनपछि सञ्चालनमा आएको छ।
बेनी नगरपालिका–४ र मङ्गला गाउँपालिका–२ को सिमानामा पर्ने फापरखेत (घुमाउने)मा खसेको पहिरोका कारण मङ्गला, मालिका र धवलागिरी गाउँपालिकाको बिहिबारदेखि सदरमुकाम बेनी बजारसँग यातायात सम्पर्क बिच्छेद भएको थियो।
पूर्वाधार विकास कार्यालय म्याग्दीले आज पहिरो पन्छाएपछि यातायात सञ्चालन भएको कार्यालय प्रमुख बिष्णु पौडेलले जानकारी दिए। सडक खुलेपछि दरवाङदेखि बेनी, पोखरा, काठमाडौंलगायत देशका विभिन्न सहरमा जाने यातायात सञ्चालन भएका छन्।
उक्त स्थानमा विस २०६१ मा सडकको मार्ग खोलेदेखि नै पहिरोको समस्या रहेको छ। यसको विकल्पमा म्याग्दी नदीमा बेलिब्रिज जडान गर्ने भनिए पनि योजना अगाडि बढेको छैन। दीर्घकालिन हिसाबले पहिरो रोकथामको सम्भावना नभएपछि पूर्वाधार विकास कार्यालयले अस्थायी रूपमा पहिरो पन्छाएर यातायात सञ्चालन गर्दै आएको छ।







डिसी नेपाल








Facebook Comment