लोकप्रिय बन्न थाल्यो विरे झरना, झुम्मिन थाले पर्यटक
बाजुरा। बाजुराको बडिमालिका नगरपालिका–६ मा अवस्थित विरे झरना पछिल्ला वर्षमा पर्यटकहरूको आकर्षण केन्द्र बन्दै गएको छ। विशेषगरी बर्खाको समयमा झरनाको पानीको प्रवाह बढ्ने भएकाले दैनिक तीन सयको हाराहारीमा मानिसहरू घुम्न आउने गरेका छन्।
सुन्दर र हरियाली वातावरण, उँचाइबाट झर्ने चामत्कारिक झरना र चिसो पानीको रमणले जोकोहीको मन लोभ्याउने विरे झरना बाजुराको चर्चित गन्तव्यको रूपमा स्थापित हुँदै गएको छ। यहाँ पुग्ने धेरैजना पर्यटकले झरनाको पृष्ठभूमिमा फोटो र भिडियो खिच्ने, रमाइलो गर्ने तथा स्थानीयस्तरमा कार्यक्रम आयोजना गर्ने गर्छन्।
विरे झरनामा प्रवेश गर्नका लागि प्रवेशद्वारमा रु २० को टिकट काट्नुपर्छ, जसले स्थानीय आयस्रोतमा स–साना रूपमा भए पनि योगदान पुर्याएको छ।
टिकट काउन्टरमा कार्यरत ललिता साँउदका अनुसार, बर्खामा धेरै मानिस आउँछन् तर हिउँदमा तुलनात्मक रूपमा कम आउने गर्छन्। कतिपय मानिसले रु २० मा खुशी मान्छन्, कोही व्यवस्थापनको कमीका कारण असन्तुष्ट पनि हुन्छन्।
उनका अनुसार झरनामा आउनेहरूको संख्याले स्थानीय होटल र अटो चालकको व्यवसाय पनि बढाएको छ। बाजुराको सदरमुकाम बजारबाट अटोमा करिब २० मिनेटको दूरीमा पुगिने झरनामा दैनिक रूपमा स्थानीय र बाहिरी जिल्लाबाट आगन्तुकहरूको आगमन हुने गर्छ।
झरनाको सौन्दर्यले स्थानीय तथा बाह्य दुवै पर्यटकलाई आकर्षित गरिरहेको छ। काठमाडौंमा अध्ययनरत मनिषा रावल दशैं-तिहारको अवसरमा घर फर्किंदा झरना पुगेकी थिइन्।
उनले भनिन्, ‘अरूले फोटो र भिडियो हालेको देखेर कहिले जाने होला भन्ने रहर थियो, अहिले आएर त्यो धोका पूरा भयो।’
त्यस्तै, धनगढीकी मञ्जु रावल माइत आउँदा झरना पुग्न पाउँदा खुशी भइन्। उनले भनिन्, ‘विरे झरनाले निकै मन लोभ्यायो, माइती आउँदा झरना जाने मेरो धोका थियो र पूरा भयो।’ स्थानीय अस्मिता रोकाया भन्छिन्, ‘म तीनपटक आइसकेकी छु, जति पटक आएकी छु, त्यति पटक रमाइलो लागेको छ।’
विरे झरनाले बाजुरा जिल्लाको अर्थतन्त्रमा पनि प्रत्यक्ष प्रभाव पारेको छ। घुम्न आउने मानिसहरूले स्थानीय अटो सेवा प्रयोग गर्छन्, होटलमा खाजा नास्ता गर्छन् र यसले स्थानीय व्यापारीहरूलाई फाइदा पुर्याएको छ।
अटो चालकहरू भन्छन्, ‘झरनाले नै हाम्रो रोजगारी जोगाएको छ।’ बर्खामा झरना हेर्न आउनेको चाप अत्यधिक हुन्छ, जसले यहाँको स–साना व्यवसायलाई चलायमान बनाएको छ। यसले जिल्लाभित्रै रोजगारी सिर्जना गरेको र युवालाई स्वदेशमै केही गर्न प्रेरित गरेको स्थानीयहरूको भनाइ छ।
झरना प्रवेश गर्दा उठाउने शुल्कले झरना क्षेत्र थप व्यवस्थापन गर्न सकिने बताइएको छ। विरे खोला झरना व्यवस्थापन कार्यविधि २०७८ मा लागू पनि भएको छ।
तर, सुन्दर र सम्भावनायुक्त झरनामा व्यवस्थापनको कमी रहेको स्थानीयहरूको गुनासो छ। झरनाको वरिपरि फोहर व्यवस्थापन, बत्ती, विश्रामस्थल, शौचालय र सुरक्षा व्यवस्था कमजोर छन्।
टिकटबाट उठेको रकमले उचित संरचना निर्माण नभएकाले आगन्तुकहरू असन्तुष्ट हुने गरेका छन्। ललिता साँउद भन्छिन्, ‘यदि स्थानीय तहले झरना परिसर व्यवस्थित बनाइदिएको भए, पर्यटकहरूको गुनासो रहँदैनथ्यो र आर्थिक रूपमा पनि थप फाइदा हुने थियो।’
स्थानीयहरूका अनुसार झरनामा आवश्यक पूर्वाधार र व्यवस्थापन भएमा यसले जिल्लाको पर्यटन विकासमा ठूलो योगदान दिन सक्छ। प्राकृतिक सौन्दर्य, सहज पहुँच र स्थानीय आतिथ्यले भरिएको यो स्थानलाई व्यवस्थित रूपमा विकास गर्न सकेमा झरना केवल बाजुराको गर्व होइन, देशकै परिचित पर्यटकीय गन्तव्य बन्ने सम्भावना छ।
स्थानीय सरकार र सम्बन्धित निकायले सडक, सरसफाइ, विश्रामस्थल र सूचना बोर्डको व्यवस्था गरी यो गन्तव्यलाई दिगो रूपमा प्रवद्र्धन गर्नुपर्ने माग स्थानीय बासिन्दाहरूले गरेका छन्।







डिसी नेपाल








Facebook Comment